![]() |
| सीमा आचार्य |
चुरीले घरको चुलोका संकेत गरेको अनुभव गर्दै मनमनै विश्लेषण गर्छु, क्यामेराले पेशाको दायित्व चलाएको छ, के गाँउ के शहर क्यामेराको नजरमा कोरिरहेका छन्, हजार घण्टा बढी लामो दुष्य पकडिएछ , सयौ मानिसको विचार अभिमतको भण्डार भएछन् जिन्दगीमा । जीवन र जिन्दगी फरक रहेछ, जीवन आत्मा रहेछ जिन्दगी भौतिक शरिर रहेछ, आत्माको निर्देशनमा जिन्दगी चल्छ भन्छन्, जीवनको तिता र मीठा अनुभवले सिंगारिएको जस्तो लाग्छ मलाई । पंक्तिकारले हजारौ अनुहारहरु कैद गरे होला तर उसको कथा अझै कोरिएको छैन होला सायद । मलाई लाग्छ उ पहँुच भन्दा बाहिर भएर होला ,जे होस पंक्तिकारले छाँयाकन गरेका हजारौ दृष्यहरु टेलिभिजन सेटमा ठोकिएका छन् । यसैमा गर्व छ ।
फिल्ड रिर्पाेटिङको छाँयाकन, होस या औपचारिक कार्यक्रमको छाँयाकन, छाँयाकनका आधारभूत प्रविधिको एउटा मात्र टुटेछ भने छाँयाकन पूर्ण असफल बन्छ । शारिरीक समस्या, प्राविधिक समस्या प्रत्येक पलमा देखा पर्छन् यी यस्तै धेरै समस्याको बाबजुत पनि प्रविधिसंगै खेल्दै, शारिरिक तथा पारिवारिक बोझको बीचबाट दिन चलिरहेका छन् । रुकुम, प्यूठान, सल्यान, रोल्पा र दाङका धेरै विकट गाँउमा मेरा यी पाइलाहरु पुगेका छन् गाँउ पुग्दा महिलाले क्यामेरा समाएको देख्दा मानिसहरु पत्यार गर्न गाह्रो मानिरहेका हुन्छन् । आफन्तीले भिडियो शुट गरेको देख्दा अनौठो माने जस्तो गर्दछन् , कमै विश्वास गरे जस्तो प्रतिक्रृया दिन्छन् । एकातिर नेपाली समाजको फितलो बुझाई अर्काेतिर व्यवसायीक बाध्यता यति मात्र होइन एक जिम्मेवार आमाको भूमिकासंगै जीवनमा यावत समस्या छिचोल्दै चुरी र क्यामरासंगै चलेछ जिन्दगी ।
घरमा खुशी बाँट्ने महिला नै हो भन्छन् तर विशेष चाड वा उत्सव सबै माया मारेर भएपनि फिल्डमा । घरायसी जोहो गर्ने सन्तानको पढाई लेखाई अनि अभिभावक बनेर विद्यालयमा बच्चाको चिन्ता चासो । चुलो चौकोमा चुरी बजाउदै गासको मेलो मेसो अनि सटरपटर गर्दै फिल्डमा न्यूज छाँयाकन या कार्यक्रम छाँयाकनको हतर पतर । कहिले भोक, प्यास , असिने पानी, हावा हुरी त कहिले थकाइ दुखाईको वर्षा नै हुन्छ । कहिले लामो हिडाई क्यामेरा काँधमा, उकालो ओरालो त कहिले थोत्रो बाइकमा क्यामेरा जतन गर्दै सुइकुच्चा ठोक्दै, निराशा र पत्यार लाग्छ, पत्यार र थकाइले तन र मन चिथुरीरहेको बेला गाँउ र दुर दराजका मानिसको स्वागत र सम्मानले छाती फूलेर आँउछ, असहज पीडा दुःख सबै निमित्यान्नै हुन्छ । यति मात्र होइन छोरी मान्छे पनि यसरी हिड्नु भाछ भन्दै प्रश्नै प्रश्नको चाङ नआएको पनि होइन । तैपनि सहजै मिठासमा जवाफ जाने गर्दछ अनि मानिसहरुले बुझ्न थाल्छन् अनि भन्न थाल्छन् महिलाले चाहे जे पनि गर्न सक्छन् । समाजका यस्ता अभिव्यक्तिले अझै प्रेरेणा मिलेको महशुस हुन्छ । यद्यपी यस समाजका ठूला भनिएकाहरुले उत्साह प्रेरेण दिउन या नदिउन यो मेरो सरोकार त छैन । तर मानिसको प्रगतिका लागि प्रेरेणा र उत्साह पनि खाँचो हुन्छ । तर स्वार्थी समाजको स्वार्थी चिन्तनले हामी जस्ता श्रममा विश्वास गर्ने महिलाका लागि ती मानिसहरु आफन्त जस्ता बन्दा रहेनछन् ।तैपनि कुनै चिन्ता र तनाव भने छैन ।
एउटा जिम्मेवार क्यामरापर्सनको मुख्य चिन्ता फिल्डमा पुगे कति राम्रो भिजुअल गर्ने भन्ने हुन्छ । लङ शुट प्यान, एन्गल, जुम, कलर त्रिपेट, लेन्स,इत्यादी आधारभूत विषय सधै जरुरी भैराख्छन् । टेलिभिजनभित्र छिरिसकेपछि हेभी क्यामेरा नै चलाई रहेछु, वजन र प्राविधिक हिसाबले अप्याठ्यारो नै हुन्छ , तैपनि आधारभूत सीपको उपयोग गर्दै मोफसलको व्यूरो धानिएको छ । यतिमात्र होइन आफैले शुट गरेको दृष्य बाइट क्याप्चर र आधारभूत सम्पादनमा समेत हात हालिएको छ ।
अन्तमा मेरो जीवन चुरी र क्यामेराको अन्तरनिहित सम्बन्ध जोडिएको छ, घरको चुलो चौकोदेखि फिल्डको छाँयाकन अनि जीवन गुजारा भैरहेका छन्। मोफसलमा बसेर टेलिभिजनको प्राविधिक पाटो थामिरहेको छु,औपचारिक अध्ययन प्राविधिक पाटो मेरो होइन तर पारिवारीक बाताबरण समय परिस्थितिले जुराइदिएपछि काम गरी खान थालिएको हो । बा आमा बाउ बाजेले कल्पना पनि नगरेको पेशा र जिम्मेवारीको यात्रा आधा दशक हुदेैछ, मलाई विश्वास छ,सबै पक्षले साथ दिएमा मोफसल होस या राजधानीमा बसेर पनि म काम गर्न सक्षम र सवल छु भन्ने लागेको छ । सीपलाई विक्री गरेर आर्जन गर्ने जीवन र परिवारको दैनिकी चलाउने अभियान जारी नै छ । समाजमा महिलाले पनि यो क्षेत्रमा आफ्नो सीप प्रदर्शन गरेर बाँच्न सक्छन् भन्ने मुद्दालाई पनि स्थापित गर्ने मेरो चाहना छ । तसर्थ सीपले समृद्ध बनौ अरुको भर होइन आफ्नै सीप र पसिनामा निर्भर बनौ, यसैमा महिलाहरुको हित छ, भविष्य छ ।
लेखक -एबीसी टेलिभिजनको क्यामेरापर्सन हुनुहुन्छ ।





