ताजा अपडेट

...


सरकार ढाल्ने खेलमा लाग्नु पश्चगमन- नेता नेपाल



इन्द्रेणी संवाददाता 
दाङ ९ चैत्त । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रको संस्थागत विकास र संविधान कार्यन्वयनका लागि बर्तमान सरकारलाई थप बलियो र बिस्तार गर्नु पर्ने बताएका छन । प्रेस चौतारी दाङले मंगलबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन ।
बर्तमान सरकारको दिनगन्ति सुरु भएको हो कि ? भन्ने पत्रकारको जिज्ञासाको जबाफ दिदै नेता नेपालले बर्तमान सरकारको बिकल्प खोज्न नहुने भन्दै बरु बिस्तारमा लाग्नु पर्ने बताए । ‘यो सरकार प्रगतिशिल शक्तिको बाहुमत भएको सरकार हो । यसले मात्र नयाँ संविधान कार्यन्वयन र गणतन्त्रलाई संस्थागत गर्न सक्छ उनले भने, ‘यो सरकारलाई थप बलियो, सशक्त र प्रभाबकारी बनाउन सरकार बाहिर रहेकालाई पनि ओली नेतृत्वको सरकारमा ल्याउनुपर्छ ।’

उनले देशको निकासका लागि उच्चस्तरिय राजनीतिक सहमति आवस्यकता रहेको बताए ।  संविधान कार्यान्वयन, नाकाबन्दीबाट थिलोथिलो भएको अर्थतन्त्र र जनजीवन सहज पार्न र भूकम्पबाट ध्वस्त संरचनाको पूनर्निर्माण गर्नका लागि उच्चस्तरिय राजनीतिक सहमति आवस्यक रहेको उनको धारणा थियो ।
सरकार ढाल्ने र बनाउने खेलमा लाग्नाले मुलुकले विगतमा धेरै नोक्सानी बेहोरेको स्मरण गर्दै पूर्व प्रधानमन्त्री नेपालले अब पनि सरकार ढाल्ने खेलमा लाग्ने हो भने परिवर्तन संस्थागत नहुने धारणा राखे । 

राजतन्त्र फर्कदैन 
नेपाली काङग्रेसमा नयाँ नेतृत्वसँगै राजतन्त्र र हिन्दुराज्य पुर्नस्थापनाको हल्लाको बारेमा पत्रकारले सोधेको प्रश्नको जबाफ दिदै नेता नेपालले कहिल्यै पनि प्रगतिको पाङग्रा उल्टो नघुम्ने बताए । ‘राजतन्त्र फर्कन्छ, धर्म निरपेक्षता हटछ भन्ने कशैले सोचेको छ भने त्यो गलत हो यति पुरानो पार्टी काङग्रेसले यस्तो गर्छ भन्ने पनि मलाई लाग्दैन उनको भनाई थियो,  ‘काङग्रेस, एमाले र एमाओवादी लगाएतका दलको नेतृत्व र जनताको बलिदानबाट आएको उपलब्धि कशैले सजिलै खोस्न सक्दैन ।’
कांग्रेसको नेतृत्वमा अनुभवी नेता शेरबहादुर देउवा आएकाले कांग्रेसले सत्तास्वार्थ भन्दा पनि जनहीतका लागि सोच्नेमा आफू बिश्वस्त रहेको उनको भनाई छ । यस्तो संक्रमणकालिन अवस्थामा सत्तास्वार्थमा लागेर सरकार ढाल्ने खेलमा कांग्रेस पनि नलाग्ने उनको विश्वास छ । २००७ सालको परिवर्तन संस्थागत गर्न छाडी सत्तास्वार्थमा लाग्नाले प्रजा परिषद्को पतन भएजस्तो गलत बाटोमा काङग्रेसको हालको नेतृत्व नजाने उनको धारणा छ ।

विश्वलाई चकित पार्ने आर्थिक क्रान्ति 
राजतन्त्र पनि नर्फकने र राजनीतिक आन्दोलन पनि समाप्त भएको भन्दै नेता नेपालले विश्वलाई चकित पार्ने गरी आर्थिक क्रान्ति गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी ओलकिो चीन भ्रमणका क्रममा भएको व्यापार र पारवहन लगाएत सम्झौताले नेपाललाई समुन्नत राष्ट्र बनाउने आधार तयार भएको नेपालको भनाइ थियो । सम्पन्न मुलुक भारत र चीनको बीचमा भएको र उनीहरुको अर्थिक बिकासको अनुभव र सहयोगबाट देश समृद्ध बन्ने उनको धारणा छ । कृषि, जलविद्युत, पर्यटनलाई मुख्य एजेण्डा बनाएर तीन खम्बे अर्थनीति अंगाली देशको विकासमा लाग्नु पर्ने उनको भनाई थियो ।

संविधान उत्कृष्ट छ 
नेपालको संविधान धेरै उत्कृष्ट र समावेशी रहेको उनको धारणा छ । नेपालले नयाँ संविधानमा सम्पूर्ण जाति, संस्कृति, भूगोलको अधिकार समेटेको र समाजबाद उन्मुख संविधान भनेर प्रस्तावनामै लेखिएकाले यो संविधान उत्कृष्ट र समावेशी रहेको उनको दाबी थियो । उनले पहिलेको समाजवादले वितरणमा मात्रै जोड दिएको भन्दै अब उत्पादन बृद्धि र बितरणमा समानता अपनाउनु पर्ने धारणा राखे ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.