ईन्द्रेणी सम्वाददाता
रोल्पा, १३ माघ
रोल्पा गामका केहि महिलाहरुले गाँउमा आयोजना गरिने हरेक कार्यक्रममा पञ्चेबाजा बजाँएर त्यसवाट आएको पैसा र अनाजले घर खर्च चलाँउदै आएका छन । त्यहाँका स्थानिय महिलाहरुले गाँउमा हुने विवाह, शुभकार्यदेखी लिएर औपचारीक कार्यक्रमको शोभा वढाउनलाई पञ्चेबाजा वजाँदै आएका छन । समुहमा रहेका महिलाहरुले दमाहा, ट्याम्की र झ्यालीको ताल मिलाएर पञ्चेबाजा बजाउदै आएका छन ।
पाहुनाको स्वागत मात्र नभएर मानिसहरुको भेला हुने ठाँउमा मनोरन्ज दिदै आएको गाम–३ की ४२ वर्षिया तिलसरी परियारले वताउनुभयो । सानै उमेरमा विवाह गरेर केहि वर्ष अघि श्रीमान समेत गुमाएको बताउने तिलसरीले गाउँमा हुने मरु, बरुमा पञ्चेबाजा बजाउदै आउनुभएको छ । बाजा बजाएर आएको अन्नवाली र पैसाले छोराछोरी पालनपोषण गरिरहेको उहाँको भनाई छ । २५ वर्षको उमेरमा दमाहा बजाउन सुरु गर्नुभएकी परियारले अहिले १७ वर्ष पुग्दा पनि त्यहि पेशालाई निरन्तरता दिरहनुभएको छ ।
उहाँसंगै अन्य महिलाहरु पनि बाजा बजाउन छिमेकी गाविस र जिल्ला प्युठानसम्म पुग्ने गरेका छन । गाउँका सवैजसो पुरुषहरु रोजगारीका लागि गाउँ बाहिर रहने भएकाले संस्कृति जोगाउन र पेशालाई निरन्तरता दिन खाजेको महिलाहरुको भनाई छ । गाउँमा कसैको बिवाह, मृत्युमा बाजा बजाए वाफत उनीहरुलाई गाउँका प्रत्येक घरधुरीले २÷३ पाथीका दरले मकै गहुँ दिने गरेका छन ।।





