दाङमा यवाहरुको एक समूहले सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका छन । उनीहरुले केहि बर्षदेखि दाङमै बसेर बिभिन्न आविस्कार गर्दै आएका थिए । पेट्रोल अभाव भएको समयमा उनीहरुको उत्पादनले जिल्लामा थोरै भए पनि राहत मिलेको छ ।बिएसी पहिलो बर्षमा अध्यनरत मार्शल रोकाको अगुवाईमा रहेका बिज्ञान लगाएत अन्य विषय अध्यन गर्ने युवाहरुको समूहले बिभिन्न कुराको अध्यन र आविस्कार गरिरहेको छ । उनीहरुको पछिल्लो उत्पादन पेट्रोलबाट बाईक चलाएर सफल परीक्षण समेत भइसकेको छ ।
स्थानीय कच्चा पदार्थबाट र घरेलु प्रविधिबाट पेट्रोल उत्पादन गरेको उनीहरुको भनाई छ । सल्लाको खोटोमा चीनी, जुस बनाउन प्रयोग गरिएको उखुको छोक्रामा कच्चा पदार्थ मिलाएर स्थानीय रक्सी बनाए झै त्यसलाई बाष्पिकरण गरि पोट्रोल बनाउने गरेको रोकाले जानकारी दिए । सरकारले अनुमति दियो भने यहि सामग्री र बिधिवाट हप्तामा २५ हजार लिटर पेट्रोल उत्पादन गर्न सकिने उनको दाबी छ ।लगानी र आधुनिक प्रविधि भए अझै राम्रो काम गर्न सकिने युवा बैज्ञानिकहरुको दाबी छ । ‘घरेलु विधिवाटै उत्पादन गर्न सकिने भएकाले राज्यका लागि यो बिकल्प पनि हो रोकाले भने, ‘लगानी र प्रोत्साहन नहुँदा हामीले अझ प्रभावकारी काम गर्न सकेका छैनाँै ।’ राज्यले आफूहरुलाई प्रोत्साहित गरेमा इन्धनको विकल्प दिनसक्ने उनीहरुले बताए ।
देशमा ईन्धन अभाव रहेको बेला पेट्रोल उत्पादन गरेर सरकारलाई बाटो पहिल्याइदिएको उनीहरुको भनाई छ
बैज्ञानिक परीक्षण नभएकाले कतिले पेट्रोल प्रयोग गर्न आशंका गरे पनि यसले कुनै असर नगर्ने उनीहरुको दावी छ । ‘हामीले ईन्जिनमा कुनै असर नगर्ने गरी उत्पादन गरेका छाँै रोकाले भने, ‘डराउनेहरुले बोत्तलमा राखेर बाहिरैबाट चलाउने गरेकाछन भने हामीले ट्याङकीमै पेट्रोल राखेर चलाएका छाँै ।’ केहिले बाहिरबाटै पाइप जोडेर बाइक चलाए पनि टयाङकीमै पेट्रोल राखेर चलाउँदा पनि कुनै असर नगरेको उपभोक्ताहरुको भनाई छ । रोकाले ७० रुपैयाँ प्रति लिटरका दरले आफुहरुले उत्पादन गरेको पेट्रोल बेचिरहेको जानकारी दिए ।
राज्य पेट्रोलमा परनिर्भर हुँदा अहिले देशमा संकट आएको भन्दै यूवा बैज्ञानिकले गरेको उत्पादनलाई प्रोत्साहन र आन्तरिक बस्तुबाट उत्पादनमा जोड दिनु पर्ने स्थानीय शिक्षक अमर क्षितिज भण्डारीको भनाई छ ।
‘देश सधै परनिर्भर भएर चल्दैन, राज्यले यस्ता बैज्ञानिकलाई प्रोत्साहन र स्थानीय उत्पादनमा जोड दिनु पर्छ भण्डारीले भने, ‘देशभित्रको सम्भावना अध्यन गरेर सरकारले आन्तरिक मानव संसाधन र स्रोतको उपयोग गर्नु पर्छ ।’ देशभर झै जिल्लामा पनि इन्धन संकट परेको बेला उनीहरुको उत्पादनले धेरै राहत मिलेको उनले बताए । रातभरी लाइन लागेर पनि तेल नपाईने बेलामा आफूले यूवा बैज्ञानिकहरुले उत्पादन गरेको पेट्रोलले बाईक चलाईरहेको भण्डारीको भनाई छ ।
दाङको पहाडी गाविस, सल्यान, रोल्पा, प्यूठान र रुकुमलगायतका जिल्लाहरुमा सल्लाको खोटो उत्पादन हुने गरेको छ । खोटोबाट पेट्रोल उत्पादन भएको खबर सार्वजनिक भएपछि बाहिर निर्यात भइरहेको खोटोबाट स्थानीय स्तरमै पेट्रोल बनाउन प्रयोग गर्नु पर्ने स्थानीय बुद्धिजिवीको भनाई छ ।
उनीहरुले अहिलेसम्म विद्युतीय ब्रेथलाईजर, मेटल डिटेक्टर, बम डिस्पोजल मेसिन लगायतका ३७ वटा विद्युतीय आविष्कार गरिसकेको जनाएका छन ।





