पाइलट र को पाइलटको मृत्यु
इन्द्रेणी संवाददाताकालिकोट १४ फागुन । नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्ठमण्डप एयरलाइन्सको विमान आज कालिकोटमा दुर्घटना भएको छ ।
उड्दा नै असहज रुपमा उडेको बिमान आकाशमा हल्लिदै अगाडि बढेको प्रत्यक्षदर्शीहरुले बताएका छन । उडेको केहि क्षणमै बिमान कालिकोटको चिलखाया गाविस २ स्थित समथर खेतमा अवतरण गरिएको थियो । अकस्मात विमानमा खराबी आएपछि बिमान दुर्घटना भएको बताइएको छ ।
बिमानको अगाडिको भाग जमिनमा धसिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन । पहाडमा ठोक्किने सम्भावना भएको बिमानलाई चालकले साबधानीपूर्वक समथर ठाउँमा अबतरण गराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
विमानमा एघार जना यात्रु सवार रहेका थिए । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए । पाइलट र को पाइलटको मृत्यु भएको छ । यस्तै मेघराज गिरी, जगदम्बा खत्री र उनको एक बच्चा, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।यात्रुहरु घाइते भएका छन ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बिकट ठाउँ भएकाले सम्पूर्ण जानकारी नआएको बताउनुभयो । हेलिकप्टर समयमै पु¥याउन सके घाइतेको छिटो उद्दार हुनसक्ने उहाँले बताउनुभयो ।





