परिवर्तनको गति बुझेको छु, त्यसैले देश हाक्न सक्छु सिटौला
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले परिवर्तन र राजनीतिक गतिलाई चिनेर अगाडि बढाउन सक्ने राजनीतिक नेतृत्व चाहिएको हुँदा आफूले सभापति पदमा उमेद्वारी दिन लागेको बताएका छन्।बुधबार आफ्नो उमेद्वारी घोषणा गर्न बत्तीसपुतलीमा आयोजित कार्यक्रममा उनले ६२र६३को जनआन्दोलनलगायत परिवर्तनका सबै घटनाक्रममा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र त्यसपछिका सभापति शुसिल कोइरालासँगै रहेर काम गरेकाले आफूले राजनीतिको गति ठम्याएको दाबी गरे।
तत्कालीन सभापति शुसिल कोइरालाले नै आफूलाई केहि समय पर्खेर नेतृत्वका लागि अगाडि बढ्न भनेको भन्दै अब आफू पछि नहट्ने बताए।
उनले भने, " मुलुकको राजनीतिक स्थायित्वका निम्ति संविधान कार्यान्वयन गर्न सबल र गतिशील कांग्रेस चाहिएको छ। त्यसका लागि परिवर्तन र समग्र गतिलाई विचार गरेर राजनीति अगाडी बढाउन सक्ने राजनीतिक नेतृत्व चाहिएको छ।"
संविधानमा भएका त्रुटीलाई हटाउँदै त्यसको कार्यान्वयन गरेर अघि बढ्न आफू कांग्रेस सभापति हुनुपर्ने उनको तर्क छ।
शसांक कोइरालाप्रति लक्षित गर्दै उनले मुलुक संघीयता र गणतन्त्रको बाटोमा अगाडि बढिसकेको भन्दै पछाडि फर्कन नसक्ने बताए। उनले परिवर्तन स्वीकार नगर्ने नेतृत्वलाई कांग्रेस हाँक्ने जिम्मा दिन नसकिने बताए।
उनले कुनै परिवारको नाममा कांग्रेस कैद हुन नसक्ने जिकिर गरे। उनी र महामन्त्रीका उमेद्वार गगन थापाले अधिकांश समय महामन्त्रीका अर्का दाबेदार शसांक कोइरालाको आलोचनामा खर्चिएका थिए।
कार्यबाहक सभापति रामचन्द्र पौडेलप्रति लक्षित गर्दै उनले भने,"अब मैले यतिवर्ष काम गरेँ, वर्ष काम गरेँ भनेर होइन पार्टी र मुलुकलाई अघि बढाउने आफ्नो एजेन्डाका आधारमा प्रतिस्पर्धा गर्ने हो।"
उनले युवा वर्गलाई पार्टीमा स्थान सिर्जना गर्नुपर्ने बताउँदै प्रश्न गरे, "ओबामाले अमेरिका हाँक्न सक्छन् भने हामीले गगनलाई किन विश्वास नगर्नेरु गगनले किन सक्दैनन्।"
महामन्त्रीका दावेदार गगन थापाले ६२ प्रतिशत ४० वर्ष मुनिका प्रतिनिधी आएको भन्दै आफ्नो पुस्तालाई विश्वास गर्ने कि नगर्ने भन्ने प्रश्न प्रतिनिधीसामू रहको धारणा राखे।
पार्टीभित्रको स्थायी गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै उनले पार्टीमा संस्थापन र संस्थापनविरोधी भन्ने अधिकार कसैलाई नभएको बताए।
कांग्रेसबाट परिवारवादको घेरामा अड्किनु नहुने धारणा राख्दै थापाले भने, "मेरो नशामा बीपीको रगत बगेको छैन तर बीपीको विचार बगेको छ। जसले मोहन शम्शेरलाई पुर्पुरोमा लेखेर शासन गर्ने दिन गए भन्ने साहस राख्थे, म तिनै बीपीको सच्चा अनुयायी हुँ।"
उनले संविधान कार्यान्वयन गर्दै अबको १५ बर्षभित्र देशलाई समृद्धीको बाटोमा अगाडि बढाउनसक्ने नेतृत्व कांग्रेसलाई चाहिएको बताए।
युवा पुस्तालाई जिम्मेवारी नदिइनु उनीहरुले कमाइ गरेको रेमिट्यान्समा बाँचेर त्यहि पुस्तालाई लल्कार्नु जस्तै भएको बताए।
महामन्त्रीका दाबेदार तथा आफ्ना ससुरा अर्जुन नरसिंह केसीप्रति लक्षित गर्दै भने, "मलाई थाहा छ, मेरो प्रतिस्पर्धा बुवासँग हुँदैछ। तर मैले आफ्ना लागि राजनीति गरेको होइन। राजनीति देश र समाजका लागि हो। म अघिल्लो पुस्तालाई सम्मान गर्छु तर युवा पुस्ताले सपना देख्नु र साहस गर्नु गलत होइन भन्ने प्रष्ट पार्न चाहन्छु।"
अरुले जित्दा पार्टी नै डुबाउँछन् भनेर हावादारी कुरा गर्नु भन्दा आफूले उमेद्वारी दिनुको कारण प्रस्ट्याउँदै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए।
कोषाध्यक्षका उमेद्वार उमाकान्त चौधरीले आफूले तराई मधेशको प्रतिनिधित्व गर्ने भन्दै आफ्नो समूहमा सबैको प्रतिनिधित्व मिलाइने बताए।





