दाङ भदौ १० / खोलाको कजवेमा लेउ जमेका कारण दुर्घटनाको खतरा बढेर गएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । लगातारको बन्दबाट यातायातका साधनहरु सञ्चालनमा आउन नसकेपछि कजवे चिप्लो हुँदा दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

घोराही–लमही सडक खण्ड अन्तर्गत पर्ने बबई खोलामा लेउ जमेका कारण यातायातका साधनहरु चिप्लिएर पल्टिने क्रम बढेको भन्दै ट्राफिक प्रमुख थापाले संयमित भएर खोला तर्न सवारी चालकहरुलाई आग्रह गर्नुभयो । 
‘लगातारको बन्दका कारण गाडी नचल्दा खोलामा जमेको लेउका कारण लिक चिप्लिदा दुर्घटना बढिरहेको छ’, ट्राफिक प्रहरी प्रमुख थापाले भन्नुभयो,‘केही दिनयता बबई खोलामा टिप्लिएर २ वटा ट्रक र एउटा बस दुर्घटना भएका छन् । चालक संयमित नहुने हो भने थप दुर्घटना निम्तिन सक्छ ।’ खोला धमिलो भएका कारण लेउ सफा गर्न नसकिएको ट्राफिक प्रमुख थापाले बताउनुभयो ।