ताजा अपडेट

...


साङ्गितिक क्षेत्रकी चम्किलो तारा रिता




 केशरमान बिसी

नेपाली  साङ्गीतिक आकाशमा राप्ती क्षेत्रबाट असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् ।

सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल दङाली युवा प्रतिभा हुन्– गायिका रिता केसी ।

दाङ टरिगाउँमा जन्मिएर स्थानीय भाका गुञ्जाउँदै फ्रकभरि गुच्छा र बल्ड्याङ्ग्रा खेलाउँदै बबईको तिरैतिर साथीहरुसँग रमणीय यात्रा गर्दै बाल्यकाल बिताउँदा थाहा थिएन रितालाई भोलि गएर आफू यति ठूलो गायिका बन्छु भनेर ।

समय बितेको पत्तै नपाई दाङकी चेली रिता अहिले देशकै चेली भइसकेकी छिन् । तर गायन क्षेत्रको यो उचाई र अवस्थासम्म आइपुग्न उनले निकै हण्डर र कठोर साधना गरेकी छिन् ।

स्वरलाई बरदान मान्ने रिता कठोर साधनाका बाबजुद आज चर्चित गायिका बन्न सफल भएकी छिन् । उनलाई सफल र व्यावसायिक गायिका बन्न स्वर मात्र भएर पुग्दैन । स्वर प्रमुख कुरा भए पनि साधना, रुपरङ र पर्फमेन्स पनि महत्वपूर्ण कुरा हो । हो त्यो उपहार पाएकी छिन् रिताले ।

तिमी आयौ मधुमास आयो बोलको फिल्मी गीतबाट रेकर्डिङ करियर सुरु गरेकी रिताले अहिलेसम्म करिब १ सय ५० जति चर्चित गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन् । गुन्यो चोली कता फालिछ्यौ, भन के–के गर्नुपर्छ तिम्रो साथ पाउनलाई जस्ता चर्चित गीतहरुमा स्वर दिएर नेपाली स्रोता, दर्शकको अपार माया पाएकी रिता संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।

गीतसंगीतको उर्वरभूमि दाङमा जन्मिए पनि कर्मथलो काठमाडौंलाई बनाएकी रिताले भूगोल, धर्म र संस्कृतिलाई आधार बनाएर गाउन खोज्ने जो कोहीलाई पनि व्यावसायिक भन्न नमिल्ने बताउँछिन् । शब्द र संगीतको तादाम्यबाट उत्कृष्ट स्वर दिने गायक गायिका मात्र व्यावसायिक कलाकार हुन् भन्ने धारणा छ उनको ।


आफ्नो जन्मथलोप्रति अगाध माया राख्ने रिता जुन ठाउँमा गए पनि राष्ट्र र राष्ट्रियता र जन्मभूमिको उच्च सम्मान गर्ने बताउँछिन् । आधारभूत शिक्षा दाङको एक सरकारी विद्यालयबाट पूरा गरेकी गायिका रिता उच्च शिक्षा भने काठमाडौंमै लिएको बताउँछिन् ।

अहिले त्रिवि काठमाडौंबाट संगीतमा स्नातकोत्तर गरिरहेकी रिताको गायन क्षेत्रबाट चरमचुलीमा पुग्नु जीवनको अभिष्ट हो ।

दिदी मिना केसीको अमूल्य सहयोगले गायन क्षेत्रमा जम्न सफल सुन्दर गायिका रिता केसी अग्रज गायिका कोमल ओली र सिन्धु मल्ललाई आफ्नो आदर्श व्यक्ति ठान्दछिन् ।

आफूलाई भर्सटाइल गायिका भन्न रुचाउने उनले नेपाली गीतका साथै भोजपुरी, थारु र हिन्दी गीतहरुमा समेत स्वर दिएकी छिन् । आकर्षक जिउडालकी धनी रिताले गायन क्षेत्रबाट सिद्धहस्त गरेबापत ‘राप्ती अवार्ड पाश्र्व गायन’, ‘राप्ती अवार्ड आधुनिक गायन’लगायत थुप्रै अवार्ड तथा पुरस्कार जित्न सफल भएकी छिन् ।

लक्ष्मी र सरस्वती दुबैले साथ दिएकी नेपाली सांगीतिक क्षेत्रमा चर्चित र व्यस्त गायिका रिता केसीका साङ्गितिक कोषेलिहरुले नेपाली बजार तताएका छन।  

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.