इन्द्रेणी संवाददाता
दाङ १२ चैत्र । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ । चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यिन लिङ लगायतका नेताले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गर्नुभयो । चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले आजै सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले आज सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आज साँझ सियानबाट छेन्दु प्रस्थान गर्नुहुनेछ ।






No comments:
Post a Comment