ताजा अपडेट

...


सप्तरी झनै अशान्त




फाइल तस्वीर
इन्द्रेणी सम्बाददाता
सप्तरी, ६ मंसिर । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विभिन्न ठाउँमा भएको झडपले सप्तरी जिल्ला तनाव ग्रस्त बनेको छ । भारदह र रुपनीमा गएराति प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएपछि मोर्चाका आक्रोशित कार्यकर्ताहरुले कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

आन्दोलनकारीले सदरमुकाम राजविराजमा जिल्ला प्रहरी कार्यालयको ना १ झ १३१६ नम्बरको प्रहरी भ्यानमा आगजनी गरेका छन् । भ्यानको पछाडिको भाग जलेको छ । गाडीमा जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकाल रहनुभएको थियो । तर, प्रहरीहरु भने सबै सकुशल छन् ।

प्रहरीको भ्यानमा आगजनी गरेर भागेका आन्दोलनकारीलाई लखेट्दै गएको प्रहरीले गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालका तीन जनालाई कुटपिट गरेको छ । आन्दोलनकारीले रुपनीमा प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बरमझियास्थित सुन्दरी खोलाको रेलिङ भत्काइदिएका छन् । रेलिङ भत्काइदिएपछि गाडी एकतर्फी मात्रै चल्न सक्ने अवस्थामा रहेको छ । रुपनी, बरमझिया लगायतका स्थानमा विहानैदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सप्तरीको भारदहमा डाढा १ का २० वर्षका विरेन्द्र राम र जमुनी मधेपुरा ९ का २२ वर्षका नागेश्वर यादवको प्रहरीले चलाएको गोलिलागेर गएराती मृत्युभएको थियो । प्रहरीसँगको झडपमा ३६ जना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपको क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन् । आज विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा फेरी गोली चलेको छ । गोली लागेर ५ वर्षका बालिका सहित दुई जना घाइते भएका छन् ।

राजविराजमा आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप भएको छ ।दिउँसो आन्दोलनकारीले प्रहरी बिट जलाउनुका साथै भ्यानमा आगो लगाएका थिए । साँझपख फेरि झडप भएको हो ।

गोली लागेर ३० वर्षका दिलिप साह र उहाकी ५ वर्षकी छोरी मुस्कान साह घाइते हुनुभएको छ । घरको छतमा बसिरहेका दिलिपको टाउकोमा गोली लागेको र अवस्था गम्भीर छ । मधेसमा दुई प्रदेश हुनु पर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनु पर्ने माग गर्दै करिब तीन महिना देखी मधेसमा आन्दोलन जारी छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.