ताजा अपडेट

...


गाँउको मुहार फेर्दै मगर सामुदायीक होमस्टे




धनिराम शर्मा

देशको पहिलो पूर्ण आनीबानी परिवर्तन गाँउ घोषणापछि स्वर्गद्वारी धनबाङका स्थानीयले  पूर्ण  आनीबानी र सरसफाईलाई  जीवन रुपान्तरण गर्न गाँउ पर्यटनमा पाइलो चालेका छन् । विसं २०६९ असारमा देशको पहिलो पूर्ण आनीबानी परिवर्तन गाँउ घोषणापछि उनीहरु गाँउ पर्यटनमा जोड दिन थालेका हुन् । स्थानीयको पहल र लगानीमा यतिबेला गाँउ पर्यटनले विस्तारै बामे सर्दैछ । स्थानीय कला सीप उत्पादन इत्यादीको स्वाद लिने पर्यटक पुग्ने गरेका छन् , गाँउमा पर्यटक पुग्न थालेपछि स्थानीयको  आर्थिक जीवनमा  पनि रुपान्तरण हुदै गएको उनीहरुले बताएका छन् ।
मगर सामुदायिक होमस्टे संचालन गरेर उनीहरु यतिबेला गाँउ पर्यटनमा जुटेका छन् उनीहरु । आधारभूत पर्यटन शिक्षा दिन थालिएको छ गाँउमा । कला संस्कृति संरक्षण सम्वद्र्धन गर्न सबैको हात मिलेका छन् । पर्यटनको बुझाइमा एकरुपता सामाजिक एकता नै उनीहरुको सरसफाई पछिको गाँउ पर्यटन नयाँ उपलब्धी बनेको छ ।  गाँउ पर्यटनका लागि स्थानीय सीप कला संस्कृतिको जर्गेना गर्दै पाहुनालाई देखाउन उनीहरु लागि परेका छन् । एक वर्षको अवधिमा उनीहरुले सयौ पाहुनालाई स्थानीय स्वादको आनन्द दिएका छन् । धनबाङ पुग्ने जो कोही पाहुनाले नयाँ स्वाद लिएर फर्कन्छन् अतिथिको आकर्षणका लागि उनीहरुको आफ्नै व्यवस्था छ । पाहुनाई स्वागत सत्कार नाच गान इत्यादीको आनन्द दिन सांस्कृतिक स्वागत समूहरु निर्माण भएका  छन् ।  गाँउको प्रवेशद्वारमा मगर्नी तरुनाहरु थालीभरी टिका र फूलामाला  लिएर स्वागत गर्न आइपुग्छन् मखमली चोली र घलेक भिरेका मगर्र्नी  तरुनाहरुको मिठासपूर्ण सत्कार अनि सरसफाइयुक्त गाँउ अनि प्रकृतिका अनुपम सुन्दरताले जो कसैलाई स्वर्गिय आनन्द दिने गर्दछ ।  मगर सांस्कृतिक जीवन कला संस्कृति खेतीपाती प्रणाली नै पर्यटका आकर्षण बन्ने गरेका छन् । स्थानीय अनाजको परिकारको भोजन अनि बेलुकी मारुनी, पैसेरु, ठाडे भाकाका स्वर र संगितले जो कोहीलाई पनि लोभ्याउने गर्दछ । शहरको उराठ निरश पत्यारो लाग्दो जिन्दगीको केही पल यहाँ विताउदै मानिसले सुखानुभूतिको महशुस गर्न सक्छ । सरसफाईको उत्कृष्टता र स्थानीय सीप कला स्थानीय उत्पादनले मानिसलाई बडो आनन्द दिने गर्दछ ।

सरसफाईले समृद्ध यस गाँउमा पुग्ने पर्यटकले अतिथिको न्यानो स्वागत पाउने गर्दछन् । गाँउ पुग्ने पाहुनालाई स्वागत गर्न स्थानीयहरु प्रतिक्षारत देखिन्छन् । सामाजिक विकृति कोलाहल झै झगडा बेमेल र अशान्त गाँउमा कसैले अनुभव गर्न पाँउदैन । धनबाङमा एक रात विताउने पाहुन पुनः भ्रमण लागि पुग्ने गरेको तथ्याँक छ । धनबाङ पुगेका भरत सिंहले धनबाङको प्राकृतिक सामाजिक सांस्कृति सुन्दरताको तारिफ गरे । देशभरका पर्यटकीय गाँउ घुमेका सिंह कन्चनपुरबासी हुन् उनले यहाँको पर्यटनको सम्भावना प्रवल रहेको बताए । उनले भने  यसको मुल कारण अतिथिदेवो भव नै हो । दुर्गम भएपनि स्थानीयको सामुहिक एकताले गाँउ पर्यटनमा प्रगति भैरहेको छ । पुरानो पुस्तासंगको मौलिक सीप कला संस्कृति नै अनुपम निधि भएको उनले बताए । यसको थप विकासको लागि राज्यको  विशेष पहल आवस्यक छ सिँहले भने ।
पूर्व दक्षिणमा स्वर्गद्वारीको धार्मिक क्षेत्र उत्तरतर्फ माण्डवी नदीको निलो वहाव अनि माथि तिर नजर लगाए धवलागिरी हिमश्रंखला नजिकै गुराँसले सजिएका हरिया वन गाँउका सुन्दरताको विम्वहरु हुन् । यति मात्र होइन गाँउमा सरसफाई अनि मिठास बोली  व्यवहार र मगर संस्कृति पर्यटकको आकर्षण बन्दै गएको छ । सरसफाइयुक्त गाँउ अनि प्रकृतिका अनुपम सुन्दरताले सजिएको यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको गतिलो गन्तव्य बन्दै गएको हो  । 
एक सय साठी घर रहेको गाँउमा अधिकांश मगर छन्, मगर संस्कृतिको संरक्षणसंगै प्रर्वद्धनमा उनीहरु लागि परेका छन् । स्थानीयको लगानीमा संस्कृति संरक्षण भइरहेका छन्, होमस्टे संचालन गर्न न्यूनतम एक लाख लगानी गरिसकेको होमस्टे संचालकहरु बताँउछन् । तर सरकारी तथा गैर सरकारी निकायहरुको सहयोग छैन । तैपनि स्थानीयको पहलमा गाँउमा १३ घरमा होमस्टे चलाइएको छ । गाँउमा होमस्टे चलेपछि पाहुनाहरुको पनि चाँप बढेको स्थानीय अगुवा भीमबहादुर रानामगरले  बताए । सरकारी सहयोग छैन , छ भनौ भने सांसद विकास कोषको एक लाख रुपैयाले आधारभुत तालिम संचालन गरेका छौ । तालिम पछि सदस्यहरुमा नयाँ जोश थपिएको छ उनले भने। सरकारले सहयोग नगरेपनि हामीले गाँउको मुहार फेर्न कम्मर कसेका छौ, गाँउलाई एकतावद्ध गर्दै अगाडि बढेका छौ, विस्तारै पाहुना आउनेक्रम पनि बढेको छ त्यसैले हामीलाई हौसला मिलेको हो । गाँउ पर्यटनबाट आर्थिक सामाजिक परिवर्तन गर्ने गाँउको संकल्प भएको रानामगरले बताए, तैपनि पर्यटन मन्त्रालयमा कुराकानी भैरहेका छन् सहयोग हुने आश्वासन पाएका छौ उनले भने । सडक संचार विद्युत लगायतका आवस्यक पूर्वाधार अझै पुरा हुन सकेको छैन तैपनि पहल गरिरहेको उनले बताए ।

  घरबास कार्यक्रम संचालनपछि आन्तरिक पर्यटकले धनबाङमा रात कटाउन थालेका छन् । मगर सामुदायीक होमस्टे संचालन पछि  स्वर्गद्धारी पुग्ने पर्यटकले  स्थानीय कला सांस्कृतिक प्रस्तुतीको आनन्द लिन सक्छन् । अतिथिले  मारुनी नाँच, सालैजो, मगर थाडे भाकाका सांस्कृतिक स्वाद, स्थानीय अनाजका परिकार, लोकल कुखुरा, पुदिना टिमुरर कापुको चट्नीको रसस्वादन लिने गर्दछन् यति मात्र होइन  उत्तरतर्फ धवलागिरी हिमश्रंखलाको दृष्य दक्षिण पूर्वतिर स्वर्गद्धारी प्रभूको आश्रम स्थल, बसन्त ऋतुमा फूल्ने रंगिन गुँरासको जंगल अवलोकन इत्यादीले जो कोहीलाई नतमस्तक बनाउछ ।
तर अपूरो पूर्वाधार कारण अपेक्षाकृत रुपमा पर्यटकलाई भित्र्याउन नसकिएको स्थानीयहरुले स्विकारेका  छन् । सरकारले गाँउमा पुग्ने सडकको सुधार , मगर संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न लगानी गर्न आवस्यक भएको उनीहरुको माग छ ।सरकारले स्वर्गद्धारीसम्म पुग्ने सडक केबलकार संचालन गर्न सके गाँउ पर्यटनको माध्यमबाट आसपासको स्थानीयको जीवन सुधार गर्न सकिन्छ यतिमात्र होइन , स्थानाीय उत्पादन कला संस्कृतिको संरक्षण संवद्र्धनबाट आर्थिक सामाजिक रुपान्तरणले गति लिने निश्चित छ, स्थानीयको लगानीबाट थालिएको पर्यटनको अभियानलाई राज्यले साथ दिन सके ।





।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.