इन्द्रेणी सम्वाददाता
दाङ, १३ फागुन
दाङमा यही फागुन १७ गतेदेखी फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक बिषेश कार्यक्रम सञ्चालन हुने भएको छ । उमेर पुगेपनि मतदाता नामावलीमा नाम दर्ता नगराएका तथा त्रुटी भएको सच्याउनका लागी फागुन १७ गतेदेखी चैत्र २३ गते सम्म कार्यक्रम सञ्चालन हुने छ । जिल्लाका ३१ गत.वि.स. र त्रिपुर नगरपालिकामा मतदाता नामावली संकलन तथा अद्यावधिक बिषेश कार्यक्रम सञ्चालन हुने निमित्त जिल्ला निर्वाचन अधिकृत शोभाकर उप्रेतीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार जिल्लाको हाँसीपुर,रामपुर र लोहारपानी गा.वि.स.मा फागुन १७ र १८ गते,लक्ष्मिपुर,स्यूजा र काभ्रे गा.वि.स.मा २० र २१ गते,धर्ना,सैघा र सौडियार गा.वि.स.मा फागुन २३ र २४ गते,फुलवारी,धनौरी र डुरुवा गा.वि.स.मा २६ र २७ गते मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सञ्चालन हुने छ । यस्तै गोल्टाकुरी,पञ्चकुले र मानपुर गा.वि.स.मा फागुन २९ र ३० गते, हेकुली,पुरन्धारा र बिजौरी गा.वि.स.मा चैत्र २ र ३ गते,श्रीगाँउ,सिसहनिया र पवननगर गा.वि.स.मा ५ र ६ गते,बाघमारे,लालमटिया र शान्तिनगर गा.वि.स.मा ८ र ९ गते,गढवा,गोवरडिहा र सतवरिया गा.वि.स.मा चैत्र ११ र १२ गते,कोइलावास,गंगाप्रस्पुर र राजपुर गा.वि.स.मा चैत्र १४ र १५ गते मतदाता दर्ता तथा अद्यावधिक गर्ने कार्य सञ्चालन हुने छ ।
मतदाता नामावली संकलन तथा अद्यावधिक बिषेश कार्यक्रम अन्तरगत चैत्र १७ र १८ गते त्रिपुर ८,१२ नम्वर वडा तथा बेला गा.वि.स. र १९ गतेदेखी २३ गते सम्म त्रिपुर नगरपालिकाको बिभिन्न वडामा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सञ्चालन हुने छ । जिल्लामा १६ बर्ष उमेर पुगेका तथा छुट भएका करिव ३६ हजार नागरिकहरुको फोटो सहितको नामावली संकलन गर्ने लक्ष्य सहित अभियान सञ्चालन गर्न थालिएको निमित्त जिल्ला निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म जिल्लामा दुइ लाख ६७ हजार एक सय ४० जनाको फोटो सहितको मतदाता नामावली संकलन भैसकेको छ ।
यसैविच फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यलाई सफल बनाउन जिल्ला निर्वाचन कार्यालयले सहायक नाम दर्ता अधिकारी,निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई आवश्यक तालिम तथा नियुक्तीपत्र दिएर फिल्डमा खटाई सकेको छ । सोमवार सहायक नाम दर्ता अधिकारी र मंगलवार निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालिम दिइएको छ ।
तालिममा मतदाता नामावली दर्ताको कानुनी प्रक्रिया,निर्वाचन आयोग,कार्यालय,सहायक नाम दर्ता अधिकारी,निशिका लगायतको काम कर्तव्य र अधिकारी,राष्ट्रिय परिचय पत्र लगायतका बिषयमा प्रशिक्षण दिइएको कार्यालयका कम्प्यूटर अपरेटर सागरभरत साहीले जानकारी दिनुभएको छ । सो अवसरमा जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत शोभाकर उप्रेतीले यसअघि गाँउ तथा नगरपालिकामा गएर नामावली संंकलन गर्ने कार्य अन्तिम पटक भनिएको भएपनि स्थानिय स्तरमाबाट नामावली दर्ता गराउन धेरै छुटेको गुनासो आएकाले मतदाता नामावली संकलन तथा अद्यावधिक बिषेश कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभएको छ ।।





