![]() |
| कृष्णबहादुर महरा |
पोखरा, २४ कार्तिक । एमाओवादी महासचिव कृष्णबहादुर महराले ‘नयाँ शक्ति’ जनता र साम्राज्यवादी दुवै पक्षलाई चाहिएको बताएका छन्।
एमाओवादी कास्कीद्धारा मंगलबार पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले उक्त कुरा बताएका हुन्। कास्की जिल्लाका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै महराले भने, ‘नयाँ शक्ति’ जनता र साम्राज्यवाद दुवैलाई चाहिएको छ। तर, कसको पक्षमा नयाँ शक्ति बनाउने त्यो मूख्य हो।’
उनले डा। बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको अभियानतर्फ संकेत गर्दै भने, ‘हामी पनि नयाँ शक्ति चाहन्छौं। तर, नयाँ शक्ति जनता र राष्ट्रको हित र चाहनामा आधारित हुनुपर्छ।
साम्राज्यवादको हित र योजनामा बन्ने नयाँ शक्तिको कुनै अर्थ छैन। साम्राज्यवादको गोटी बन्ने नयाँ शक्ति देशको आवश्यकता होइन।’
प्रशिक्षणमा बोल्दै महराले एमाओवादी नयाँ राजनीतिक कार्यनीतिका आधारमा अगाडि बढ्ने स्पष्ट पारे। ‘चुनवाङको कार्यनीति संविधानको घोषणाले पुरा भएको छ। अब नयाँ राजनीतिक कार्यनीति बनाएर पार्टी अगाडि बढ्छ।’ एमाओवादी पार्टी पूनर्निर्माणको गृहकार्यमा रहेको दावी गर्दै उनले भने, ‘हामीले बृहत समीक्षा गर्दैछौं। मंसीर १० गतेबाट बस्ने केन्द्रीय समितिको बैठकले पार्टीलाई रुपान्तरण गर्छ।
विभाजित माओवादी आन्दोलनलाई एकतावद्ध पार्ने योजनामा रहेको दावी गर्दै महराले भने, ‘एक चरण माओवादी आन्दोलनमा विभाजन देखा प¥यो। तर, अब ध्रुविकरणको चरण सुरु भएको छ। माओवादीहरुको एउटै केन्द्र बनाएर कम्युनिष्ट केन्द्र बनाउने दिशामा अघि बढ्छौं।’ नयाँ संविधानमा समावेशी लोकतन्त्रको पूर्ण सम्बोधन नभएपनि माओवादी एजेण्डा सम्बोधन भएकाले पार्टीले संविधानको स्वामित्व लिनुपर्नेमा महराको जोड थियो। उनले थपे, ‘अहिलेको संविधान बुर्जुवा संसदीय गणतन्त्रको संविधान हो। यसले परिवर्तनलाई पूर्ण सम्बोधन गर्न सकेको छैन। तर, जनयुद्धको जीत भएको छ। तसर्थ, संविधानको स्वामित्व लिन चुक्नु हुँदैन।’
प्रशिक्षणपछि महराले जिल्लाका नेता, कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए।
अन्तरक्रियामा तपाईको रोल्पा र काठमाडौंमा घर भएको समाचार सार्वजनिक भएको छ नि रु भनी सोधिएको प्रश्नमा महराले भने, ‘रोल्पाको भत्केको घर मेरो हो। काठमाडौंको महल जसको हो उसैलाई प्रश्न गर्नुहोला।’ महराले शान्ति प्रक्रियाले नेता, कार्यकर्ताको आदर्शमा स्खलन आएको भन्दै अब त्यसको अन्त्य हुने दावी गरे।
प्रशिक्षण कार्यक्रममा एमाओवादी पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारी, केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, नेताहरु झलकपाणि तिवारी, रामराज रेग्मी, जिल्ला अध्यक्ष दीपक कोइराला, सांसद तेजकुमारी पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।





