ताजा अपडेट

...


पर्यटन, पत्रकारिता र रोल्पा



क) पर्यटन
सामान्यतया पर्यटन भन्नाले भ्रमणलाई बुझाउछ, कम्तीमा एक दिन आर्थिक क्रियाकलापसहितको गतिविधि गर्नुलाई  पर्यटन भनिन्छ  । पर्यटन हुनका लागि तीनवटा महत्वपूर्ण पक्ष चाहिन्छ ,आकर्षण( Attraction ), पँहुच ( Access ) र सेवा सुविधा ( Amenities ) अथवा यसलाई छोटकरीमा A3 भनिन्छ । पर्यटनका आयामहरु( Dimensions ) धेरै छन्  । तर खास गरि पर्या ( Eco -Tourism)  सांस्कृतिक (Cultural Tourism ) र साहसिक पर्यटन ( Adventure ) मुख्य हुन् । यद्यपी पर्यटनका अन्य विधाहरु पनि नभएका होइनन् र अन्य विधाहरु पनि मुख्य आयामभित्र समेटिने गरिन्छ, पर्यटन विधामा  पछिल्लो चरणमा माइस टुरिज्मको पनि अवधारणा आएको छ । नेपाल यी सबै पर्यटनका आयामबाट निकै समृृद्ध छ, कुल राष्टिय आयको २ प्रतिशत हिस्सा ओगट्ने पर्यटन क्षेत्र राज्यको नीतिगत  प्राथमिकतामा परेपनि कार्यान्वयन फितलो हँदा पर्यटन विकास गर्न नसकिएको तितो यथार्थ हामीसंग छ । 
धनिराम शर्मा ( ऋतुविचार )

१) सरकारी नीति -  विश्वमा पर्यटनले कुल आयमा २० प्रतिशत बढी योगदान गरेको तथ्याँक भएपनि नेपालमा यसको योगदान २ प्रतिशत मात्र छ। विज्ञहरुका अनुसार नेपालको पर्यटन उद्योगले पनि २० प्रतिशत योगदान गर्ने संभावना भएपनि प्रवद्र्धनात्मक कार्यमा हामी सफल हुन सकेका छैनौ । युद्ध भूमिदेखि बुद्धभूमि र सगरमाथादेखि दुर्लभ कृष्णसार भएको मुलुक नेपाल, विश्व मानचित्रमा एक उत्कृष्ट गन्तव्य हो । तथापी सही योजना नीति र पर्यटन शिक्षाको अभावमा पर्याप्त परिणाम हात लागेको छैन । यद्यपी  पर्यटन विकास गर्न विभिन्न सयममा नीति र कार्यक्रमहरु नआएका त होइन लक्ष्य हासिल हुन सकेको छैन ।

नवौ पन्चबर्षीय  योजनादेखि पर्यटनलाई आर्थिक विकासको आधारको रुपमा अंगिकार गरि विभिन्न नीति तथा कार्यक्रहरु आएका छन् । त्यस्तै नीतिहरु मध्ये दश वर्ष पर्यटन विकासको गुरुयोजना एक महत्वपूर्ण मानिन्छ । सन २०१४ मा सरकारले दश वर्षे पर्यटन विकासको गुुरुयोजना ल्याएको हो , यद्यपी यसअघि  सन १९७६ मा पनि पर्यटन विकास गर्न गुरुयोजनाको अवधारणा ल्याएको पाइन्छ  ।
 सन १४ को सरकारको गुरुयोजनाले पर्यटन पूर्वाधार निर्माण, सुधार, पर्यटकीय गन्तव्यको प्रवद्र्धन र नयाँ गन्तव्यको  खोजी गरिने भनिएको छ ।  गाँउ पर्यटनलाई विशेष प्राथमिकरण गरिने भएको छ । सार्वजनिक निजी साझेदारी ( Public Private Partnership – p3 ) अथवा एघ प्री थ्रि मोडलमा पर्यटन क्षेत्रमा लगानी सुनिश्चत गर्ने भन्ने छ ।
  विद्यमान पर्यटन आगमनलाई सन २०२४ सम्ममा वार्षिक २५ लाख पर्यटकलाई  भित्र्याउने लक्ष्य छ, ।यद्यपी पछिल्लो तथ्याँक अनुसार करिब ९ लाख(श्रोत पर्यटन बोर्ड) बाह्य पर्यटकले नेपाल भ्रमण गर्दछन्।  गुरुयोजनाले बोले अनुसार वार्षिक साढे तीन खर्ब पर्यटनबाट राष्टिय आय प्राप्त गर्ने परिकल्पना गरिएको छ , वार्षिक एक लाख रोजगारी श्रृजना लक्ष्य लिएको छ, मुख्य गरि चीनियाँ र भारतीय पर्यटकलाई विशेष जोेड दिएको छ । स्मरण रहोस् गतवर्षको तथ्याँक अनुसार २० प्रतिशत चीनियाँ पर्यटक(श्रोत पर्यटन बोर्ड)ले ओगटेको पाइन्छ ।
२) समस्या र चुनौति -  सरकारी नीति जति सुन्दर छन् कार्यान्वयन पक्ष त्यत्तिनै कुरुप हुनु नेपालको पर्यटन विकासको मुल समस्या हो  । नीति बमोजिम कार्यबाट ठोस परिणामका लागि ध्यान नपुग्नु प्रवृत्ति हो । यससंगै बैशाख १२ पछि भूकम्प नाकाबन्दी हड्तालले यतिबेला नेपाली पर्यटन उद्योग थिलो थिलो भएको छ ।  पछिल्लो तथ्याँक अनुसार नेपालको पर्यटन करिब ६० प्रतिशतले घटेको छ । मुख्य गरि भूकम्प नाकाबन्दी बन्द हड्तालका विषय पर्यटनको लागि काउछो बनेको छ । 

भुकम्पपछिको नेपाल गन्तव्य सुरक्षित छ भन्ने सन्देश राज्य तहबाट हुन सकेनन् ।   भारतीय अघोषित नाकाबन्दी बन्द हड्तालले पर्यटन बजार ओरालो लाग्दै गएको छ । उर्जा संकटलाई सही सम्बोधन गर्न नसक्नु अनि पर्यटन बजारको प्रोबोधिकरण गर्न नसक्नु नै राज्यको कमजोरी देखिन्छ । उता  निजी क्षेत्र पनि  पूँजी लगानी भन्दा पुँजी सुरक्षित गर्नतिर अग्रसर छ । यतिमात्र होइन , सरकारी संरचना प्रणाली पद्धतीहरु नेपालको पर्यटन विकासको बाधक बनेका छन् झन्झटीलो प्रणाली, भ्रष्ट प्रशासन इत्यादी चुनौतिको पहाड बनेका हुन्  । यद्यपी राज्यले दुरगामी सोच र योजनाकासाथ सुधार गर्दै अगाडि बढे पर्यटन क्षेत्र चाँडै उकालो लाग्ने विज्ञहरुको मत छ।

ख) पत्रकारिता र पर्यटन 
 १) अन्तर सम्बन्धको सवाल -  सन १९०२ मा गोरखापत्रको प्रकाशन भएपछि औपचारिक रुपमा नेपालमा पत्रकारिताको उदय ( Evolution )  भएको हो । यद्यपी सन १९५० को राजनीतिक परिवर्तनपछि पत्रकारितालाई संस्थागत गर्न सन १९५६ मा नेपाल पत्रकार संघको स्थापना भएको पाइन्छ, जतिबेला  विश्वमा विकास पत्रकारिताले बर्चश्व कायम गर्दै थियो, पत्रकारितामा नविन सोच सिद्धान्त र विचारहरु प्रार्दुभाव हुदै  थिए ।  सन १९६० पछि विकास पत्रकारिता विश्व जगतमा सशक्त बन्दै आएको छ , करिब पचास वर्षपछि विकास पत्रकारिता थप परिस्कृत हुदै अनुसन्धानमा केन्द्रीत  छ  । सारमा भन्नुपर्दा नविन खोज, सूचना प्रविधि, आविस्कारका लागि पत्रकारिता सारथी बन्दै आएको छ , यसो हुनुमा पत्रकारितामा व्यवसायीक मिसन नै हो ।
अपितु नेपाली पत्रकारिता अझै  सोलोडोलोमा चलिरहेको छ, मतलब व्यवसायीक विशिष्टीकरण हासिल गर्न सकेको छैन । तसर्थ अब नयाँ राजनीतिक कोर्षसंगै नेपाली पत्रकारितालाई नयाँ आयामबाट अगाडि बढाउनु आवस्यक छ, व्यवसायीक मिसनकासाथ विषय प्रधान( Beat ) मा घोत्लीनु आवस्यक छ, जस्ले पत्रकारको दक्षता, क्षमता, सिर्जनालाई मजबुत र नविन बनाउन सकोस् ।
मुलुकको आर्थिक विकासका आधारहरु कृषी पर्यटन र उर्जा हुन् ।नयाँ नेपालको समृद्धिको सपना साकार पार्न पत्रकारिताले  नविन शैली सोच र कलाको विकास गरिनु आवस्ययक छ, आमूल आर्थिक रुपान्तरणको लागि  पत्रकारिता अचुक अस्त्र हो ।पत्रकारिता विकासको संवाहक हो, जसले विकासलाई सही बाटोमा हिडाउन र नविन विकासका नयाँ नयाँ सोँच र आयामहरुको खोजी–प्रेरक बन्ने गर्दछ । दुनियाँमा भएका प्रगतिहरु पत्रकारिताको योगदानका परिणाम हुन् । तसर्थ नेपालको पर्यटन प्रवद्र्धनको लागि पत्रकारिता महत्वपूर्ण आधार हो र हुनुपर्छ । पर्यटन  प्रचारमा निर्भर रहने उद्योग हो, सक्षम हस्पितालिटीले पर्यटनलाई आकर्षणसंगै दीगो बनाउने गर्दछ त्यसकारण सेवामूलक उद्योगको विकासमा   आम संचारको ठूलो हिस्सा रहन्छ ।


नेपालको पर्यटन विकासमा नेपाली पत्रकारिताको दायित्व समय काल परिस्थिति र राष्टको माग बमोजिम बन्न अझै सकेको छैन । यसमा राज्य मुख्य जिम्मेवार छ दोश्रो स्वयं मिडिया छ । मिडियाले सोलो डोला पत्रकारिता चलाइरहेका छन् , विकास पत्रकारिताको मर्म अनुरुप बीट प्रधान पत्रकारितालाई स्थापित गर्न आवस्यक छ तसर्थ नेपाली पत्रकारिता पनि निखारिनु आवस्यक छ । पत्रकारिताको लामो इतिहास भएपनि व्यवसायीकता र विशिष्टीकरणको सवाल अझै ओझेलमा छ । पत्रकारितामा नयाँ क्रमभंगताको आवस्यकता खड्किएको छ । पत्रकारितामा विशिष्टीकरणको जरुरी छ, पर्यटन पत्रकारिता नेपालमा नौलो नै छ, पर्यटन बीटमा लेख्ने मानिसहरु निकै कम छन् तैपनि  राजधानी केन्द्रीत बनेको पर्यटन पत्रकारिता पछिल्लो चरण मोफसलमा बामे सर्दैछ, विशुद्ध बीटमा पत्रकारिताको आयामको शुरुवात भएको छ । पर्यटन समाचार फिचर सामाग्रीहरु राष्टिय मिडियामा देखिन थालेका छन्, राष्टिय मिडियाले मोफसलका पर्यटन सामाग्रीहरु प्रशारण र प्रकाशनमा बाक्लो बनाउदै गएका छन् तर पर्याप्त भने छैन । राज्यले आर्थिक मेरुदण्डको भनेपनि पर्यटनलाई  मिडियाले प्रधान कभरेज गर्न सकेका छैनन् । स्थानीय मिडियाको प्रस्तुति  नगन्य नै छ, मतलब पर्यटन पत्रकारिताको अधारण बन्न सकेको छैन ।

पत्रकारितालाई पर्यटन विकासको मुख्य अस्त्र बनाउदै मुलुकको आर्थिक रुपान्तरणको अभियान छेड्न आवस्यक छ। पर्यटकीय वैभवले समृद्ध नेपाल पर्यटनबाट मात्र दीगो समावेशी आर्थिक उपलब्धी हासिल गर्न सक्छ, तसर्थ विद्यमान सरकारी नीतिको परिमार्जन, स्थानीय समुदायको सहभागितामा सार्वजनिक निजी साझेदारी मोडलमा  आर्थिक प्रणालीको विकास गरौ । पर्यटनबाट परनिर्भरताको अन्त्यसंगै समृद्धिसहितको राष्टिय स्वाभिमानको रक्षा गर्न सकिन्छ । राज्यको मुल नीतिलाई स्थानीय देखि राष्टिय मिडियाहरुले पत्रकारितालाई विशिष्टीकरण गरि व्यवसायीक मिसनमा केन्द्रित गरे विद्यमान  पर्यटनको कुल राष्टिय योगदानलाई २ प्रतिशतबाट २० प्रतिशत पुराउन सकिने संभावनालाई परिलक्षित गरौ ।

 २) नीतिगत सवाल -  पत्रकारितालाई विकासको एक आधार मानिएको छ, कथनीमा राज्यको चौथो अंग भनेर बोध गरिएको पाइन्छ । त्यही कारण पत्रकारितामा उत्पे्ररणा गर्न लगनशिल पत्रकारलाई पुरस्कार गर्ने सरकारी नीतिहरु भएको पाइन्छ । पत्रकारिताको विभिन्न विधामा पुरस्कृत गरिदै आएका छन्, कृषी पर्यटन इत्यादी बीटमा पुरस्कृत गरिन्छ । स्थानीय तहमा पुरस्कारको संस्कार खासै बसेको पाइदैन । यद्यपी क्षमता भन्दा दलिय नकारात्मक प्रभाव हावी हुँदा  दक्ष, कुशल, लगनशिल पत्रकार छाँया पर्ने पनि गरेका तीता अनुभव छन् । श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका समस्याले पनि नेपाली पत्रकारहरु एउटै बीटमा लेखन र अनुसन्धान प्रकासन प्रशारण गर्न असमर्थ भइरहेका छन् ।
यद्यपी पेशागत सुनिश्चितता गर्न सके पत्रकार जीवन रक्षा लगायतमा ध्यान सकेमा पत्रकारितामा दक्षता पाउन सकिन्छ । पत्रकारको आर्थिक जीवन नै सबै भन्दा कमजोर पक्ष छ, जसले उसको दैनिक चल्न मुश्किल छ, तसर्थ राज्यले देशलाई कति पत्रकारको खाँचो हुन्छ भन्ने नीति र कार्यक्रको निक्र्याैल गर्न सक्नुपर्छ । व्यवसायीक पत्रकारिताको विकास हुनेछ भने  शुद्धिकरणका समस्याहरु पनि धेरै हदसम्म हल हुनेछन्   ।

३) संस्थागत सवाल - पेशागत संगठनको रुपमा छाता संगठन नेपाल पत्रकार महासंघ भएपनि पछिल्लो समयमा बीटमा पत्रकारिता गर्ने पत्रकारहरुको पेशागत संगठन बन्ने गरेका छन् । यसले व्यवसायीक मिसनलाई पुरा गर्न एउटा बाटो तय गरेको छ । विशेष गरि पर्यटन क्षेत्रको कुरा गर्दा पर्यटन पत्रकारिता गर्न  निश्चित उदेश्य लिएर  अध्ययन लेखन अनुसन्धानमा केन्द्रित हुने र आफ्नो तत् विषयमा पहिचान बनाउने प्रयत्नहरु भैरहेका छन्,  जस्तै , नेपाल पर्यटन पत्रकार समूह यसको उदाहरण हो । यसले पर्यटन क्षेत्रमा क्रियाशिल तथा रुची राख्ने पत्रकारहरुलाई गोलबन्द गर्दै  व्यक्तिगत क्षमता विकास, पेशागत हक अधिकार र पर्यटन सम्बद्ध निकायहरुसंग रचनात्मक कार्यहरु गर्दै आएको छ । 
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले विषयगत विभाग बनाउनु आवस्यक देखिन्छ, जसले बीटमा पत्रकारिता गर्नेहरुको छुट्टै पहिचान बन्ने मात्र होइन , कामको आधारमा मूल्याँकन र सिफारिसमा सहज हुने निश्चित छ । जसबाट पत्रकारितामा दक्ष कुशल लगनशिल मानिसहरु हावी हुन सकून्, दलीय पत्रकारिताको अन्त्य होस् ।

ग) रोल्पा
१) पर्यटकीय गन्तव्य - पर्यटकीय दृष्टीकोणले रोल्पा एक उत्कृष्ट गन्तव्य हो , सांस्कृतिक पर्यटन, युद्ध पर्यटन, पर्या पर्यटन र धार्मिक पर्यटनको प्रवल संभावना छ ।  विशेष गरि रोल्पा मगरभूमि भएकाले मगर संस्कृतिमा वैभव छ, युद्धको उद्गम थलो भएकोले युद्ध पर्यटनको गतिलो गन्तव्य होे ।मगर बाहुल्य क्षेत्र, युद्धभूमि संगै प्रभुमहाराजको जन्मभूमि रुन्टी जस्ता शान्तिभूमि पनि यही पर्दछ । मुलतः मगर संस्कृति, युद्ध संपदाहरु, रुन्टी क्षेत्र, र जलजला पाटन क्षेत्र रोल्पाका उत्कृष्ट विषय  हुन् । ऐतिहासिक गाँउ थबाङ, शान्तिगाँउ जेलबाङ, शहिदगाँउ मिरुल, भावाङ, गाम , कुरेली, अरेश(लिस्ने लेक) शहिदमार्ग इत्यादि युद्ध पर्यटनको लागि उत्कृष्ट हुन् । विशाल जलजला पाटन क्षेत्र पर्या पर्यटन र युद्ध पर्यटनको संगम केन्द्र हो । रुन्टी, त्रिपूरेश्वरी खुंग्री, गजुलकोट दरबार क्षेत्र,शिवगुफा, गढीलेक इत्यादी धार्मिक तथा ऐतिहासिक स्थान हुन् ।
२) जिल्लागत नीति -  रोल्पा पर्यटकीय गन्तव्य भएपनि हालसम्म जिल्लाको पर्यटन प्रवद्र्धन गर्न ठोस योजना र कार्यक्रम बन्न सकेका छैन, जिल्ला स्तरीय  नीति कार्यक्रम बनाउने तथा कार्यान्वन गर्ने कुनै सहभागितामूलक संस्था निर्माण हुन सकेको छैन, सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा पर्यटन क्षेत्रको विकास गर्ने नीति बनाएपनि जिल्ला तहमा त्यो हुन सकेको छैन । सरकारी निकायहरुले केन्द्रबाट प्राप्त बजेटको खर्च गरेका छन् तर त्यस्को योजनाबद्ध लगानी गर्ने प्रणाली बन्न नसक्दा परिणाम प्राय नगन्य नै छ । गत वर्ष रोल्पाको पर्यटन विकासका लागि ४७ लाख रुपैया (श्रोत जिविस रोल्पा) बढी बजेट प्राप्त भएको हो । करिब  आधा करोड बजेट आँउदा पनि सानो तिनो परिवर्तनको अनुभूति हुन नसकेका नमिठा उदाहरणहरु छन् । पर्यटन क्षेत्रको सहयात्री निजी क्षेत्र भएपनि रोल्पाको हकमा निजी क्षेत्र पहलकदमी लिन असमर्थ भइरहेको छ ।  तसर्थ सरकारी, निजी र सामुदायीक सहभागितामा  जिल्लाको पर्यटन विकास गर्न अविलम्ब गुरुयोजना बनाउनु आवस्यक छ । नीतिगत संरचनाको प्रणालीबाट अगाडि बढे पर्यटनबाट  रोल्पा समृद्ध बन्न सक्छ । 

 ३) आम संचारको  अवस्था -  विशेष गरी दशक यता रोल्पामा संचार माध्यमको तीव्र विकास भएको छ, दर्जन जति छापा छन् भने तीन वटा सामुदायीक रेडियो संचालनमा छन् अन्य थपिने लाइनमा छन् । मात्रात्मक कोणबाट हेर्दा सुखद भएपनि विषय प्रधानमा संचार माध्यमहरु निकै कमजोर छन् । स्थानीयको तुलनामा राष्टिय मिडियामा रोल्पाको विषयगत सवालहरु पूर्वाधारदेखि पर्यटनका विषयले राम्रै स्थान पाएका देखिन्छन् । तर स्थानीयले स्थानीय सवालमा ध्यान पुराउन सकेका छैनन,  यसो हुनुमा स्थानीय संचार माध्यममा दक्ष पत्रकारहरुको भन्दा अदक्ष अथवा  सिकारुहरुको बाहुल्यता छ, यससंगै मिडिया नीति नै नहुनु अर्काे समस्या हो । यद्यपी राष्टिय मिडिया विकास र दायित्वको मुलधारमा सरिक गराउने हैसियत राखेपनि मिडिया संचालकहरुको त्यसतर्फ ध्यान अपूरो छ ।

निष्कर्ष :-  तसर्थ आगामी दिनमा समग्र रोल्पाको पर्यटन विकास गर्न स्थानीय सीप,कला संस्कृति, जीवन प्रणाली, कृषी उद्यम सेवा इत्यादी मौलिक चरित्रहरुको प्रवद्र्धन गर्न जिल्लामा एक विशिष्टतासहितको योजना बन्न आवस्यक छ। बीटमा पत्रकारितालाई प्रधान बनाउन तालिम प्रशिक्षणसंगै स्थानीय संचार माध्यमले दक्षता र रुचीका आधारमा पत्रकारहरुलाई कामको जिम्मेवारी तोक्नु आवस्यक छ । पर्यटन अभियानका लागि सबै सरोकारवालाहरुलाई गोलबन्द गर्नदेखि स्थानीय समुदायमा हाम्रा मूर्त या अमूर्त सम्पदाको संरक्षण संम्वद्र्धन गर्न संचार गरौ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय तहमा श्रम संस्कृतिको अभियानका लागि संचारमाध्यम प्रेरक बन्न सक्यौ भने रोल्पाले पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सक्छ ।  जय पर्यटन जय समृद्धि ।

लेखकः नेपाल पर्यटन पत्रकार समूह(एन्टोज) अध्यक्ष एवं एबीसी टेलिभिजन राप्ती व्यूरो प्रमुख हुनुहुन्छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.