पूर्वसभामुख तारानाथ रानाभाटले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई औपचारिकरुपमा कानून पढेको छैन भन्दैमा हीनतावोध नराख्न सुझाव दिएका छन् ।
‘कानूनमन्त्रीले औपचारिक रुपमा कानून पढेकै हुनुपर्छ भन्ने छैन, सभामुखको हकमा पनि कानून नपढेको व्यक्तिले पनि चलाउन सक्छ’ पूर्वसभामुख रानाभाटले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘तर, कानून नपढेको व्यक्तिले सभामुखको जिम्मेवारी निभाउँदा अलि बढी मिहेनत गर्नुपर्छ ।’
नयाँ सभामुख ओनसरीलाई तपाईका सुझाव के छन् भन्ने अनलाइनखबरको प्रश्नमा रानाभाटले भने- ‘सबैभन्दा पहिले उहाँलाई मेरो शुभकामना छ, पहिलो महिला सभामुख बन्नु देशकै गर्वको कुरा हो । तर, उहाँले मेरो पार्टी, मेरो जात र मेरो समुदाय नभनी पदको गरिमालाई राष्ट्रिय, अन्तरराष्ट्रियरुपमा बचाउनुपर्छ ।’
सभामुखका अप्ठ्यारा
दुईपटक कानूनमन्त्री भइसकेर सभामुखको जिम्मेवारी निभाएका र कानूनका विद्यार्थीसमेत रहेका पूर्वसभामुख रानाभाटको अनुभवमा सभामुख पद सजिलो जिम्मेवारी होइन ।
अझै अहिले त संविधान कार्यान्वयनको चरणमा दुईसय भन्दा बढी कानूनहरु बनाउनुपर्ने बेला भएकाले सभामुखको जिम्मेवारी झनै जटिल छ ।
नयाँ सभामुख घर्तीलाई सुझाव दिँदै रानाभाटले भने- ‘कानूनका अक्षरहरु हेर्दा त्यसले पार्न सक्ने प्रभावका विषयमा पनि विश्लेषण गर्न सक्नुपर्छ । त्यसैले ओनसरीजीले योग्यतम् मान्छेहरुको सहयोग लिएर काम गर्नोस्, कर्मचारीहरु पनि मुख सुँघेर काम गर्छन्, उनीहरुले खेल्न नपाउन् ।’
आफू सभामुख बनेका बेला विपक्षी दलबाट सहयोग पाएको तर, आफ्नै दलका साथीहरुले असहयोग गरेको रानाभाटले स्मरण गरे । सत्तापक्ष र सरकारले सभामुखलाई आफ्नो प्रभावमा राख्न खोज्ने तर सभामुखले यो संस्थालाई स्वायत्त बनाइराख्नुपर्ने उनले बताए ।
उनले भने- ‘पञ्चायतकालमा जस्तै सभामुख पदलाई निरीह बनाउनदिनु हुँदैन, यसलाई स्वायत्त बनाइराख्नुपर्छ, जुन परम्परा मैले जोगाएको थिएँ ।’





