ताजा अपडेट

...


स्वर्गद्वारी मन्दिरमा पसे दलित



जनक नेपाली
दाङ । दलित भएकैले स्वर्गद्वारीको गाईगोठमा पूजा गर्न लगाएर अपमानित भएकी त्रिपुर–६ सिस्नेरीकी बसन्ता नेपालीको अनुहारमा खुसी पोखिएको थियो । सोमबार ठूलो समूहका साथ स्वर्गद्वारी मन्दिर पुगेकी बसन्ता कहिल्यै मन्दिरको दैलौ नकुल्चेका ८० बर्षका बृद्धदेखि १५ / १६ बर्षसम्मका दलित समुदायका बालबालिकासँगै स्वर्गद्वारी मन्दिरमा पूजा अर्चना गर्दै हुनुहुन्थ्यो ।



गत साउन २३ गते छोरी सन्ध्या र विद्या नेपालीको ग्रहशान्ति गराउन भन्दै मन्दिरमा पुगेकी नेपालीलाई मन्दिरका पुुजारी दण्डपाणि चालिसेले दलित भएको भन्दै गाईगोठमा पूजा गर्न लगाएका थिए । गाइगोठमा पूजा गर्न पठाएपछि जातीय रुपमा अपमानित भएको महशुस गरेकी नेपाली यसपालि भने रोल्पा, प्युठान र दाङका झण्डै दुई सय दलित समुदायका मान्छेसँगै स्वर्गद्वारी मन्दिरमा पूजाआजा गर्नुभयो ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति दाङ र प्युठानको आयोजनामा स्वर्गद्वारी मन्दिर परिसरमै आयोजित ५१ औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवसका अवसरमा आफूसँगै सयौं दलित समुदायका मान्छेहरु सामुहिक रुपमा मन्दिर प्रवेश गरी कार्यक्रम गर्न पाउँदा उत्साहित भएका थिए । उनीहरुले दलितमाथि बर्षौंदेखि हुँदै आएको जातीय असमानता र छुवाछूत अन्त्य गर्न मन्दिर प्रवेश कार्यक्रमले  सहयोग पु¥याउने विश्वास जनाए । 

मन्दिरमा काम गरेर दैनिक जुगारा गर्दै आएका रोल्पाका एक व्यक्तिले मन्दिरको विरुद्धमा बोले आफ्नो रोजिरोटी नै गुम्ने बताउनुभयो । नाम नबताउने सर्तमा उनले स्वर्गद्वारी गुठीको जग्गामा अधिकांश दलित समुदायका मान्छेहरु बस्दै आएको बताउँदै यदि मन्दिरको विपक्षमा आफुहरु उभिए स–परिवारको उठिबास लाग्नसक्ने खतरा रहेको दुखेसो सुनाउनुभयो । गरिबी र अभावले छट्पटाएका आफुहरु मन्दिरमा गाईभैसीको गोबर फाल्ने, घाँस काट्ने र बनबाट दाउरा ल्याउने काम गरेर जिविका चलाउँदै आएको बताउनुभयो । 

मन्दिरमा निमित्त कोठारी तुमप्रसाद न्यौपानेले अबका दिनमा कुनै दलितमाथि छुवाछूत तथा भेदभाव नगर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि मन्दिरमा दलित समुदायमाथि कसैले अञ्जानमा छुवाछूत, भेदभाव गरे पनि अबका दिनमा यस्ता गल्तीलाई सुधार्ने बताउनुभयो । न्यौपानेले दलित समुदायका मान्छेलाई मन्दिर प्रवेश गरी पूजाआजा गर्नमा कुनै रोकावट नहुने बताउनुभयो । निमित्त कोठारी न्यौपानेले कार्यक्रमका सम्पूर्ण अतिथि, सहभागीहरुलाई मुल मन्दिर, हवन कुण्ड अवलोकन गराउँदै प्रसादसमेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि व्यवस्थापिका संसद सदस्य भागवत विश्वासीले दलितका छोराछोरीलाई स्वर्गद्वारी मन्दिरको पुजारी बनाउनुपर्ने बताउनुभयो । दलित समुदायभित्र पनि संस्कृत, बेद, वेदान्तमा आचार्य गरेकाहरु थुप्रै रहेको भन्दै उहाँले अब स्वर्गद्वारीमा पुजारी बन्ने पालो दलितको भएको बताउनुभयो । प्रमुख अतिथि विश्वासीले हिन्दू धर्ममा केही कमजोरी रहेका कारण तत्काल हिन्दू धर्मका संस्कारहरु सच्चाउनु पर्नेमा जोड दिनुभयो । धर्म आफैमा राम्रो नराम्रो नहुने  बताउँदै उहाँले हिन्दू धर्मका केही कमजोरी सच्चाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि व्यवस्थापिका संसदका सदस्य धनबहादुर रायमाझीले संविधानले प्रदानले गरेका दलितका अधिकारहरुलाई कार्यान्वयनमा लैजानु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । यस्तै राष्ट्रिय दलित आयोगका सदस्य बेगम विश्वकर्माले संविधान र ऐन कानुनमा उल्लेख भएका कुरा र दलितमाथि गरिने व्यवहारका नमिलेका कारण दलित समुदाय आन्दोलित हुन परेको बताउनुभयो ।  छुवाछूत राज्य आफैले सिर्जना गरेको मुद्धा भएका कारण विभेदकारी धर्मका कारण सिङ्गो दलित समुदायले हिन्दू धर्म छाड्ने परम्पराको विकास भएको बताउनुभयो । 

यस्तै प्युठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले कुनै पनि व्यक्तिले जातका आधारमा भेदभाव र छुवाछूत गरे त्यसलाई कानुन बमोजिम कार्वाही गर्ने बताउनुभयो । छुवाछूत गर्नलाई कार्वाही गर्ने कुरा संविधानमै स्पष्ट लेखिएको बताउँदै कसैले छुवाछुत गरे कानुनबाट उन्मुक्ति नपाउने बताउनुभयो । 
कार्यक्रमम बोल्दै नेपाल दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्माले स्वर्गद्वारी मन्दिरको दलित समुदायले विरोध नगरेको बताउँदै सेतो धोती लगाउने  मठाधिशको विरोध गरेको बताउनभयो । 

संयुक्त राजनीतिक दलित संघर्ष समिति प्युठानका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मुक्ति समाजका केन्द्रिय सदस्य देवराज विश्वकर्मा, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य राजु परियार, दलित समन्वय समिति प्युठानका उपाध्यक्ष गोपाल विकलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । संयुक्त राजनीतिक संघर्ष समिति प्युठानका सदस्य लोकेन्द्र सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.