ताजा अपडेट

...


रुखका बेर्ना बेचेर मनज्ञ आम्दानी




गणेश ओली
 दाङ १० कात्तिक । गाउँ नै रित्तो हुने गरि युवाहरु बिदेश पलाएन भइरहेको बेला घोराही नगरपालिका वडा नं. ५ अम्बापुरका चुडामणि बेल्वासेले विभिन्न जडिबुटीका बेर्ना बेचेर राम्रो आम्दानी गरिरहेका छन । नौ बर्ष पहिलेदेखि आफ्नै ६ कठ्ठा जमीनमा जडिबुटीको नर्सरी बनाएर विरुवा बिक्री गर्दै आएका बेल्बासेले १२ जनाको परिवारको जिविका यसैको आम्दानीबाट चलाएको बताउँछन् ।
नर्सरीको बिरुवा उत्पादनमा भाई नारायण र आफ्नो स्थायी पेसा नै बनेको भन्दै उनले नर्सरीमा उत्पादित विरुवा बेचेर वार्षिक तीन लाखजति आम्दानी हुने गरेको बताउछन् । ‘अब त स्थायी पेसा नै बनिसक्यो, उनले भने– ‘भाइले नर्सरी हेर्छ, मैले बजारमा बसेर विरुवा बेच्ने गर्छु ।’ हरेक दिनजसो छिट्वामा विरुवा राखी तुलसीपुरचोकमा बस्ने चुडामणिले यही बर्षायाममा मात्रै साढे दुई लाखको विरुवा बेचेको बताउँछन् ।
विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका वेल्वासेले ती विरुवाका बीउविजन काठमाण्डौं र भारतको लखनउबाट ल्याउने गरेको बताए । शुरुमा कृषि विकास बैंकबाट २० हजार ऋृण लिएर नर्सरी विरुवा उत्पादन शुरु गरेको भन्दै वेल्वासेले अहिले नगरपालिका र घरेलुमा आफ्नो नर्सरी फर्मसमेत दर्ता गराइसकेको जानकारी दिए ।
शुरुमा ८/ १० हजार विरुवा उत्पादन गर्ने वेल्वासेले अहिले बर्षमा ५ लाख विरुवा उत्पादन गर्ने गरेको बताउँछन् । ‘शुरुमा त्यति धेरै प्रचार नै भएको थिएन, त्यस्तै बढीमा १० हजारजति विरुवा उत्पादन हुन्थ्यो, वेल्वासेले बिगत कोट्याए– ‘अहिले त कतिपय घरमै आएर अर्डर दिन्छन्, कतिपयले बजारमा किन्छन्, वर्षमा ५ लाखजति विरुवा उत्पादन हुन्छ ।’ चुडामणिको वेल्वासे नर्सरीमा कागती, अनार, बेलौती, श्रीखण्ड, अमला, वेद, अशोक, धुपीसल्ला, रुद्राक्ष, रानी कुरिलोलगायत विभिन्न थरिका विरुवाहरु पाइन्छन् ।
धेरै समय नर्सरीमै काम गरेर बिताउने वेल्वासे दाजुभाईले बाह्रैमास विरुवा उत्पादन गर्ने गर्छन् । मेहेनत गरेजति आम्दानी पनि सन्तोषजनकले नै भइरहेको चुडामणिको भनाई छ । नर्सरीमा बिरुवा हुर्काउनुभन्दा बीउविजन खोज्न धेरै समय लाग्ने उनको दुखेसो छ । ‘बाह्रै महिना विरुवा उत्पादन गरिरहनुपर्ने भएकाले बीउ खोज्न पनि बाह्रैमास काठमाण्डौं र लखनऊ गइराख्नुपर्छ ।’ नर्सरीमा उत्पादित विरुवा दाङलगायत रुकुम, सल्यान, रोल्पा, प्यूठान, बाँके, बर्दिया र कैलाली कञ्चनपुरसम्म पनि पुग्ने गरेको वेल्वासेले जानकारी गराए ।
नर्सरीमा लाग्नुअघि जिल्ला वन कार्यालयको वनस्पति विभागअन्तर्गत जडिबुटी नर्सरीमा काम गरेका चुडामणिले जिल्ला वन कार्यालयको प्राविधिक सहयोग लिएको बताउँछन् । ‘पहिलेको अनुभवले गर्दा मलाई बोटविरुवाको नर्सरी राख्ने प्रेरणा मिलेको हो, उनले खुसी ब्यक्त गर्दै भने– ‘केही प्राविधिक समस्या परे वा सहयोग लिनुपरे जिल्ला वन कार्यालयबाट सहयोग लिन्छु ।’
नर्सरीबाट चित्तबुझ्दो आम्दानी भइरहेकाले चुडामणि अझ यसको वृद्धि, विस्तार गर्ने योजनामा रहेको बताउँछन् । उनले काम गर्ने जनशक्ति घरपरिवारमै भएकाले पछिल्लो समय विभिन्न प्रकारका फूलको बेर्ना पनि उत्पादन गर्न थालेका छन ।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.