मर्न डराएर होइन, पालो नआएर बाँचेका हौंः प्रभाकर
इन्द्रेणी संबाददाता
दाङ, १४ फागुन । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवं् पूर्व शान्ति मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफूहरु जनयुद्धमा मर्न डराएको नभई पालो नआएर मात्र बाँचेको उल्लेख गर्दै बाँकी जीवन सम्पूर्णरुपमा क्रान्तिमा लगाउने बताउनुभएको छ ।
सहिद सप्ताहको पहिलो दिन शुक्रवार मध्य तथा सुदूरपश्चिमका सहिदका सन्तानहरुलाई भेट गर्न दाङको बनकट्टीस्थित सहिदस्मृत आवासीय उमाविमा आउनुभएको शर्माले भन्नुभयो– ‘तपाइ सहिदका छोराछोरीले के बुझ्नुहोस् भने हामी बाँचेका जति नेताहरु मर्नबाट डराएर सहिद नभएका होइनौं, पालो नआएर मात्र सहिद नभएका हौं, हामी बचेको जीवन क्रान्तिमै लगाउने छौं ।’
उहाँले अबको केही हप्तामै पार्टी एकता हुने पनि बताउनुभयो । उहाँले सहिदको रगतको परिणामस्वरुप संविधान बनेको उल्लेख गर्दै अझै क्रान्ति जारी रहेको बताउनुभयो ।
अर्को एक प्रसंगमा उहाँले सहिद विद्यालय सामान्य विद्यालय नभएर जनयुद्धको धरोहर भएको बताउनुभयो । यसमा विद्याथीहरुले ब्यहोरेको अभावसँग आफू नजिक रहेको उल्लेख गर्दै उहाँले केही महिनामै सौर्य उर्जा जडान गर्ने, कृषि बिषयको पठनपाठन शुरु गर्ने, सहिद स्मारक बनाउनेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रिन्सिपल नारायण पौडेलले गर्नुभएको थियो ।





