इन्द्रेणी संवाददाता
दाङ, २५ फागुन
दाङमा एक महिलालाई आगोले डामेर घाईते वनाएको अभियोगमा एक जना पक्राउ परेका छन । दाङ हाँसीपुर १ रुपाकोटकी एक महिलालाई झारफुकको नाममा आगोले डामेर घाईते बनाएको अभियोगमा वाँके घर वताउने हाल कोईलावासमा वस्दै आएका कमल क्षेत्री पक्राउ परेका हुन । हिजो परेको १ सय ६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईंरहँदा उक्त घटना बाहिर आएको हो ।
हाँसीपुर १ रुपाकोट निबासी ६० बर्षीया थुमसरा बिकलाई प्यारालाईसिस भएपछि धामी क्षेत्रीले उपचारको बाहनामा आगोले डाम्दा घाईते हुनुभएको छ । यहि फागुन १५ गते भएको घटना हिजो मात्रै सार्वजनिक भएको हो । तातोपानीले दाहिने भागको टाउकोदेखी पाईतलासम्मको भाग जलेर घाईते भएकी बिकको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्राथमिक उपचारपछि अहिले पाल्पामा उपचार भईरहेको छ ।
प्यारालाईसिस रोगको झारफुक गरी निको वनाईदिने भन्दै टाउकोमा उम्लिरहेको पानी खन्याएका क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । पक्राउ परेका क्षेत्रीलाई आवश्यक अनुसन्धान थालेर महिला हिंसा र सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही हुने दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिनुभयो ।
प्यारालाईसिस भएर हातखुट्टा चल्न छाडेपछि थुमसरा निको हुन्छ भन्ने आशमा धामीकहाँ झारफुक गर्न जानुभएको थियो । झारफुकको नाममा धामी क्षेत्रीले तातो पानी हालेर कुचोले झारफुक गरेको र दुख्यो भन्दा उल्टो डेक्चीमा उम्लिएको पानी खन्याएको पीडित थुमसराको भनाई छ ।।





