ताजा अपडेट

...


देशभरका नारायणस्थानमा भिड



इन्द्रेणी अनलाइन 
  काठमाडौँ, ६ मङ्सिर । कार्तिक शुक्ल एकादशीका दिन आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रबोधिनी एकादशी पनि भनिने आजका दिन स्नान गरी पूजाआजाका साथ क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णुलाई जगाउने धार्मिक विधि छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा सुत्नुभएका विष्णु भक्तजनको भक्तिभावपछि जागा हुने भएकाले आजका दिनलाई हरिबोधिनी एकादशी पनि भनिन्छ । 

 हरिशयनी एकादशीका दिन घर घरमा रोपिएको तुलसीको मठमा आज विशेष रुपमा सिँगारी तुलसी विवाह र पूजा गर्ने गरिन्छ । यस अवसरमा बिहानैदेखि काठमाडौँको उत्तरीभेगस्थित बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भिड लागेको छ । यहाँ दर्शन गर्दा काठमाडौँ उपत्यकाका चार नारायण दर्शन गरे बराबरको फल पाइने विश्वासमा भक्तजनको भिड लाग्ने गरेको बुढानीलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष रामबहादुर केसीले बताउनुभययो । 

 यसैगरी भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचङ्गु नारायण र विशङ्खु नारायणमा पनि भक्तजनको भिड लागेको छ । उपत्यकाका चार नारायण पनि भनिने यी नारायणस्थानमा कार्तिक शुक्ल एकादशीका दिन पूजा गरेमा पाप पखालिई पुण्य कमाइने शास्त्रीय मान्यता भएकाले भक्तजनको भिड लाग्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “कार्तिक मासमा स्नान, जप, होम र दानको विशेष महत्व रहेको छ, यसैले नारायणस्थानमा भक्तजनको भिड लाग्ने गर्छ, आजै चार नारायणको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ”–उहाँले भन्नुभयो । 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.