ताजा अपडेट

...


रुघाँ खोकीको प्रकोप




इन्द्रेणी सम्वाददाता
रुकुम, ८ फागुन
रुकुमको तकसेरामा रुघाँ खोकीको संक्रमण फैलिएको छ । विगत ३ साता देखि गाविसका सबै वडामा संक्रमण फैलिएपनि वडा नं. ६ र ७ को माथिल्लो भेग बढी प्रभावित बनेको स्थानिय हिरा बुढा मगरले जानकारी दिनुभयो ।

रुघाँ खोकी संगै निमोनिया र जण्डिसको लक्षण समेत देखा परेको बुढाले बताउनुभयो । करिब २० दिन पहिलेबाट गाउँमा रुघाँ खोकीको संक्रमण देखा परेको र स्वास्थ्य चौकी गाउँ देखि टाढा भएका कारण उपचारमा समस्या भएको बुढाले बताउनुभयो ।

मुस्किलले स्वास्थ्य चौकी पुगेपनि औषधी नपाईदा झनै समस्या भएको छ । ‘टाढा टाढाबाट मुश्किलले मान्छेहरु स्वास्थ्य चौकी पुग्छन् बुढाले भन्नुभयो–तर भने जति औषधी पाईदैन्, रित्तो हात घर फर्कनुपर्ने बाध्यता छ ।’ स्वास्थ्य चौकीमा औषधी नपाईएपछि गाउँलेले स्थानिय मेडिकलबाट औषधी किन्ने गरेका छन् ।

मेडिकलबाट किनेको औषधी खादा निको भएजस्तो हुने र औषधी खान छाडे फेरी सताउने गाउँलेको भनाई छ । गाविसका अधिकांस ठाउँमा संक्रमण फैलिएका कारण यसबाट कति प्रभावित छन भन्ने एकिन भने हुन नसकेको बताईएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालयले भने यस विषयमा कुनै जानकारी आईनसकेको बताएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. क्षितिज सापकोटाले यसका बारेमा छिट्टै पत्ता लगाउने बताउनुभयो । ‘अहिले सम्म केहि थाहा छैन् डा. सापकोटाले भन्नुभयो–के भएको हो त्यसका बारेमा तकसेरा स्वास्थ्य चौकीबाट तत्काल पत्ता लगाउने छौं ।’

अहिले मौसम परिवर्तन हुने भएका कारण मौसमी रुघाँ खोकी लागेको हुन सक्ने उहाँले बताउनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.