ताजा अपडेट

...


बर्गदीको त्यो कालो रात....




बर्गदी हत्याकाण्डका १४ वर्ष
डिल्ली मल्ल 
दाङ, मंसिर ११ । भौनी चौधरी–३६ लाई एकछिन सुखसँग बसेर सास फेर्न पनि फुर्सद छैन । छोराछोरीको पढाई खर्चदेखि परिवारको भरण पोषणको जिम्मा उनी एक्लैले सम्हाल्नु परिरहेको छ ।
संकटकालको शुरुमै माओवादीको आरोपमा तत्कालिन राज्य पक्षबाट श्रीमान् मारिएपछि परिवारको सबै जिम्मेवारी उनको टाउकोमा थुप्रिएको हो । श्रीमान्को हत्या भएको पनि अहिले १४ वर्ष भइसकेको छ । अनाहकमै श्रीमान्लाई गुमाउनुपर्दाको पीडा समयक्रमसँगै बल्झिदैछ भने भर्भराउँदो जवानीमै भताभुङ्ग भएको उनको जीवन झन् पछि झन् कष्टकर बन्दै गइरहेको छ ।

भौनी मात्र होइन, उनका श्रीमान्सँगै मारिएका बर्गद्धीका ११ जना थारु किसानहरुको परिवारमा अहिले बिचल्ली नै भएको छ । घरका मुलीको हत्यापछि आफूमा आइपरेको पारिवारिक जिम्मेवारी पूरा गर्न पीडित परिवारहरुलाई हम्मे–हम्मे नै भएको छ । संकटकालको मुखमै तत्कालिन शाही सेनाले माओवादीको आरोपमा घोराही–३ बर्गद्धी कटही टोलका ११ जना थारु किसानहरुको हत्या गरेर उनीहरुको यस्तो विचल्ली बनाएको हो ।

गाउँकै जमिन्दार कृष्ण रेग्मीको खल्यानमा काम गरिरहेका उनीहरुलाई ०५८ मंसिर १३ गते दिउँसो ३ बजेतिर बिनाकारण गोली ठोकेर विभत्स तरिकाले हत्या गरेको थियो शाही सेनाले । उक्त विभत्स र क्रुर हत्याकाण्ड भएको आज ठीक १४बर्ष भएको छ । । यस बीचमा देशमा संविधानसभाको चुनाव, गणतन्त्रको घोषणासँगै धेरै फेरबदल भइसकेको छ । तर, सशस्त्र द्वन्द्वको क्रममा आफन्त गुमाएका यी पीडित परिवारले अहिलेसम्म न कुनै राहत र क्षतिपूर्ति पाएका छन् न त सम्मानपूर्वक जीवन जीउन नै । अहिलेसम्मको राहत भनेको माओवादी नेतृत्वको सरकारका बेला मृतकहरुलाई ‘शहीद’ घोषणा गरिनु, पाँच÷पाँच  लाख नगद रुपैयाँ र जिल्ला विकास समितिले विधवा भत्ताको रुपमा दिएको २५ हजार बाहेक अरु केही नपाएको उनीहरु बताउँछन् ।
हत्याकाण्डमा मारिएका किसानहरु सबै दाजुभाई र काका भतिजाहरु रहेका छन् । यसरी एकैपटक, एक्कासी ११ जना आफन्तको हत्या भएपछि निरस र शून्यजस्तै बनेको कटही गाउँको हालत अहिले पनि उस्तै छ । हत्याकाण्डको बेला भर्खर ताते–ताते गर्ने बालबच्चाहरु अहिले पढाई खर्च जुटाउन नसकेर स्कूल छोड्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् ।

एक्लो ज्यानले गरेको मजदूरीले छोराछोरीको पढाई खर्च, घर परिवारको खानपीन र जीवन व्यवहार चलाउन गाह्रो भएको हत्याकाण्डमा मारिएका खुसीराम चौधरीकी श्रीमती भौनी चौधरी बताउँछिन् ।
‘छोराछोरीको पढाई खर्च, खानपीन, लत्ता कपडादेखि घर व्यवहार कसरी चलाउनु ?’ शहीदपत्नी भौनी भन्छिन्– ‘छोराछोरी स्कूलबाट फर्केपछि फि तिर्नु छ, किताब किन्नु छ भन्दै पैसा माग्दै रुन थाल्छन्, आफूलाई भने साँझ के खाने, बिहान के खाने, कसरी जुटाउने भन्ने सोच्नमै ठीक्क हुन्छ । केही गर्न नसकेर म पनि छोराछोरीसँगै रुन्छु ।’ शुरुका एक÷दुई वर्ष केटाकेटीको पढाई खर्चका लागि केही संस्थाले कापी, किताब, झोला र ड्रेससम्म दिएपनि अहिले कसैले सहयोग नगरेको भौनीले बताइन् । भौनीजस्तै सोही घटनामा मारिएका आशाराम चौधरीकी श्रीमती बुधनी चौधरी को अवस्था पनि उस्तै छ । दुईजना छोराछोरीको पढाई खर्च र घर खर्च कसरी जुटाउने बुधनीका लागि ठूलो चुनौति बनेको छ ।

विडम्बना त यो छ कि सो हत्याकाण्डमा मारिएका ४ जना एउटै परिवारका व्यक्ति रहेका छन् । भौनीका श्रीमान् खुसीराम, देवर जगमान, जेठा ससुरा प्रसादु र कान्छा ससुरा शितलाल सोही घटनामा मारिए । यसरी परिवारका चार÷चार जनाको हत्या भएपछि विक्षिप्त बनेको परिवारको अवस्था अहिले पनि दयनीय बनेको छ । बुढेसकालमा आप्mना दुइटै छोरा, जेठो दाजु र कान्छो भाई गुमाएका भौनीका सासुससुरा फूलदासीनी र छुनीलाल घटना सम्झेर अहिले पनि आँसु थाम्न सक्दैनन् ।

मृतक जगमानकी श्रीमती पार्वती अहिले एकमात्र छोरी उर्मिला लाई कसरी पढाउने र हुर्काउने भन्ने चिन्तामा छिन् । भर्खर जन्मिएकी छोरी, फक्रिदो जवानीसँगैका इच्छा, आकांक्षाहरु र रहरहरु दुष्ट जमिन्दारहरुको चालबाजी र आँखा फुटेका शाही सेनाको कारण सधैँका लागि लुटिएको उनको भनाई छ ।
उता श्रीमान् शितलाललाई बिना कसुर गुमाउनुपर्दाको घटनाले लाखी चौधरी, जति पीडित छिन्, अहिले फेरि तिनै श्रीमान्का हत्यारा जमिन्दारका मान्छेहरु आएर कहिले पैसा त कहिले धान माग्ने, धम्काउने गर्न थालेको घटनाले झन् पीडित बनेको बताउँछिन् । ‘हिजो तिनै दुष्टले गर्दा हाम्रो श्रीमान् खाइदिए, अहिले फेरि जग्गा त हाम्रो हो भन्दै धान र पैसा माग्न आउन थालेका छन् ।’

भौनीको परिवारजस्तै लक्ष्मण चौधरी–, को परिवारको अवस्था पनि त्यस्तै छ । दुवै दाजु रुपलाल र रामु चौधरी सोही घटनामा मारिएपछि आप्mनो ठूलो परिवार भताभुङ्ग भएर आफू एक्लो भएको लक्ष्मण बताउँछन् । ‘दुवै दाजुहरु एकैपटक मारिए, त्यही पीरले बाआमा पनि असमयमै बित्नु भो, भाउजुहरु अन्यन्त्रै जानु भो । हाम्रो त्यति ठूलो परिवार तितरवितर भो अहिले छोराछोरी र श्रीमतीसँग एक्लै बस्नुपर्दा आफ्नै ठाउँ पनि बिरानो–बिरानोझैँ लाग्छ ।’

भर्खरजसो बिहे गरेका दुवै दाजुहरुका एक÷एक जना दुधे छोरीहरु थिए घटना हुँदा । अहिले माइला दाजुको छोरीले महिला विकासमार्फत् काठमाण्डौँमा पढिरहेको र जेठो दाजुको छोरीले मामाघरमा बसेर पढिरहेको लक्ष्मणले बताए । आप्mनै घर छेऊको जीर्ण घर देखाउँदै लक्ष्मणले भने– ‘जेठा दाजुले भर्खर घर बनाउनु भएको थियो, त्यस्तो घटना भएदेखि घर खाली छ, भत्किन थालिसकेको छ ।’– उनले भने– ‘जे हामीले कहिल्यै सोचेकै थिएनौँ त्यही भयो । अब पार्टी (माओवादी)ले दाजुहरुको रगत त्यसै खेर जान नदेओस्, दोषीहरुलाई कार्बाही होस्, हामी गरिबले दुःख गरेर खाना पाउने व्यवस्था ल्याओस्, हामीलाई बसी–बसी खाने व्यवस्था चाहिएको होइन्, दुःख गरेर सुख, शान्तिसँग बाँच्न पाए पुग्छ ।’

भौनी र लक्ष्मणको परिवारजस्तै आँखै नदेख्ने वृद्ध सुगानी चौधरी–७०, का श्रीमान् जोगु चौधरीले पनि बर्गद्धी हत्याकाण्डमा ‘आतंककारी’को नाममा मारिनुप¥यो । त्यस्तै सोही हत्याकाण्डमा कृष्ण चौधरी, सोमलाल चौधरी र रिसमान चौधरीले पनि ज्यान गुमाउनु प¥यो । अहिले कृष्ण र सोमलालका छोराछोरीलाई पढाई खर्च, भरण पोषण र घर व्यवहारका कारण स्कूल छोड्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ ।
जमिन्दारहरुसँग अधियाँ र त्रिकुरका विषयमा सामान्य असहमति भएकै कारण जमिन्दार भोजराज, कृष्ण र शेखर लगायतको मिलेमतोमा घटना घटाएको पीडितहरुको भनाई छ । हत्याकाण्डपछि विस्थापित बनेका जमिन्दारहरु अहिलेसम्म गाउँ फर्किन सकेका त छैनन् । तर, अरु मान्छेहरुलाई लगाएर किसानहरुले लगाउँदै आएको जग्गा भित्र भित्रै बिक्री गरिसकेको पीडितहरुको गुनासो छ । उनीहरु भन्छन्– ‘शुरुमा माओवादी पार्टीले जग्गा लगाऊ, अब यो तिमीहरुकै हुन्छ भनेको थियो, अहिले भित्र भित्रै जमिन्दारले सबै बिक्री गरिसक्यो रे, पार्टीले किन केही बोल्दैन । जमिन्दारले आप्mना मान्छे पठाएर कहिले पैसा देऊ भन्छन्, कहिले धान चामल दिनुपर्छ भन्दै धम्काउँछन् ।

हामीले के गर्ने ?’माओवादीकै आरोपमा आप्mना आफन्तहरु मारिएको हुँदा माओवादीले नै आफूहरुको लागि केही गर्न सक्छ भन्ने उनीहरुलाई अझैँ पनि आशा छ । ‘हाम्रो अविभावक, सरकार जे भने पनि यही पार्टी हो । पार्टीले शहीद परिवारका लागि केही त गर्नैपर्छ ।’– उनीहरु भन्छन्– ‘मरेको मान्छेलाई कसले पो फिर्ता ल्याइदिन्छ र ? अब हामी त यस्तै भताभुङ्ग जीवन कटाउने भयौँ–भयौँ, बिचल्लीमा परेका हाम्रा बालबच्चाहरुको पढाई लेखाईको राम्रो व्यवस्था गर्दिन पाए, काम गरेर बस्न मिल्ने थोरै झुप्रो र जमिन भए उनीहरुले हाम्रोजस्तो अधियाँ, अस्तव्यस्त जीवन र दुःखकष्ट झेल्नु पर्दैनथ्यो कि ?’
माओवादीको आरोपमा बर्गद्धीका सर्वसाधारण निहत्था ११ जना किसानले अनाहकमा ज्यान गुमाएको अहिले १४वर्ष पुगेको छ । हिजो संविधानसभा, गणतन्त्र र उत्पीडित, उपेक्षित वर्ग, क्षेत्र, लिङ्ग, जाती र समुदायका हक अधिकारको माग गर्दा आतंककारी भन्दै किसानदेखि सर्वसाधारण जसलाई पनि हत्या गर्ने÷गराउने अपराधीहरु अहिले देशमा गणतन्त्र आइसकेको अवस्थामा पनि बहादुरीका साथ खुलेआम हिडिरहेका छन् ।
उसो त न्यायका लागि बर्गद्धीका पीडितहरुले बेला–बेलामा प्रहरी कार्यालय, मानवअधिकारवादी संघ संगठन र विविध क्षेत्रमा पहल नगरेका होइनन् तर कतैबाट पनि सुनुवाई नभएको उनीहरुको भनाई छ ।

पछिल्लो समयमा दोषीहरुलाई कार्बाही हुने र पीडितले न्याय पाउने कुरा त परै छ, उल्टै गरिब, दुःखी र पीडितहरु थप पीडित हुनुपर्ने अवस्था सिर्जना भएको छ । अतः बर्गद्धीको सामूहिक हत्याकाण्डमा अन्यायपूर्वक मारिएका किसानहरु लगायत देशैभरि द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका परिवारजनलाई उचित राहत, क्षतिपूर्ति, बालबच्चाहरुको शिक्षा दिक्षा, भरण पोषण र समाजमा सम्मानपूर्वक बाँच्न पाउने अवस्थाको राज्यस्तरबाटै ग्यारेन्टी गरिनुपर्दछ । साथै अपराधीहरुलाई उचित कार्बाही हुनु अनिवार्य छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.