![]() |
डा.सञ्जिव सुवेदी |
कान्ति अस्पताल र शिक्षण अस्पताको बिचबाट गुज्रिने त्यो बाटो हिजोसम्म जीवन मार्ग थियो । किनभने अरुको जीवन जोगाउने सपना बोकेका सयौं डाक्टर त्यो बाटोबाट ओहोर दोहोर गरिरहेका छन् वर्षौंदेखि । तर, डा सञ्जीव सुवेदीका लागि त्यो मृत्युमार्ग बनिदियो । अर्काको ज्यान जोगाउने पेशाकै लागि त्यो बाटो हिँडेको दशक पुग्न लागेको थियो उनले । प्युठानमा जन्मेहुर्केका डा सुवेदीको विशेषज्ञ डाक्टर बनेर सेवा गर्ने सपना माइक्रो बसको एउटा ठक्करले उडाइदियो ।
प्युठान जिल्लामा जन्मेर डाक्टर बन्ने सपनाको बिउ उमार्नु चानचुने कुरा होइन । सरकारी स्कुलबाट एसलएलसी र प्लस टू गरेर पनि डाक्टर बन्ने चाहनाको बिउ जिवितै राख्नु झन् सामान्य कुरा होइन । डा सञ्जीवले निकै दुःख गरेर त्यसलाई हुर्काएका हुन् । प्युठानकै जनता माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका उनले काठमाडौंको पद्यमोदय उच्च माध्यामिक विद्यालयबाट प्लस टु गरे । सरकारी कलेजमा पढेर प्लस टूमा डिस्टिङ्सन ल्याए ।
डाक्टर बन्नु धेरैको साझा सपना होला । तर, अब्बल डाक्टर बन्ने सपना कतिले देख्छन् रु उनमा डाक्टर होइन, अब्बल डाक्टर बन्ने चाहना थियो । त्यसैले उनले अवसर पाउँदा पनि कमसल पढाइ हुने देशतिर डाक्टरी पढ्न खोजेनन् । दुईपल्ट छात्रवृत्तिमा नाम ननिस्केपनि उनले हिम्मत नहारी पढिरहे । उनका मामा कृष्णध्वज खड्का सम्झिन्छन्, ‘उसको यता नाम ननिस्केपछि चीन वा भारत पढ्न जान मैले भनेको थिएँ । तर, उसले चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएएम०मै पढ्छु । त्यो पनि छात्रवृत्तिमै भन्यो ।’
उनलाई लगनशीलता र आत्मविश्वासले यो स्थानसम्म पुर्याएको थियो । त्यसैले उनले कहिल्यै हिम्मत हारेनन् । तीन वर्षपछि भएपनि उनले आईओएममै छात्रवृत्तिमा नाम निकाले र डाक्टरी पढे । छात्रवृत्तिमै उनी त्यहीँ एमडी पढिरहेका थिए । यसरी उनले हुर्काएको डाक्टर बन्ने सपनाका बिरुवा रुख भएर फल दिन थालेको थियो । तर, नियतिले उनलाई त्यो फल चाख्नै दिएन ।
चन्द्रबहादुर र सरस्वता सुवेदीको कोखबाट २०४२ साल माघ १० गते जन्मिएका उनले भर्खरै मात्रै ३० औं वर्षमा प्रवेश गरेका थिए । उनी जीवनको नयाँ लयमा अघि बढिरहेका थिए । २०६६ साल माघ २४ गते नर्स लक्ष्मी सुवेदीसँग विवाह गरेका उनी अबको दुई महिनामा सन्तानको पिता बन्दै थिए । तर, उनले कल्पेको सन्तान सहितको त्यो नयाँ संसार देख्नै नपाउँदै नियतिले उनलाई अर्कै संसारमा पुर्याइदियो ।
नर्स लक्ष्मीसँग उनले स्कुले जीवनको प्रेमलाई विवाहमा परिणत गरेका थिए । लक्ष्मीले मेचीमहाकाली नर्सिङ कलेज महेन्द्रनगरबाट स्टाफ नर्स र नागरिक कलेजबाट बिएन गरेकी हुन् । हाल उनी सुनौलो परिवार नेपालमा कार्यरत छिन् । वर्तमान गुमाएपनि लक्ष्मीलाई भविष्यले अघि बढ्ने प्रेरणा मिल्नेछ ।
डा सञ्जिवका सपना अबको लक्ष्मीले अबको दुई महिनामा जन्मिने सन्ततिबाट पूरा गराउँनेछिन् । उनमा यो दुःखलाई सामाना गरेर जीवनलाई नयाँ तरिकाले अघि बढाउने हिम्मत मिलोस् ।
साथी र आफन्तका अनुसार धेरै बोल्दैनथे डा सञ्जिव । उनमा सधैं नयाँ कुरा सिक्ने र जान्ने भोक हुन्थ्यो । सदा केही न केही कुराको जिज्ञासा बोकेर हिँड्थे । धेरै कुरा बुझ्न खोज्थे तर नियतिले उनलाई आफ्नै जीवनबारे प्रशस्त बुझ्ने मौका दिएन ।
शोससन्तप्त परिवारमा हार्दिक समेवेदना सहित हार्दिक श्रद्धाञ्जली डा सञ्जीव ।
![]() |
श्रीमतीका साथ सञ्जिव |






