ताजा अपडेट

...


नाकाबन्दीको समाधान खोज्दै चलचित्रकर्मी



इन्द्रेणी सम्बाददाता 
काठमाडौँ, ५ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीले देशमा सङ्कट आएकाले समाधानका खोज्न चलचित्रकर्मीले अभियान सुरु गरेका छन् ।

‘चलचित्रकर्मी राष्ट्रिय अभियान नेपाल’ नाम दिइएको उक्त अभियानको उद्देश्य देशवासीले भोगिरहेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई सबै चलचित्रकर्मी मिलेर घच्घच्याउनु रहेको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक हरिहर शर्मा र चलचित्र कलाकार सङ्घका अध्यक्ष नवल खड्काले मधेसी जनताले उठाएका जायज माग सम्बोधन गरेर निकास खोज्नुपर्ने तथा तत्काल कूटनीतिक समाधानको बाटो पहिल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

वरिष्ठ कलाकार मोहन निरौलाले राजनीतिक कुरा आफ्नो ठाउँमा भए पनि मानवीय संवेदनालाई ध्यान दिन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो ।

यसैबीच अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको वर्तमान समस्या चाँडो समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले जनजीवन सहज बनाउन विकल्प खोजीको कोसिस भइरहेकाले समाधान निस्कनेमा ढुक्क रहन आग्रह गरेको संयोजक शर्माले जानकारी दिनुभयो ।

त्यस्तै आन्दोलनरत दल, संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालय, भारतीय राजदूतावासलगायतमा समस्या समाधानका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाउने अभियानको कार्यक्रम छ । त्यसैगरी भारतीय चलचित्र उद्योगलगायत विश्वभरका चलचित्रकर्मीलाई नेपाली जनताले भोगिरहेको सङ्कटलाई मानवताका नाताले साथ दिन आग्रह गर्ने अभियानले बताएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.