इन्द्रेणी सम्वाददाता
दाङ १२ फागुन
दाङका युवाहरुलाई नतिजामा आधारित योजना तर्जुमा सम्बन्धी जानकारी दिईएको छ । गाविसका बस्ती स्तर देखि सुरु हुने योजना छनौट, त्यसको प्राथमिकीकरण गर्दै राज्यको माथिल्लो तहसम्म योजनाहरु कसरी पुग्छन र त्यसको कार्य सम्पादन कसरी हुन्छ भन्ने बारेमा युवाहरुलाई तीन दिन सम्म जानकारी दिईएको हो ।
जिल्ला युवा सञ्जाल दाङको आयोजना तथा यूएनएफपीएको सहयोग र युवा अभियान र रेस्टलेस डेभलपमेन्ट नामक सस्थाको समन्वयमा दाङका युवाहरुलाई स्थानिय विकासमा युवाहरुले कसरी पैरवी गर्न सक्छन भन्ने बारेमा जानकारी गराईएको हो । तीन दिन सम्म चलेको तालिममा युवा अभियानका हेमन्तकुमार शर्मा र शितल पोख्रेलले प्रस्ताबना र प्रतिबेदन लेखनका बारेमा पनि जानकारी गराउनु भएको थियो ।
साथै तालिमको हिजो एक कार्यक्रमको आयोजना गरी समापन गरीएको हो । जिल्ला युवा सञ्जाल दाङका अध्यक्ष जितेन्द्र शाहको अध्यक्षता एबं निबर्तमान अध्यक्ष किरण शाहको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी शाहले दाङका युवाहरुमा समाज परिवर्तनका लागि जागरुकता देखिएको बताउनु भयो । जिल्ला युवा सञ्जालले गरेका कार्यहरुले नेपालमै प्रभाबकारी छाप छोड्न सफल भएकाले सञ्जालका युवाहरु एक ढिक्का भएर युवाहरुको सार्वजनिक अभियानहरुमा सक्रिय बन्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा युवा सञ्जालका उपाध्यक्ष विरबल खड्काले सबैलाई धन्यबाद दिनु भएको थियो भने कोषाध्यक्ष सुरेश आचार्यले तालिमको बजेट र खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा तालिमका प्रशिक्षक हेमन्तकुमार शर्मा र शितल पोख्रेललाई सम्मान गरीएको थियो भने मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रमको सहजीकरण सञ्जालका सदस्य नवीन अभिलाषीले गर्नुभएको थियो ।।




