पर्या पर्यटन, दीगो विकास र आमसंचार
पर्या पर्यटन
पर्यटन आफैमा वृहत छ, सेवामूलक उद्यमको रुपमा चिनिने पर्यटनका धेरै आयामहरु छन् । जस मध्ये सबै भन्दा विशाल क्षेत्र भएको पर्या पर्यटन हो, पर्याको अर्थ पर्याबरण( Ecological Tourism) यसको परिभाषलाई यसरी सहजै बुझ्न सकिन्छ । पर्याबरणीय क्षेत्रमा पर्याबरणलाई खलल नपर्ने गरि संचालन गरिने पर्यटन सम्बन्धी क्रियाकलापहरु पर्यापर्यटनको मर्म र सिद्धान्त अनुसार संचालन हुन्छन् । पर्या पर्यटनले बाताबरणलाई असर पर्ने सामाग्रीहरुको प्रयोगमा निषेध गर्दछ ।Take only Photographs and leave only foot-print) भन्ने हो । त्यसकारण पर्याबरणीय पर्यटन अति बाताबरण मैत्री हो जसले पर्यटकहरुलाई जतिसक्दो कम बाताबरणीय असर कम गराउने वा बाताबरणलाई असर मुक्त गराउने अवधारणा राख्दछ । पर्यालाई अंग्रेजीमा (Eco ) भनिन्छ, यो शब्द ग्रीक भाषाको (OIKOS) ग्रीक भाषाबाट आएको हो । यसको अर्थ हुन्छ, परिवार तथा आश्रय स्थल भन्ने बुझाउँछ, त्यसकारण शाब्दिक अर्थमा पर्या पर्यटनले प्रकृतिसंगको निकट आश्रय स्थलको गन्तव्यलाई परिभाषित गर्दछ ।
![]() |
| ऋतुविचार |
(पर्याबरणीय पर्यटन अति बाताबरण मैत्री हो जसले पर्यटकहरुलाई जतिसक्दो कम बाताबरणीय असर कम गराउने वा बाताबरणलाई असर मुक्त गराउने अवधारणा राख्दछ । पर्यालाई अंग्रेजीमा (Eco ) भनिन्छ, यो शब्द ग्रीक भाषाको (OIKOS) ग्रीक भाषाबाट आएको हो । यसको अर्थ हुन्छ, परिवार तथा आश्रय स्थल भन्ने बुझाउँछ)
सन १९९१ तिर Scace ले पर्या पर्यटनको नजिकको अर्थ दिने गरि ३५ वटा विभिन्न शब्दावली प्रयोग गरेका छन् । ती शब्दावली मध्ये प्रकृति पर्यटन, हरियाली पर्यटन, प्रकृतिमूखी पर्यटन, जंगलप्रधान पर्यटन, साहसीक पर्यटन, वैकल्पिक पर्यटन, दीगो पर्यटन, उचित पर्यटन, पर्याबरणीय पर्यटन, र शान्त पर्यटन इत्यादी बढी प्रचलनमा रहेका छन् । यसरी सारमा भन्नु पर्दा विनाश विहिनको पर्यटन नै पर्या पर्यटन हो । पर्या पर्यटन वाताबरणप्रतिको उत्तरदायित्वलाई महशुस गरि वरिपरिको प्राकृतिक र सांस्कृतिक धरोहरहरुको संरक्षणका लागि प्रोत्साहन गर्दै स्थानीय बासिन्दाहरुको सामाजिक तथा आर्थिक सहभागितामा जोड दिदै थोरै यात्रीहरुद्वारा स्वच्छ प्राकृतिक क्षेत्रमा गरिने यात्रा वा भ्रमण हो । पर्या पर्यटनको इतिहास हे¥यो भने यसको प्रयोगको सुरुवात सन १९८३ मा कोष्टारिकाका एक पर्यटन व्यवसायीले गरेको पाइन्छ । त्यसपछि यसको क्रमिकरुपले प्रयोग र व्याख्या हुदै आएको हो । पर्या पर्यटन आफैमा वृहत भएकोले यसको परिभाषा धेरै विज्ञहरुले गरेका छन् । पर्या पर्यटनविद् इदवार्ड इनस्कीपको शब्दमा प्रकृति(वनस्पति, जीव, विभिन्न प्राकृतिक सौन्दर्यता) गाँउघर कृषी क्षेत्र(खेतबारी)आदिमा स्थानीय बासिन्दाकै पथप्रदर्शन र व्याख्यामा निर्देशित हुदै थोरै यात्रुहरुले नियन्त्रित रुपमा गरिने यात्रा या भ्रमण हो । त्यसै गरि संयुक्त राष्ट संघको महासभाले सन २००२ मा पर्या पर्यटनलाई अन्तराष्टिय वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । यसरी सारमा भन्नु पर्दा प्राकृतिक बाताबरणलाई खलल नहुने गरि प्रकृतिमैत्री यात्रा या भ्रमण पर्या पर्यटन हो । तर भ्रमण आर्थिक क्रियाकलापसंग विशेष सम्बन्ध राख्दछ । हुन त पर्यटन संरक्षणमुखी नै हुन्छ तर पर्यापर्यटन विशेष संरक्षणमुखी अवधारणाको सिद्धान्तबाट निर्देशित हुन्छ ।
१) नेपालमा पर्यापर्यटन सान्दर्भिकता कति छ ?
नेपालको सन्दर्भमा पर्या पर्यटनको क्षेत्र विशाल र अति उपयोगी छ । वास्तवमा नेपालको कुनै पर्यटनको आयाम छ भने त्यो हो, पर्या पर्यटन । नेपालको असंख्य नदीनाला सिमसार क्षेत्र, पहाड लेकबेसी, मैदान, ताल तलैया, जंगल वन्यजन्तु, हिमाली श्रंखला, सांस्कृतिक धरोहरहरु, स्थानीय कला सीप इत्यादीले पर्यार्पटनको सम्भावनालाई संकेत गर्दछ । कुल क्षेत्रफलमा वन क्षेत्रले ४० प्रतिशत ओगटेको बताइएको छ । राष्टिय निकुन्ज तथा संरक्षित क्षेत्र विशेष पर्या गन्तव्य हुन् । नेपालको पर्या पर्यटनमा अन्नपूर्ण संरक्षित क्षेत्र सबै भन्दा धेरै पर्या पर्यटकको आकर्षण बनेको छ ।अन्नपूर्ण संरक्षित क्षेत्र पर्या पर्यटनको एक सफल उदाहरण हो । नेपालको संपूर्ण संरक्षण क्षेत्रमा २८ प्रतिशत यसले ओगटेको छ, कास्की मुस्ताङ, मनाङ र लम्जुङ जिल्लाका स्थानीयलाई प्रत्यक्ष लाभ भएको छ । ती जिल्लाहरुमा ग्रामीण पर्यटनको विकास भइरहेको छ । लम्जुङको घलेगाँउ देशकै उत्कृष्ट घरबास संचालन भएको उदाहरणीय गाँउ हो । देश तथा विदेशबाट त्यहाँको होमस्टेमा बास बस्ने अनि प्राकृतिक सुन्दरता सांस्कृतिक सुन्दरतासंग पर्यटकहरु रमाउन गर्दछन् । यद्यपी मध्यपश्चिम र सुदुर पश्चिममा पर्यटनको बुझाई अलमलको अवस्थामा छ, जसका कारण पर्यटनको क्षेत्रमा पनि हामी पुछारको लाइनमा छौ । घरबास कार्यक्रमको उदेश्य र चरित्र नै धेरै मानिसहरुलाई थाहा नै छैन, यद्यपी यी क्षेत्रहरु पर्या पर्यटनका उचित गन्तव्य हुन्, तर कस्तुरीले आफ्नै बीणाको सुगन्ध नभेटे झै हामी भएका छौ ।
२)पर्या पर्यटन र घरबास कार्यक्रमको अन्तरसम्बन्ध के हो ?
हुन त पर्यटन आफैमा विशाल छ, एक अर्कासंग घनिष्ठ सम्बन्ध राख्दछ । तर नेपालको सन्दर्भमा पर्या पर्यटन सबै भन्दा बिस्तृत छ । आधुनिक प्रविधिको अनुसन्धान र विकास गरेर नेपालको पर्यटन सम्भव छैन, तसर्थ नेपालको पर्यटनको मुल आधार प्रकृतिप्रदत्त अथाह सम्पदा र त्यसैको आधारमा निर्मित नेपाली मौलिक कला संस्कृति सीपहरु नै हुन् । पर्या पर्यटनको सिद्धान्त अनुसार त्यस्ता सम्पदाहरुको जगेर्ना गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई अवलोकन भ्रमण मनोरन्जन इत्यादी गराउन सकिन्छ । दिनभर प्राकृतिक सौन्दर्यतामा भ्रमण गराउने र बेलुका गाँउमै बास बसाउने गर्न सकिन्छ । आवासीय सेवा वापत आर्थिक लाभ प्राप्त गर्न सकिन्छ । यही नै हो घरबास कार्यक्रम भनेको । गाँउ पर्यटनको सबै भन्दा बलियो आधार घरबास कार्यक्रम भएपनि अपेक्षाकृत बन्न सकेको छैन । यद्यपी गाँउ पर्यटनलाई प्रवद्र्धन गर्न सरकारले घरबास संचालन निर्देशिक २०६८ जारी गरेको छ , निर्देशिकाले घरबास कार्यक्रम संचालनको लागि आधारभूत मापदण्ड तय गरेको छ । मध्यपश्चिमको हकमा बर्दियाको डल्ला, प्यूठानको धनबाङ रोल्पाको गुरुङगाँउ पछिल्लो चरणमा उत्कृष्ट घरबास कार्यक्रम संचालन भएका गाँउ पर्यटनका गन्तव्य मानिन्छन् यद्यपी दाङमा पनि सवारीकोट, सिसहनीय र गढवा २ मा कार्यक्रम प्रस्ताव गरिएपनि गतिहिन जस्तै भएका छन् ।
दाङको हकमा कुरा गर्दा चुरे क्षेत्र पर्या पर्यटनको विशाल क्षेत्र हो, प्रकृतिसंग रमाउने पर्यटकलाई चराचुरुङीको अवलोकन, वन्यजन्तुको अवलोकन, राप्ती नदीमा डँुगा विहार इत्यादी गराउन सकिन्छ अनि शहरदेखि टाढा रहेका थारुहरुको बाहुल्य बस्ती र सांस्कृतिक रहनसहन भएका स्थानमा घरबास कार्यक्रम चलाउन सकिने भएपनि जिल्लागत नेतृत्वहरुको अदुरदर्शी योजनाका कारण दाङमा होमस्टे अपेक्षाकृत बन्न सकेको छैन । घरबास कार्यक्रमको मर्म र सिद्धान्त विपरित गरिएका अभ्यासले परिणाम दिन नसकेको हो , यससंगै स्थानीय समुदायमा पर्यटन र घरबास कार्यक्रमको बुझाइ पनि अर्काे समस्या रहेको छ । अर्काेतिर सरकारको ठोस नीति तथा कार्यक्रम नहुनु पनि पर्या पर्यटनको विकासमा समस्या खडा गरिरहेको छ ।
३) दीगो विकास कसरी हुन्छ ?
नेपाल पर्या गन्तव्यको विशाल क्षेत्र हो, नेपालमा अन्य पर्यटनका आयामहरु पनि छन्, यद्यपी नेपालको सन्दर्भमा प्रकृतिदेखि संस्कृति अथाह भएका कारण पर्या पर्यटनको उचित गन्तव्य मानिएको हो । नेपालको पर्यटन विशेष संरक्षणमुखी क्षेत्रहरुमा आधारित छ, यसैमा पनि ८० प्रतिशत भन्दा गाँउ गाँउले भरिएको दर्जनौ सांस्कृतिक सम्पदा अनि विविधताखा र त्यसैको आधारमा उपलब्ध वनजंगलदेखि जैविक विविधता हिमाल नदीनाला ताल तलैया इत्यादी पर्याका खानी नै हुन् । तसर्थ सरकारले संरक्षण अभियान अगाडि ल्याएको छ । विभिन्न कानुनहरुको पनि निर्माण गरि पर्या पर्यटनलाई प्रवद्र्धन गर्न सरकारी मनशाय छ, जलाधार क्षेत्र, वन क्षेत्र, जैविक क्षेत्र, सास्कृतिक क्षेत्र इत्यादी संरक्षण र प्रवद्र्धन गर्न नीति आएका छन् । राष्टिय निकुन्जदेखि संरक्षित क्षेत्रमा स्थानीयको जीवनस्तरको प्रसंग जोडिएको छ । संरक्षित क्षेत्र बाहिर पनि सामुदायीक अवधारणाबाट वनदेखि जल जमिनको सवालमा पनि सरकारको नीति तथा कार्यक्रमभित्र परेका छन् । यद्यपी कार्यान्वन निकै कमजोर छ ।
पर्या पर्यटनको माध्यमबाट दीगो विकास गर्ने सरकारी संकल्प छ, यद्यपी संरक्षित क्षेत्रहरु सुरक्षित भने बन्न सकेका छैनन् त्यसका धेरै कारण मध्ये अस्थिर राजनीति एक मुख्य कारण हो । तैपनि सरकारले सन १९९६ मा आघात नियन्त्र क्षेत्र (Buffer zone ) नियमावली बनाई संरक्षित क्षेत्रहरुबाट प्राप्त आय स्थानीय जनतलाई प्रदान गर्ने प्रवन्ध गरेको छ । यसको अर्थ पर्यापर्यटनबाट हुने लाभ स्थानीयको जीवनस्तर रुपान्तरणको आधार बनाउन खोजिएको हो । यसको गतिलो उदाहरण अन्नपूर्ण संरक्षित क्षेत्र यससंगै स्थानीय रुपमा रोजगारी स्थानीय सीप कला, उत्पादनहरुको सहजरुपमा बजारको पहँुच बन्ने गर्दछ । घरबास कार्यक्रमको माध्यमबाट स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ भने अर्काेतिर प्राकृतिक श्रोतको संरक्षण अनि सांस्कृतिक धरोहरहरुको संरक्षण र प्रवद्र्धन गर्न टेवा मिल्ने गर्दछ । वास्तवमा नेपालको पर्यटनलाई विकास गर्ने हो भने पर्यापर्यटनमा विशेष जोड दिन आवस्यक छ । प्रकृतिका अनुपम उपहारहरु नेपालीको दीगो आर्थिक तथा सामाजिक विकासका आधारहरु हुन् । यद्यपी राज्यको नीति र कार्यक्रमले सही परिणाम भने ल्याउन सकेको छैन । तसर्थ पर्या पर्यटन नेपालको दीगो आर्थिक सामाजिक विकासको बलियो आधार बन्नेमा कुनै दुइमत छैन ।
अन्तमा नेपालको विकासको आधार पर्यटन भएकोमा कसैको विमति छैन, यद्यपी अस्थिर राजनीतिका कारण विकासका आयामहरु अवरुद्ध भएका छन्। तीनिहरुलाई गतिशिलता प्रदान गर्न राज्यको नीति योजना र मार्गदर्शक सिद्धान्तलाई कार्यान्वयन गर्न आम संचार क्षेत्रको विशेष भूमिका रहन्छ, अब राजनीतिका फाल्तु गफ भन्दा स्थानीय जनताको जीवनस्तरसंग प्रत्यक्ष सम्बन्ध राख्ने पर्यटनको विषयमा कलम घोटिनु र मन मस्तिष्क घोत्लिनु आवस्यक छ । पर्या पर्यटनको बेजोड संभावनाको खोजी र उजागर गर्न ढीला भैसकेको छ । यद्यपी राष्टिय मिडियाहरुले पर्यटनको विषयमा केही ध्यान दिएपनि मोफसलमा निकै पातलो छ । रोजगारीका नाँउमा विदेशी भूमि ताक्ने अनि विकासका नाँउमा विदेशी दातासमक्ष हात थाप्ने होइन गाँउ पर्यटनको माध्यमबाट हाम्रै आँगनमा विदेशी पाहुनाको स्वागत गर्दै डलर बटुल्ने प्रयत्नशिल बनौ, जसबाट स्वाधिन र राष्टियताको अर्थ व्यवस्था निर्माण गर्न सकिनेछ । तसर्थ यसका लागि विशेष गरि पत्रकारिता क्षेत्रलाई अनुसन्धानमूलक र व्यवसायीक बनाउदै भावी नेपालको समृद्धिको आर्थिक रेखा कोर्न आजैबाट पहल गरौ दीगो आर्थिक सामाजिक विकासको लागि पर्या पर्यटनको प्रवद्र्धन गर्दै समुन्नत नेपाल निर्माण गर्न पहल गरौ । जय पर्यटन ।
लेखक नेपाल पर्यटन पत्रकार समूहको अध्यक्ष हुनुहुन्छ ।





