ताजा अपडेट

...


स्वर्गद्वारीमा मनाइयो जातीय तथा रङ्गभेद उन्मुलन दिवस



 इन्द्रेणी संवाददाता 
दाङ, ९ चैत  । ५१ औ जातीय तथा रंङ्गभेद उन्मुलन दिवस प्युठानको स्वर्गद्धारी मन्दिरमा मनाईएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति दाङ र प्युठानको संयुक्त आयोजनामा मनाईएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी व्यवस्थापिका संसदमा सदस्य भागवत विश्वासीले दलितका छोरा–छोरीलाई स्वर्गद्धारी मन्दिरको पुजारी बनाउँनु पर्ने बताउँनुभयो । दलित समुदायभित्र पनि संस्कृत, बेद, वेदान्तमा आचार्य गरेकाहरु थुप्रै रहेको भन्दैअब स्वर्गद्धारीमा पुजारी बन्ने पालो दलितको भएको बताउँनुभयो । प्रमुख अतिथी विश्वासीले हिन्दुधर्ममा केही कमजोरी रहेका कारण तत्काल हिन्दुधर्म सच्चाउँनु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी व्यवस्थापिका संसदका सदस्य एवं सभासद् धनबहादुर रायमाझीले संविधानले प्रदानले गरेका दलितका अधिकारहरुलाई कार्यान्वयमा लौजानु नै अहिलेको मुख्य आबश्यकता रहेको बताउँनुभयो । यस्तै राष्ट्रिय दलित आयोगका सदस्य बेगम विश्वकर्माले संविधान र ऐन कानुनमा उल्लेख भएका कुरा र दलितमाथि गरिने व्यवहारका नमिलेका कारण दलित समुदाय आन्दोलित हुन परेको बताउँनु भयो ।  छुवाछुत राज्य आफैले सिर्जना गरेको मुद्धा भएका कारण विभेदकारी धर्मका कारण सिङ्गो दलित समुदायले हिन्दुधर्म छाड्ने परम्पराको विकास भएको बताउँनुभयो ।

 त्यसअबसरमा बोल्दै मन्दिरमा निमित्त कोठारी तुमप्रसाद न्यौपानेले अबका दिनमा कुनै दलितमाथि छुवाछुत तथा भेदभाव नगर्ने प्रतिबध्धता व्यक्तगर्नुभयो । यसभन्दा पहिले मन्दिरमा दलित समुदाय माथि कसैले अन्जानमा छुवाछुत गरेपनि अबका दिनमा यस्ता गल्तीलाई सुर्धाने बताउँनुभयो ।न्यौपानेले दलित समुदायका मान्छेलाईललाई मन्दिर प्रबेशगरी पुजाआजा गर्नमा कुनै रोकावट नहुने बताउँनुभयो । सोअबसरमा निमित्त कोठारी न्यौपानेले कार्यक्रमका सम्पुर्ण अतिथी, सहभागीहरुलाई मुल मन्दिर, हवन कुण्ड,अबलोकन गराउँदै प्रसाद समेत प्रदान गर्नुभएको थियो ।

यस्तै प्युठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले कुनैपनि व्यक्तीले जातका आधारमा भेदभाव र छुवाछुत गरे त्यसलाई कानुन बमोजिम कार्वाही गर्ने  बताउँनुभयो । छुवाछुत गर्नेलाई कार्वाही गर्नेकुरा संविधानमै स्पष्ट लेखिएको बताउँदै कसैले छुवाछुत गरे कानुनवाट उन्मुक्ती नपाउँने बताउँनुभयो । कार्यक्रमम बोल्दै नेपाल दलित संघका केन्द्रिय सदस्य जोगेन्द्र विश्वकर्माले स्वर्गद्धारी मन्दिरको दलित समुदायले विरोध नगरेको बताउँदै  सेतो धोती लगाउने  मठाधिसको विरोध गरेको बताउँनभयो । त्रिपुर ६ सिस्नेरीकी बसन्ता नेपाली गत साउन २३ गते छोरी सन्ध्या र विद्या नेपालीको ग्रहशान्ति गराउँन भन्दै मन्दिरमा पुगेकी नेपालीलाई मन्दिरका पुुजारी दण्डपाणी चालिसेले दलित भएको भन्दै गाईको गोठमा पुजागर्न लगाएका थिए । गाई गोठमा पुजागर्न पठाएपछि जातिय रुपमा अपमानित भएको महशुस गरेकी नेपाली यसपाली भने रोल्पा, प्युठान र दाङका झण्डै दुईसय दलित समुदायका मान्छे संगै मन्दिर प्रवेश गर्नपाउँदा निकै हर्सित भएको बताउँनुभयो ।

 संयुक्त राजनितिक दलित संघर्ष समिति प्युठानका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तीसमाजका केन्द्रिय सदस्य देवराज विश्वकर्म, नेपाल राष्ट्रिय दलित मुक्तीमोर्चाका केन्द्रिय सदस्य राजुपरियार, दलित समन्वय समिति प्युठानका उपाध्यक्ष गोपाल विक, लगायतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । संयुक्त राजनितिक संघर्ष समिति प्युठानका सदस्य लोकेन्द्र सुनारको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.