दुई बर्ष भित्रमा एमाओवादीलाई पहिलो पार्टी बनाउने
इन्द्रेणी संवाददाता
दाङ १२ चैत्त । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यन्वयन र मुलुकको समृद्धि राष्ट्रको प्रमुख एजेन्डा भएको बताएका छन । नयाँ संविधानको कार्यन्वयन र देशलाई समृद्धिको दिशामा अगाडि बढाउनु पर्ने अहिलेको राष्ट्रिय कार्यभार भएको उनले बताए । एकीकृत नेकपा माओबादीको भातृ संगठन वाईसीएल दाङको तेस्रो जिल्ला सम्मेलनको शुक्रबार घोराहीमा उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले संविधानमा धेरै जनपक्षिय कुरा लेखिएकाले पनि यसलाई लागु गर्नु पर्ने धारणा राखेका छन ।
बर्तमान संविधान बिगतको भन्दा धेरै प्रगतिशिल भएको भन्दै उनले जनपक्षिय कुरा लागु गर्न जनपक्षिय नेता तथा कार्यकर्ताले ध्यान दिनुपर्ने औल्याए । ‘स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, खाद्य सुरक्षा, भाषा, जातका सबैको अधिकारलाई संविधानमा नै मौलिकहकका रुपमा लेखिएको छ उनले भने, ‘संविधानमा धेरै जनपक्षिय कुरा आएको छ । संविधानमा केहि छैन भन्नु गलत हो । सम्झौताबाट आएकाले हामीले भने जस्तो सबै भने छैन ।’ प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ प्राप्तिका लागि अगाडि बढनु पर्ने उनको भनाई थियो ।
लामो संघर्ष र त्यागले संविधान सभाबाट संबिधानमा लेखिएको हुँदा अब त्यसको कार्यान्वयनको चरणमा जानु राज्य र सबैको राष्ट्रिय कार्यभार रहेको मन्त्री बस्नेतले बताए । संविधानको सहि कार्यान्वयनले मात्रै नागरिकहरुको अधिकार स्थापित हुने र देश बिकासको चरणमा जाने उनले बताए । जनताको हित, राष्ट्रको आवश्यकता र समृद्धिको लागि संविधानलाई कार्यन्वयनमा दृधतापूर्वक लाग्नु पर्ने उनको धारणा थियो ।
एमाओवादी एक नम्बरको पार्टी बन्छ
एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य समेत रहेका बस्नेतले आउँदो दुई बर्ष भित्रमा एकीकृत नेकपा माओवादी एक नम्बरको पार्टी बन्ने उद्घोष गरे । ‘अलग अलग रहेका क्रान्तिकारी, देशभक्तहरु बीच छिट्टै एकीकृत र धुब्रीकृत गरेर सशक्त पार्टी बनाउँछौ उनले भने, ‘हालसम्मका उपलब्धिलाई टेकेर जनताका थप माग सम्बोधन गर्दै जनपक्षिय बिचार अंगाल्दै सशक्त र पार्टी एकता र संगठन सुदृधिकरण गर्छाँै ।’ जनताको अधिकारका लागि लडने, जनताको अधिकारका कुरा उठाउने तथा राष्ट्रिय स्वाधिनता, अग्रगमन र भौगोलिक अखण्डताका लागि प्रतिबद्ध पार्टी भनेको एकीकृत माओवादी भएको दाबी गर्दै उनले सम्पूर्ण जबस, मोर्चा तथा पार्टी लागेर एमाओवादीलाई पहिलो पार्टी बनाउन लाग्नु पर्ने धारणा राखे ।
बर्तमान संविधानमा जनपक्षिय कुरा एमाओवादीकै कारण लेखिएकाले त्यसलाई लागु गर्न राष्ट्रिय राजनीतिको नेतृत्वदायि भूमिकामा एमाओवादी नै हुनुपर्ने उनको जोड थियो । एमाओवादीका नीति, कार्यक्रम, योजना जनता र राष्ट्रको पक्षमा भएकाले पनि जनताले आफुहरुलाई विश्वास गर्ने उनको भनाई छ ।
समय अनुसारको भूमिका खेल्न वाईसीएललाई आग्रह
वाईसीएल दाङका सम्मेलन आयोजक समितिका संयोजक सरोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेतले समय अनुसारको आफ्नो भूमिका खेल्न वाईसीएललाई आग्रह गरे । संविधानको कार्यान्वयन, सामाजिक बिकास, सुशासनको क्षेत्रमा सकृय बन्न उनले वाईसीएलका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन । घोराहीको भरतपूरमा आयोजित सम्मेलन उद्घाटन पूर्ब एकीकृत नेकपा माओबादीको पार्टी कार्यालयबाट वाईसीएलले ¥याली निकालेको थियो ।
जनता र सरकारको दुरी घटाउने काम गर्नुस
यसैगरी सुक्रबार नै मन्त्री बस्नेतले जिल्लाका कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै सरकार र नागरिक बीचको दुरी कम गर्न जनताको सर्बोतम हितलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन । नयाँ संविधान कार्यन्वयन, संविधानले अपेक्ष गरेको सुशासन, पारदर्शि, जबाफदेही र जनमुखी प्रशासन सिद्धान्तमा नभै ब्यबहारमा देखाउन उनले कर्मचारीलाई आग्रह गरे । ‘देशमा संविधान बन्नु भन्दा पहिला एक प्रकारको अन्योल थियो, संविधान जारी गरे लगत्तै पनि केहि समस्या आयो उनले भने, ‘अब सबै कुरा सहज भैसक्यो । सम्पूर्ण संक्रमणको अन्त्य भयो । अव देशको विकास र जनसेवामा ध्यान दिनुस ।’
उनले हालसम्म बिभिन्न बाहनामा रोकियको पुँजीगत खर्च कम गर्दै बिकास निर्माणमा गुणस्तरीय र तिब्रताका साथ लाग्न पनि आग्रह गरे । उनले सरकारले बर्तमान संकटको राष्ट्रिय स्वाभिमानका साथ समाधान गरेको र जनताले पनि उच्च स्तरको संंयमता अपनाएको भन्दै धन्यवाद समेत दिएका थिए । आर्थिक समृद्धि, बितरणमा समानता, विकासमा तिब्रताका साथ लाग्ने भन्दै उनले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्दै, नागरिक अधिकार र जनताको आवश्यकता पुर्ति नै सरकारको बर्तमान कार्यभार भएको पनि बताए । सो अबसरमा जिल्ला प्रशासन कार्यालय दाङले प्रकाशित गरेको सम्पूर्ण कार्यालयको एकीकृत नागरिक बडापत्रको बिमोचन समेत गरिएको थियो ।





No comments:
Post a Comment