पाण्डव शर्मा
कार्तिक ११, घोराही । सरकारले तुलसीपुर–पुरन्धारा–सुर्खेत सडक खण्डका लागि चालु आर्थिक वर्षमा ११ किलोमिटर खण्ड कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।
यसका लागि ८ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका प्रमुख ज्ञानेन्द्रकुमार झाले जानकारी दिए । गत आवमा ८ किमि खण्ड कालोपत्रे गर्ने लक्ष्य भए पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको उनले जानकारी दिए । ‘हामीले सार्वजनिक सूचना मार्फत निर्माण कम्पनीलाई समयमै काम सम्पन्न हुन नसक्नुको कारण पेश गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘गत आवमा ५ किलोमिटर खण्डमा कालोपत्रे अघि निर्माण गरिने वेसको काम भने सम्पन्न भइसकेको छ ।’
चालु आवमा गत आव लक्ष्य अनुसार कालोपत्रे गर्न नसकिएको ८ किमि र थप ३ किमि खण्डमा कालोपत्रे गरिने छ । गत आवमा कालोपत्रेको काम सम्पन्न हुन नसक्दा करीव २ करोड रुपैयाँ फ्रिज भएको झाले जानकारी दिए । गत अवामा ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
दाङ–सुर्खेत सडक आयोजनाकै रुपमा आर्थिक वर्ष २०७०÷०७१ देखि यस सडकको काम शुरु भएको हो । यस अघि विभिन्न निकायबाट सडकको ट्रयाक खोल्ने काम भएको थियो । ‘अहिले सडकको ट्रायाक पूर्ण रुपमा खुलिसकेको छ,’ कार्यालयका सूचना अधिकृत कल्पना अधिकारीले भनिन्, ‘कुल ७४ किलोमिटर मध्ये ६० किमि खण्ड दाङ डिभिजनले हेर्छ ।’ चालु आवमा सडक चौडा पार्ने, कजवे , ग्राभेल, ग्याविन, पक्की नालि लगायतको काम गरिने छ ।
‘असोजभित्र कालोपत्रे गरिसक्ने ठेक्का सम्झौता भएको थियो,’ अधिकारीले भनिन् ‘डिभिजनले कालोपत्रेका लागि निर्माण कम्पनीसँग १५ महिने सम्झौता गरको थियो ।’ बहुवर्षे योजना भएकाले सरकारले बजेट उपलब्ध गराए अनुसार कामहरु हुने अधिकारीले जानकारी दिइन् । ‘पातुखोला र सारदा खोलामा पुल निर्माण भइसकेकाले अहिले नै गाडी सजिलैसँग सञ्चालन गर्न सकिन्छ,’ उनले भनिन्, ‘सडक कालोपत्रेपछि सहज रुपमा यातायात सञ्चालन गर्न सकिने छ ।’
सो खण्डमा ७ देखि १० मिटर चौडा पार्ने काम भएको छ । साढे ५ मिटर कालोपत्रे गरिने छ । तुलसीपुर–पुरन्धरा–सुर्खेत सडक सञ्चालन पछि पश्चिम नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाई छ । तुलसीपुरबाट अमेलिया हुँदै सुर्खेत पुग्नको लागि १ सय ८८ किलोमिटर पर्छ । तर, सुर्खेत–तुलसीपुर खण्ड सञ्चालन आएपछि अहिलेभन्दा करीब ७० किमि छोटो दूरी पर्ने कार्यालयले बताएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले पूर्वाधार निर्मणमा ढिलाई हुँदा मुलुकको विकासको गति अपेक्षाकृतिरुपमा अघि बढ्न नसकेको बताए । ‘जति ढिलो यस्ता सडकहरु निर्माण हुन्छन्, त्यति नै राज्यलाई घाटा पुग्छ,’ उनले भने, ‘समयमै निर्धारित काम गर्न नसक्ने निर्माण कम्पनीहरुलाई राज्यले कागजमा मात्र होइन व्यवहारमै कारवाही गर्नुपर्छ ।’ दाङ–सुर्खेत सडक निर्माणसँग यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदा पुग्ने रिजालको भनाई छ । सुर्खेत जान निकै दुरी घट्ने भएकाले इन्धनको बचत हुने उनले बताए ।




