ताजा अपडेट

...


आवरण र वास्तविकताको ‘फाइनल’ परीक्षा




भरत दाहाल
गच्छेदारको फोरम सहितका अन्य ३ वटा ठूला दलहरुका बीचमा भएको १६ बुँदे सहमतिले सत्ता राजनीतिको वृत्तभित्रका केहि व्यक्तिहरुका बारेमा एक प्रकारको नयाँ चर्चा सुरु गराएको छ । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले, भारतीय शासक वर्गको निरन्तर दबाबका बाबजुद, संविधान निर्माणका दौरानमा देखाएको रबैयाले उनीहरु देशभक्त भएको भन्ने एकथरि मानिसहरुको मनोविज्ञान बन्न थालेको छ । दुवै जनाको भूमिकाले 
भारतका सबै मूलभूत स्वार्थहरुको प्रतिनिसिधत्व नगरेको र उनीहरु कुनै न कुनै रुपमा भारतको आधारभूत स्वार्थसँंग बाझ्न पुगेको तथ्यलाई 
ईन्कार हुँदैन । तर, एकथरि मानिसहरुले जसरी उनीहरुलाई शुद्ध देशभक्तका रुपमा चित्रण गर्न खोजेका छन्, यसलाई जाँच्ने कशी भनेको आगामि दिनमा देखिने उनीहरुको काम कारबाही 
र इतिहासप्रतिको धारणाबाट स्पष्ट हुनेछ । भूमिकाभन्दा बाहिर कसैको मूल्याङ्कन गर्नु हुँदैन ।
केपी ओली र पुष्पकमल दाहालले देशको अहित र भारतीय रणनीतिको हितका लागि नाङ्गो रुपमा भूमिका खेलेको तथ्यमा कुनै शंका छैन । महाकाली सन्धी र त्यसपछिका सन्धी–सम्झौताहरुमा केपी ओलीको दलाल भूमिका जगजाहेर छ । यसैगरी माओवादी अगुवाईमा भएको १० वर्षे युद्धको कमान पनि भारतकै हातमा रहेको तथ्य उजागर भैसकेको कुरा हो । यी तथ्यहरुलाई केपी–दाहालको पछिल्लो भूमिकाले ढाकछोप गर्न सक्दैन । तर, त्यस्तो भूमिका र संविधान निर्माणका दौरानमा देखापरेको अहिलेको भूमिकाका बीचमा जुन प्रकारको विरोधाभाष (अन्तर्विरोध ?) देखिन पुगेको छ, यसका पछाडि रहेका कारणहरु भने निश्चय रुपमा छलफल गरिन लायक छन् । यो छलफल यस कारणले महत्वपूर्ण छ कि यतिबेला नेपालमा बढ्दो देशभक्तिपूर्ण चेतनालाई दिग्भ्रमित बनाउन साम्राज्यवादी, विस्तारवादी शक्तिहरुद्वारा अनेकथरि बुख्याँचाहरु अगाडि सार्ने प्रयत्न भैरहेका छन् ।
यस सन्दर्भमा बहसका विषयहरु हुन्–के ओली र दाहाल देशभक्त हुँदाहुँदै पनि उनीहरुको हिंजोको भूमिका बाध्यताको उपज थियो ? वा के उनीहरुले नेपालको भू–राजनीतिमा परिवर्तन हुँदै आएको विदेशी शक्ति सन्तुलनको फाइदा उठाएर भारतभन्दा बलियो हुँदै गएको अर्को शक्तिको शरणमा पुगेर आफ्नो सत्ता राजनीतिलाई बलियो बनाउने चाल चलेका हुन् ? वा के उनीहरुको पछिल्लो भूमिका दलालहरुले आफ्नो चरित्र अनुसार जनतालाई भ्रममा राखेर खेलाउनका लागि देखाईएको नक्कलि भूमिका हो ? यी ३ प्रकारका प्रश्नहरुको उत्तरले ओली र दाहालको भूमिकाका बारेमा यथार्थपरक दृष्टिकोण बनाउन सहयोग गर्नेछन् । साथै यी प्रश्नहरुको जबाफले उनीहरुबाट देश तथा जनताले कति सकारात्मक कामको अपेक्षा गर्न सक्छन् भन्ने 
कुराको मापदण्ड पनि निर्धारण गर्दछ । अतिरञ्जना वा न्यूनिकरणको प्रवृतिबाट जोगिएर मात्र ठोस निष्कर्षमा पुग्न सकिन्छ ।
माथिका ३ वटा प्रश्नहरुमध्ये पहिलो प्रश्न अर्थात् उनीहरु देशभक्त हुँदाहुँदै पनि बाध्यतापूर्वक भारतको दलालि गरेका थिए कि भन्ने प्रश्न 
विरोधाषपूर्ण र कुतर्कले भरिएको छ । कुनै व्यक्तिले बाध्यतामा परेर देशको हितमाथि सौदाबाजि गर्न सक्दैन, यदि कसैले यस्तो गर्छ भने त्यसले देशकोभन्दा आफ्नो स्वार्थलाई धुरीमा राखेर यस्तो काम गर्न सक्छ । यस्तो कुतर्कले देशकोभन्दा व्यक्ति वा गुटको स्वार्थलाई सर्वोपरि मानेर काम गरेको हुन्छ । यदि यहि तर्कलाई केपी र दाहालको देशभक्तिको मूल्याङ्कनको आधार बनाउने हो भने त्यो अवसरवादको नाङ्गो प्रयोग हुन्छ र राष्ट्रहितको प्रश्न प्रयोगवादमा गएर फस्छ । जहाँसम्म तेश्रो प्रश्न अर्थात् केपी र दाहाल दुबै जनाले नयाँ भ्रम सिर्जना गरेर भारतको दलालीको भूमिकालाई अर्को रुपमा जारी राख्ने षड्यन्त्र गरिरहेका छन् त भन्ने कुरा छ, यो पनि त्यति तार्किक, परिवेश अनुकूल र युक्तिसंगत प्रमाणका रुपमा देखा 
पर्दैन ।
किनभने उनीहरु दुबै जनाले 
भारतीय सत्ताका भरपर्दा दलालका रुपमा आवरण बदल्न खोजेको मात्र भए संविधान निर्माण जस्तो संगिन मोडमा भारतीय सत्तासंग मतभेद देखाएर जाने कुरा आउँदैनथ्यो । बरु भारतको 
रणनीति अनुसारको संविधान जारी गर्नका लागि उनीहरुका अगाडि तीन चौथाईभन्दा बढिको मत प्राप्त हुन सक्दथ्यो र यसलाई विरोध गर्ने नेमकिपा, राजमो, माले लगायतका केहि थोरै सांसदहरु बाहेक कोहि हुँदैनथे । तर दुबै जनाले यो बाटो अबलम्बन किन गरेनन् ? तसर्थ, केपी र दाहालको भूमिकालाई बुझ्नका लागि दोश्रो प्रश्नमा केन्द्रीत हुनुपर्ने आवश्यकता देखिन्छ । यो प्रश्नसंँग जोडिएको सम्यक उत्तर के हुन सक्छ भने यी दुवैजना दलालको चरित्रभन्दा माथि उठेका व्यक्तिहरु होईनन् र दिल्लीका भरपर्दा तलुवा पनि होइनन् । तर, दुवैजनाले इतिहासमा देशको हितका बिरुद्ध र आफ्नो स्वार्थका लागि दिल्लीको नांगो दलालि गरेका हुन् ।
यहाँ पुष्पकमल दाहालका बारेमा धेरै चर्चाको आवश्यकता छैन । उनी भारतीय एजेन्ट होईनन् भन्ने तथ्यलाई बाबुरामसंँगको उनको जीवनभरिको कटुतापूर्ण संबन्धले प्रष्ट पारिसकेको छ । मूलभूत रुपमा उनी यूरोपीयनहरुको नेक्ससमा जोडिएका प्रयोगवादी स्वार्थ लम्पट व्यक्ति हुन् र आफ्नो स्वार्थ पूर्तिकै लागि उनले भारतीय सत्ताको चरम दलाली गरेर देशका विरुद्धमा जघन्य अपराधहरु गरेका छन् । बाबुराम भट्टराइले पर्दा पछाडिबाट निर्णायक भूमिका खेलेपनि जन्मका आधारको नागरीकताका 
कारणले आज तराइमा उत्पन्न भएको समस्या, भारतीय नाकाबन्दीको आधार निर्माणदेखि साम्प्रदायी दुर्भावनासम्मका विकारहरुका औपचारीक बाहक दाहाल हुन् भन्दा फरक पर्दैन । दाहालभन्दा बेग्लै रुपमा र कम मात्रामा केपी ओली पनि प्रयोगवादी नै हुन् । तर केपीका बारेमा इतिहासले जस्ता तथ्यहरु उपलब्ध गराएको छ, त्यसले उनलाई दाहालको कोटीमा राख्न दिंदैन ।
केहि उदाहरणहरु हेरौं । विशेषतः महाकालीलगायतका सन्धी–सम्झौताहरुमा देखिएको गलत भूमिका बाहेक केपी ओली ‘रअ’ का एजेन्टहरुको कोठा र चोटामा धाएको, लैनचौर दूताबासको दर्शनमा जाने गरेको वा भारतीयहरु आउँदा नियमित रुपमा हाजिरी लगाउने गरेको देखिंदैन । दिल्ली रचित १२ बुँदे समझदारी होस् वा त्यसका आधारमा सुरु गरिएको आन्दोलन होस् सबैप्रति केपीको बिरोध रहँदै आएको थियो । यी घटनाहरुभन्दा पनि निकै महत्वपूर्ण ध्यानयोग्य कुरा अर्को छ । मदन 
भण्डारीको हत्यापछि बाबुराम भट्टराइको नाममा दर्ता भएको र उनकै छत्रछाँयाँमा प्रकाशित ‘जनादेश साप्ताहिक’ले सो हत्याकाण्डको नाइके केपी ओली भएको भनेर टी. एन. प्रधान भन्ने नक्कलि पात्रका नामबाट धाराबाहिक लेखहरु प्रकाशित गरेको थियो । यसका पछाडि सत्यता रहेको भए भारतीय मिशनमा पालिएका बाबुरामले सो लेख आफ्नो पत्रिकामा प्रकाशित किन गरे ?
के कुनै विदेशीले आफ्नो एउटा बफादार एजेन्टलाई विना कारण नंग्याउनका लागि अर्को एजेन्टलाई हतियारका रुपमा प्रयोग गर्न सम्भव 
छ ? अथवा केपी र विद्याका बारेमा आजसम्म जे जस्ता कथाहरु सुनाइए तिनमाथि कसैले विश्वास गरेको छ भने पनि के सपत्नी बसेका केपीसँंगको एकाध भेटका लागि एउटी पत्नीले लोग्नेको हत्यारालाई बचाउने प्रयासको कल्पना गर्न सकिन्छ ? यसका आधारमा विद्या नै मदनको हत्या योजनामा संलग्न थिइन् भन्ने निष्कर्ष निस्कन्छ, जुन कुरा कमसेकम मेरो विवेकले अनुमान गर्न सक्दैन । माओवादी विद्रोहमा भारतको संलग्नता र विशेषतः दासढुंगा काण्डका बारेमा बाबुरामको पत्रिकाको भूमिकाले के पुष्टि गर्छ भने भण्डारीका 
हत्याराहरुलाई लुकाउन टी. एन. प्रधान नामको नक्कली पात्र खडा गरेर केपीलाई निशाना बनाईएको थियो । यसबाट अनुमान गर्न सकिन्छ कि केपीको भूमिका दलालको रहे पनि उनी भारतीय एजेन्ट थिएनन् ।
केपी र दाहालले दलालको भूमिका निर्वाह गरे पनि नेपालभित्र बदलिएको बाह्य शक्ति सन्तुलन अनुसार बदलिने उनीहरुको भूमिकाले देशका पक्षमा कुनै न कुनै रुपमा सकारात्मक भूमिका निर्वाह गर्नसक्छ भन्ने तथ्यलाई हामीले स्विकार गर्नु पर्दछ । उनीहरुले एउटा दलालका रुपमा हिंजोको कित्ता परिवर्तन गरेको कुरालाई तथ्यका रुपमा स्विकार गर्ने हो भने अहिलेसम्म नेपालको सबैभन्दा ठूलो बाधाका रुपमा रहेको भारतीय सत्ताका हातहरुलाई केहि कमजोर बनाउने उनीहरुको भूमिका तुलनात्मक रुपमा राम्रो नै हुन्छ । यसको अर्थ उनीहरुले भारतीय सत्तासंग पूरै टक्कर लिने ठाउँमा छलाङ आनि सकेका छन् भन्ने गलत निष्कर्षमा पुग्नु हुँदैन । भारतका नेपाल बिरोधी कतिपय स्वार्थहरुसंँग सौदाबाजी गर्दागर्दै पनि उनीहरुले अर्को शक्तिको आडमा दिल्लीसँंगको विमतिलाई अघि बढाउने सम्भावनालाई प्रोत्साहन नै दिनुपर्छ । उनीहरुको ‘ग्रेड’ को परीक्षा अब हुन्छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.