![]() |
| दाङको हेकुली–८ हेकुलीमा निर्माण गरिएको भुयाँर थान |
दाङ १० कात्तिक । आफुहरुको सामूहिक पूजा गर्ने स्थान भुँयार थान लोप हुन थालेपछि थारु समुदाय पुर्नस्थापनामा लागेका छन । भुँयार थानमा थारुहरुले मान्ने देवताहरुका प्रतीकहरु राखिएको हुन्छ । खासगरी पाँच पाण्डवहरु, डहरचण्डी (दुर्गा), चारमुठ चावन (ब्रम्हा), दुधाधार सुच्चाधारी (बिष्णु), औहिरा गुनी (कृष्ण), घोटैलीदेवी, जमजुट्वा (देवताहरुको महटौ), डहरचण्डिक मुह्रा, मुह्रा मटावा, दानुरक्सा, भैसासुर, बुह्रीदेव, पूर्वीभवानी, पश्चिमभवानी लगायतका देवताहरुको प्रतीक राखिएको हुन्छ । गाउँ अनुसार भुयाँर थानमा हुने देवताहरुको संख्याहरुमा कमवेशी हुनसक्ने थारु अगुवाहरुको भनाई छ ।
पुर्खौंदेखि भुयाँर पूजा सञ्चालन गर्दै आएको ठाउँमा कतै भु–माफियाहरुले कब्जा गरेर घडेरीको रुपमा बिक्री गर्न खोज्ने त कतै पुजा संस्कार नै बिर्सेर पुजा गर्न छाडेपछि स्थानीयले नै अतिक्रमण गर्न थालेपछि उनीहरु भुँयार थन संरक्षणमा लागेका हुन ।
तुलसीपुर नगरपालिका मोतिपुरमा स्थानीय बासिन्दाले १५ बर्षपछि गत बर्ष भुयाँर थान स्थापना गरेका छन् । पछिल्लो समयमा आफ्नो सांस्कृतिक पहिचानको महत्व बुझेपछि भुयाँर थान पुनःस्र्थापना गरेको स्थानीय छोटीलाल चौधरीले बताए ।
त्यसैगरी, लामो समयदेखि भुयाँर थान पूजा बन्द भएको सौडियार गाविसमा पनि भुँयार थान निर्माण र संरक्षणमा जुटेको स्थानीय जगविर चौधरीले बताए । ‘कतै पुजा संस्कार बिर्सेर त कतै स्थानीय र जग्गा दलालको चपेटामा भुँयार थान हराउन थालेपछि संरक्षण र पुर्नस्थापनामा जुटेका छौ
त्यस्तै, सौडियार–२ गुरुवागाउँमा पनि ९ बर्ष अघि भुयाँर थानका देवताका प्रतीकहरु चोरी भएपछि अहिले पुनःनिर्माण गरिएको छ । सौडियार–५ राजपुरमा पनि भुयाँर थानमा रहेका देवताका प्रतीकहरु चोरी हुन थालेपछि स्थानीय नमुना युवा क्लवको पहलमा स्थानीयबाटै रकम संकलन गरेर प्यागोडा मन्दिर शैलीको पक्की भुयाँर थान निर्माण गरिएको छ ।
पछिल्लो समयमा थारु समुदायको दबाबपछि कतिपय स्थानीय निकायले भुयाँर थान निर्माणका लागि थोरै भए पनि बजेट विनियोजन गर्न थालेका छन् । नारायणपुर गाविस कार्यालयले ८ वटा भन्दा बढी भुँयार थान निर्माण गरिसकेको जनाएको छ । भुयाँर थान निर्माणका लागि प्रत्येक वर्ष २० हजार बढी बजेट विनियोजन गरिरहेको नारायणपुर गाविसमा एमाओवादीवाट प्रतिनिधित्व गर्ने सर्वदलीय संयन्त्रका प्रतिनिधी तुलसी डाँगीले बताए ।
मटहवा महासंघका अध्यक्ष तथा थारु कल्याणकारिणी सभाका निवर्तमान अध्यक्षसमेत रहनुभएका नारायणपुर गाविस जलौराका चन्द्रप्रसाद चौधरी गाविस कार्यालयले भुयाँर थान निर्माणका लागि बजेट विनियोजन गर्नु सकारात्मक भए पनि अत्यन्तै न्युन रहेको बताए । उनका अनुसार गाविसको बजेटले इँट्टा किन्न मात्र पनि पुग्दैन । अन्य स्रोत जुटाउन नसक्ने गाउँहरुमा गाविसको बजेट लिएर पनि भुयाँर थान बन्न नसकेको उनले जानकारी दिए ।
त्यस्तै, धर्ना–७ नैनवारमा पनि अहिले पक्की भुयाँर थान बनाइएको छ । गाविस कार्यालयसँग बजेट माग गरेर स्थानीयले पक्की भुयाँर थान बनाएका हुन् । तर, थारु समुदायमा आफ्नो सांस्कृतिक पहिचानबारे आएको जागरणसँगै सरकारी निकायबाट बजेट विनियोजन हुन थाले पनि पर्याप्त नभएको र थोरै बजेट पाउन पनि अत्यन्तै धेरै संघर्ष गर्नुपर्ने अवस्था रहेको थारु अगुवाहरु बताउँछन् । सौडियार–४ बेरगईका मटाँवा सगुनराम चौधरी पनि अन्य मठमन्दिरका लागि जस्तो थारु समुदायको भुयाँर थानको लागि सरकारी लगानी नभएको गुनासो गर्छन ।
पछिल्लो समयमा थारु समुदायमा आएको आफ्नो संस्कृतिप्रतिको पुनर्जागरणका कारण हराउन थालेका कतिपय सांस्कृतिक गतिविधिहरु पुनः शुरु हुन थालेको थारु संस्कृतिविद् अशोक थारुको विचार छ । आधुनिकताको नाममा भुयाँर थानप्रतिको आस्था र पूजापाठ कम भए पनि पछिल्लो समयमा भएको सांस्कृतिक पुनर्जागरण तथा पहिचानको आन्दोलनका कारण भुयाँर थान पुनस्र्थापना गर्ने क्रम बढेको छ ।
डिउठन्वा पनि भनिने भुयाँरथानमा थारु समुदायको सामूहिक पूजा हुन्छ । खासगरी थारु समुदायको हर्यागुरै, ढुयागुरै, मनौटा, हरचाली, ढुह्रेरी (होली), खेन बन्हाई पूजाहरु मुख्य हुन् । यी लगायत दशैं, विवाहलगायतका समयमा पनि यसको पूजा अनिवार्य मान्ने जनविश्वास छ ।





