ताजा अपडेट

...


उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता



दोस्रो उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारी दर्ता भएका प्रस्ताव बमोजिम उपराष्ट्रपतिको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने समय दिउँसो साढे एक बजेका लागि तोकिएको छ ।

२ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान हुनेछ ।

भोलि बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ । उपराष्ट्रपतिका लागि सत्तारुढ घटकका तर्फबाट एकीकृत माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दिने यसअघि नै घोषणा भैसकेको छ ।

तर सत्तारुढ दलभित्र मधेसी या थारु समुदायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने चर्चा पनि सुरु भएको छ । यसबारे अन्तिम निर्णय गर्न सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । बुधबार राष्ट्रपतिको निर्वाचन भएसँगै उपराष्ट्रपतिको चयन हुन लागेको हो । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो पदबहाली गरिसक्नुभएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.