इन्द्रेणी संवाददाता
दाङ २७ फागुन
घोराहीमा जारी दाङ ब्यापारीक तथा पर्यटन महोत्सब एवं मध्यपश्चिम औद्योेगीक कृषि मेलामा स्थानीय हस्तकलाका समान विशेष आकर्षण बनेका छन ।
पछिल्लो समय जिल्लामा स्थानीय सीप र स्रोतबाट निर्मित हस्तकलाका समानको उत्पादन र बजारीकरण बढेको छ । अल्लोको धागोबाट निर्मित कपडाहरु, जंगली बाबियो तथा परालबाट निर्मित ढकीया, पिर्का, भेडाको उनबाट निर्मित कोट, पटुका, गलैचा तथा कम्बल, बाँस तथा चोयाँका सामग्रीबाट निर्मित बस्तु, काठ तथा माटाका मुर्ति एवं घरसजावटका समान, छालाबाट निर्मित वस्तु, दुनाटपरी, बेतबांसबाट कुर्चि टेबल लगाएतका समानहरु ग्रहाकहरुको विशेष आकर्षणको रुपमा रहेको मेला आयोजक तथा ब्यापारीहरुले बताएका छन । यसैगरी विभिन्न जातीगत परिकार पनि महोत्सबको आकर्षण बनेका छन । नेवारी, थकाली, थारु, मगर जातीका खाना तथा नास्ताहरुमा पनि ग्रहाकको भिड लाग्ने गरेको छ ।
अन्य समानहरु बजार सजिलै किन्न पाइने तर हस्तकला तथा स्पेशल जातीय परिकारहरु महंगा र विशेष अवस्थामा मात्र पाइने भएकाले पनि आकर्षण बनेको आयोजक तथा उत्पादनकर्ताहरुको भनाई छ । ‘अन्य स्टलमा रहेका समानहरु त ग्रहाकले बजारमा नै सजिलै किन्न सक्छन तर गाउँगाउँमा निर्मित हस्तकलाका उत्पादनहरु सजिलै नपाउने भएकाले ग्रहाकलाई आकर्षित गरेका हुन उद्योग बाणिज्य संघका सदस्य अनिल आचार्यले भने, ‘विशेष गरेर शौखिन मानिसहरुले घर सजावट र पहिरन तथा बिभिन्न परिकारहरु मन पराउने र यस्ता समानहरु किन्ने गरेका छन ।’
‘उद्योग व्यापार कृषि एव पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नारका साथ आयोजित मेलामा स्थानीय उत्पादनको प्रर्वद्धन र विकास गर्ने अफुहरुको मुख्य लक्ष्य रहेको महासंघका अध्यक्ष हेमराज बञ्जाडेले बताए । ‘दाङ जातीय रुपमा, भौगोलिक रुपमा, सांस्कृतिक रुपमा बिबिधता भएको जिल्ला हो, यहाँका विविध जाति, संस्कृति र भूगोल अनुसार सीप, क्षमता र उत्पादनमा मौलिकता छ बञ्जाडेले भने, ‘यीनै स्थानीय उत्पादनको प्रवद्र्धन, औद्योगीकरण र बजारीकरण बढोस र यहाँको पर्यटन तथा आर्थिक विकास होस भनेर नै मेला आयोजना गरेका हाँै ।’
महोत्सवमा विभिन्न प्रकारका सामग्रीहरुका स्टलहरु रहेपनि बनमा पाइने अल्लो, बाँस तथा चोयाँबाट बनेका वस्तु, माटो, काठ र जंगली बाबियो तथा परालबावाट उत्पादादित बस्तुहरु राखिएको स्टलहरुमा हेर्ने र समान किन्नेको घुइचो लाग्ने गरेको छ ।
दाङमा हस्तकला सामग्री उत्पादनमा धेरैजसो महिलाहरु संलग्न रहेका छन । महिलाहरु मिलेर बनाएको सहनशिला दिदिबहिनी अल्लो धागो उद्योग समुहका अध्यक्ष प्रभा ओलीले हस्तकला सामग्री निर्माण र उत्पादनमा महिलाहरु जाडिएकाले उनीहरु बजार विस्तार गर्न गाह्रो हुने गरेको भन्दै यस्ता मेला महोत्सबले बजार प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्छिन । उनीहरुले अल्लोको धागोबाट जुत्ता, चप्पल, कोट, पर्स, सल, कोट निर्माण गरेको र महोत्सबमा बिक्रि पनि राम्रै भइराखेको जानकारी गराइन । पहिले भाङग्राको समान भनेर हेला गरिने अल्लोबाट उत्पादित समान आकर्षक देखिने भएकाले पछिल्लो समय धनिहरु, ब्यापारीहरु र देशविदेशमा बस्नेको रोजाइमा पर्न थालेको उनको भनाई छ ।
विभिन्न सरकारी, नीजि तथा गैरसरकारी निकायको सहयोगका कारण पछिल्लो समय दाङमा गाउँघरको स्थानीय सीप कला ब्यबसायीक बन्दै छ । ढकिया, बिरा, गुन्द्रि यहाँका थारु महिलाहरुले निर्माण गर्दै आएको सामग्री हो । कुमालहरुले माटोका सामग्री बनाउँछन । पहाडि भेगमा बाँस तथा चेयाँबाट बिभिन्न सामग्री बन्दै आएकोमा छ । बेतबांसबाट कुर्ची टेबल निर्माण गरिन्छ । थारु पुरुषहरु ढुंगा तथा काठका मुर्ति तथा अन्य कलात्मक सामग्री बनाउँछन । ‘दाङमा अल्लोबाट समान उत्पादन गर्ने झण्डै आधा दर्जन उद्योगहरु खुलिसकेका छन, यस्तै हाते तानबाट निर्मित गलैचा उद्योगहरु बढदैछन, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले बांस तथा चोयाँ, बाबियो तथा परालबाट निर्माणहुने समग्रीको तालिम सञ्चालन गरेर बजारीकरणमा समेत सहयोग गरेका छन आर्थिक उपसमितिका सहसंयोजक बलिभद्र राणाले भने, ‘स्थानीय सीप, कलाको बिस्तारै बजारीकरण र औद्योगिकरण हुँदै गएको छ । यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ ।’
स्थानीय सीप, कला, संस्कृति, खाना नेपालको आन्तरिक तथा बाह्य पर्यटनको मुख्य आधार बन्दै गइरहेको बेला दाङको स्थानीय सीप, कला, उत्पादनलाई पनि व्यवसायीक, बजारीकरण र औद्योगीकरण गरे मात्र जिल्लाको र स्थानीयवासीको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




