![]() |
| धनिराम शमा |
पर्यटन उद्यमीकरणका लागि ठोस नीति र कार्ययोजना भएमा त्यसले आकार ग्रहण गर्दछ, दीर्घकालीन अल्पकालिन योजना निर्माण गरि योजना र कार्यक्रम निर्माण हुन सके पर्यटन उद्यमीकरणमा परिणाम हात पार्न सकिन्छ, त्यस्का लागि सैद्धान्तिकरुपमा पर्यटनको विषयमा स्थानीय समुदायमा सचेतनामूलक जानकारी हुन आवस्यक हुन्छ, पर्यटकीय पहिचानपछि पँहूच र सेवा सुविधाको सही सूचनाको विकास गरिनु पर्दछ । यति मात्र होइन स्थानीय तथा राष्टिय महत्व राख्ने हाम्रो मौलिक मूर्त या अमूत कला संस्कृति पहिचान उत्पादनका वस्तु वा सेवाको प्रवद्र्धन हुन नसक्ता पर्यटकीय वैभवताहरु ओझेलमा परेका हुन् । सामान्यतया पर्यटन हुनका लागि आधारभूत रुपमा आकर्षण पहँुच र सेवा सुविधाहरुको विकास हुनुपर्छ, यद्यपी आकर्षण गर्र्ने मूर्त या अमूर्त सम्पदाहरु (त्बलनष्दभि ७ क्ष्लतबलनष्दभि ज्भचष्तबनभ) पहिलो प्राथमिकतामा पर्दछ, त्यस्को पहिचान गरि पर्यटकीय संभाव्यताको पहिचान र सही योजना निर्माण हुन नसकेपछि पर्यटन प्रवद्र्धनमा रोल्पा पछिल्लो लाइनमा देखिएको उनीहरुको मत छ ।
किङडम अफ मगर कल्चरले परिचित रोल्पा राप्ती अंचलको एक पहाडी जिल्ला हो, समुद्री सतहबाट ७०१ मीटर उचाइदेखि ३ हजार ६ सय उन्चालिस मीटर अग्लो भूभागमा फैलिएको छ, उच्च पहाडी वनस्पति जंगली जनावरहरुको बासस्थान रहेका जलजलाका आसपासका घना जंगल पर्यटकका लागि महिनौ रमाउने स्थान हुन् । समग्र राप्तीको दृष्यवलोकन गर्न मात्र होइन बसन्तमा फूल्ने अनेक थरिका गुराँश र गृष्ममा फूल्ने बुकी फूलले पाहुनालाई लठ्ठै बनाइदिन्छन्, वर्षमा तीन महिना हिँउ जम्ने जलजला( धरमपानी) अजंग बनेर रोल्पालीहरुको वीरता र सौर्यताको इतिहास निर्माण गरेको मात्र होइन बर्तमानमा अवलोकन गरिरहेको हुन्छ । गृष्ममा बुकीले सिंगारिने जलजलाका घाँसे मैदान जस्ता साना साना खोँचहरुले पाहुनासंग लुकामारी खेल्ने गर्दछन्, यति मात्र होइन जलजलासंग वीरताको इतिहास साक्षी बनेर कोरिएको छ, राजनैतिक परिवर्तनको साइनो जोडिएको जलजला युद्ध पर्यटनको गतिलो गन्त्व्य हो । प्राकृतिक पर्यटन मात्र होइन युद्ध पर्यटनको संकेन्द्र बनेको रोल्पाको जलजला र त्यस्को आसपासको मगरबस्तीहरु सांस्कृतिकरुपले निकै समृद्ध छन् । यद्यपी ठोस योजनाको पर्खाइमा मूर्त या अमूर्त सम्पदाहरु हराउने खतरा जिवितै छ । रोल्पालीको मात्र होइन समग्र राप्तीबासीका अमूल्य निधी भएपनि संरक्षण र सम्वद्र्धन अभाव छ ।
रोल्पा पर्यटकीय वैभवताले समृद्ध भएपनि जिम्मेवारहरुको बेवास्ताका कारण रोल्पामा अपेक्षाकृत प्रवद्र्धनात्मक काम हुन नसकेको साहित्यकार रमेश सुवेदी बताउनुहुन्छ । राप्ती साहित्य परिषदका केन्द्रिय सचिव समेत रहेका सुवेदीले भन्नुभया,े धार्मिक,सांस्कृतिक तथा युद्ध पर्यटन , प्राकृतिक वैभवपूर्ण पर्यटकीय गन्तव्यहरु छन् । पछिल्लो चरणमा रोल्पाबाट शुरुभएको जनविद्रोहले पनि रोल्पालाई संसारभर परिचित गरायो, प्राचिनकालबाटै मौजुद रहेका तथा पछिल्लो चरणमा थपिएका युद्धपर्यटनका गन्तव्य प्रशस्त मात्रामा छन्, तथापि चाहेजस्तो पर्यटनको विकास हुनसकेको छैन । पर्यटनको विकासमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति,यहाँबाट प्रतिनिधित्व गर्ने सभासदहरु, राजनीतिक दल तथा नागरिक समाज सबैको उत्तिकै जिम्मेवारी हुन्छ,। रोल्पामा पर्यटनको विकासको लागि आन्तरिक तथा बाह्य दुवै बजेटले पर्यटनलाई प्राथमिकता दिएजस्तो लाग्दैन । पर्यटनको लागि समग्र पर्यटकीय गन्तव्यहरुको प्याकेजमै विकास र प्रबद्र्धनको लागि अध्ययन तथा अनुसन्धान हुनसकेको छैन । यसको लागि पर्यटन विकासको गुरुयोजना निर्माण गरी त्यसै अनुसार क्रियाकलाप संचालन गर्न सके पर्यटनको विकासको पाँग्रो अघि वढ्न निश्चित भएको उहाँको विचार छ ।
जलजलालाई केन्द्र विन्दु बनाएर रोल्पाको पर्यटकीय गन्तव्य र त्यहाँसम्म पुग्ने रुट निर्धारण, पाहुनाको गासबास संचार इत्यादीको विकास गर्न आवस्यक छ, त्यस्लाई आधार मानेर रोल्पामा सडक संजालको विकास र विस्तार भएको छ पछिल्लो दशक यता । पर्यटन विकासको एउटा गतिलो पूर्वाधार सडक भएकोले यस्को विकास र विस्तार विना पर्यटन प्रवद्र्धन सम्भव हुदैन । जिल्ला विकास समिति गाँउ विकास समिति सडक विभागहरुको सडक निर्माणमा ध्यान तानिएको छ । हालसम्म ६ सय अन्ठाउन्न किलोमिटर सडक रोल्पामा खुलेका छन् । करिब पचास किलोमिटर स्तरोन्न्ती(कालोपत्रे) भएको छ । एक नगरपालिका र ४९ गाविस रहेको रोल्पामा हालसम्म उवा गाविस बाहेक सबै गाविसमा हिउदमा सवारी साधन गुड्ने गरेका छन् । होलेरीदेखि थबाङसम्मको शहिदमार्ग १ सय अठार किलोमीटर छ , लिबाङ–घर्तिगाँउ ३७ किलोमिटर, सुलिचौर– गाम ३६ किलोमिटर, सुलिचौर – फुलीबन( थबाङ पुग्ने सडक) २७ किलोमिटर, लिबाङ –होलेरी ६० किलोमिटर, होलेरी –सूर्पाल १५ किलोमिटर, माडीखोला घोडागाँउ – सुर्पाल ९ किलामिटर, सुलिचौर –जेलबाङ( शान्तिगाँउ) २६ किलोमीटर, खुगं्री–लिबाङ पक्की सडक ३८ किलोमीटर सडक बिस्तार गरिएको छ । यसले भ्रमण गर्न चाहाने स्वदेशी तथा विदेशी पाहुनालाई सडक सुविधा प्राप्त हुनेछ । यद्यपी खोलिएका सडकको गुणस्तरीयता र दीगोपनामा समस्या भने बाँकी नै छ । सूचना र संचारमा रोल्पामा तीन वटा सामुदायीक रेडियो र साप्ताहिक पत्रिकाहरु प्रशारण र प्रकाशनमा छन्, संचार प्रविधिमा रोल्पाका केही गाविस बाहेक अन्य सबैमा सूचनाको पहँुचको विस्तार भएको छ । त्यस्को दीगो र गुणस्तरीयताको प्रश्न बाँकी नै छ ।
दाङको घोराहीबाट होलेरी, प्रभू महाराजको जन्मस्थल रुन्टीहुदै सुर्पालबाट घोडागाँउ हुदै खुंग्री सुलिचौर – जेलबाङ अनि अर्काे रुट उवा हुदै थबाङ जलजला हुदै शहिदगाँउ मिरुल कुरेली घर्तिगाँउबाट होलेरी आएर रोल्पालाई फन्को मार्न सकिन्छ । यद्यपी शेरमको फूलीवनको सिरक्याङभीर रोल्पाको सडक विस्तारको चुनौति बनेको छ । दोश्रो रुटमा सुलिचौरदेखि लिबाङहुदै घर्तिगाँउ, शहिदगाँउ मिरुल अनि ऐतिहासिक गाँउ थबाङ पुग्न सकिन्छ । तेश्रोमा सदरमुकाम लिबाङबाट धबाङ हुदै जलजला अनि थबाङको लागि पैदल रुट निर्धारण गरि भ्रमणकर्तालाई जलजला थबाङ पुराउन सकिन्छ । रोल्पाको सदरमुकाम लिबाङ मुख्य नगर हो भने दक्षिणी रोल्पाको नगर होलेरी र पूर्वको नगर सुलिचौर र पश्चिम रोल्पाको घर्तिगाँउ र जुँगार ग्रामीण नगर हुन् । यी नगरहरुमा आवासको सामान्य सेवा सुविधा छ, त्यसैगरि रोल्पामा पछिल्लो चरणमा घरबास कार्यक्रम शुरु भएका छन्,जेलबाङ थबाङ माडीचौर र लिबाङमा कार्यक्रम संचालन गर्न तत्कालीन स्थानीय विकास अधिकारी हीरालाल रेग्मीको पहलमा पर्यटकीय स्थानको अवलोकन गराइएपनि हालसम्म लिबाङ ८ स्थित गुरुङ गाँउमा कार्यक्रमको केही परिणाम देखिन थालेको छ । रोल्पा पुग्ने पाहुनाहरु ग्रामीण पर्यटनको अभ्यास हुदै गरेको गुरुङगाँउमा पुग्ने गरेका छन्, गुरुङ संस्कृति परिकारको स्वाद पाहुनाले लिने गरेका छन, पाहुनाको चाप बढदै छ । यद्यपी अन्य प्रस्तावित गाँउहरुमा प्रगति हुन सकेको छैन । प्रगति हुन नसक्नुमा मुख्यतया जिम्मेवारहरुको बेवास्ता र स्थानीयको निष्क्रियता रहेको पर्यटनसंग चासो राख्नेहरुको प्रतिक्रृया छ । पर्यटनको अर्काे तत्व सरसफाईमा रोल्पा अहिले निकै अगाडि देखिएको छ, जिल्लाभर सरसफाईका अभियान चलेका छन्, सन २०१५ भित्र पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरिने प्रतिवद्धता भएका छन् । यस्ले विस्तारै परिणाम दिएको सरोकारकावालाको दावी छ ।
पर्यटकीय वैभवता भएपनि जिम्मेवार राजनैतिक दल र स्थानीय निकायको खासै ध्यान पुग्न नसकेको स्थानीय व्यवसायी सोम बुढामगर बताउनु हुन्छ । पर्यटनको क्षेत्रमा चासो राख्ने बुढामगर युद्धसंग प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ । युद्ध पर्यटन र सांस्कृतिक पर्यटनमा रोल्पा अब्ब्ल भएपनि दलका नेताको कानमा बतास नचलेको उहाँले प्रतिक्रृया दिनु भयो । केन्द्रबाट आउने बजेट खर्च गर्नेमा तानातान हुन्छ तर सिर्जनशिल काममा नेताहरुको ध्यान जान नसकेको उहाँेले आरोप लगाउनु भयो। जिल्लामा एकिकृत योजना बन्ने र सोही अनुसारका कार्यक्रम तय भएमा स्थानीय व्यवसायी नागरिक सबैको सहयोग रहने बुढामगरको कथन छ ।
रोल्पा भ्रमण गर्ने पाहुनाले विशेष गरि माआवादी विद्रोहको कारण र त्यस्ले पारेको प्रभावको अध्ययन अवलोकन, मगरसंस्कृतिले सम्पन्न रोल्पाका थबाङ, जंकोट, भावाङ मिरुल, जेलबाङ उवा लगायतका आदिम मगर संस्कृतिको स्वाद लिन सक्छन् । एक नगरपालिका र ४९ गाविस भएको रोल्पामा झण्डै ४५ प्रतिशत मगर समुदायको बाहुल्यता छ । मगर जीवनशैली स्थानीय उत्पादन खेती प्रणाली सामुदायीक एकता सामुहिक भावना अमूल्य निधी छन्, भ्रमणकर्ताका लागि निकै महगां विषय भएपनि हामीले त्यस्को प्रवद्र्धन र बजारीकरण गर्न सकेका छैनौ । जलजला पुग्ने पर्यटकले उत्तरतर्फका धवलागिरी पुथा सिस्नेको अवलोकन अनि बुकी पाटनमा रमाउदै मनोरन्जन गर्न सक्छन्, जलजलाको बेसक्याम्प(खुटी) तिर वर्षातमा गोठालाले गाइबस्तु लैजाने र दुध दही उत्पादन हुने गर्दछ । रोल्पाको उच्च पहाडी भूभागमा गाइगोठ लैजाने चलन अझै प्रचलनमा छ, जिविकोपार्जनका लागि मात्र गरिएको यस्ता खाले पशुपालन व्यवसायको उद्यमीकरण हुन सकेको छैन, पर्यटन उद्योगकोविकास गर्न यस्ता उद्यमलाई व्यवसायीकरण गर्न आवस्यक छ, जलजला पहाडका आसपपासका पहाडको जुन पर्यटकका लागि निकै महत्पूर्ण हुन् , उच्च पहाडी क्षेत्रमा चरिचरण गर्ने गाइभैसीको दुध निकै अर्गानिक भएको पुष्टि भएको छ, हामीले पर्यटन योजना र सोही अनुसारको कार्यक्रम बनाउन सकेका छैनौ जलजला आसपासका पहाडमा फल्ने आलु निकै अर्गानिक छन् , कृषीलाई प्रवद्र्धन गरि कृषी पर्यटनको रुपमा पनि विकास गर्न सकिने भएपनि त्यतातर्फ कसैको कानमा बतास चलेको छैन ।
खुंग्री घोडागाँउ र माडीचौर जस्ता साना सानो बेसी क्षेत्र कृषीका उपयुक्त स्थान हुन् एकताका राजनीतिक आन्दोलनको उर्वरभूमिको रुपमा चर्चा बटुलेको रोल्पा समुद्री सतहबाट ७ सय एक मीटरदेखि ३६३९ मीटर उचाईको भूबनौटमा अवस्थित छ, आदिबासी मगर समुदायको बाहुल्य रोल्पा माडी र लुंग्री जस्ता जलाधारले समृद्ध छ । उर्जा र पर्यटन कृषीको प्रवल संभावना भएको रोल्पा पाहुनाका लागि उचित गन्तव्य हो । प्रभु महाराजको जन्मभूमि रुन्टी, त्रिपूरेश्री मन्दिर खुंग्री, गजुलकोटे दरबार, खुंग्रीकोट दरबार, जंकोटको मगर राजा दरबार, जलजला बजु बराह, जुगाँरको शिवगुफा,चर्तुभूज ब्रम्हले तपस्या गरेको स्थल इत्यादी धार्मिक तथा सांस्कृतिक गन्तव्य हुन् । जलजला, सुनछहरी झरना, विवाङ दह, उवाको जन्तरे लेक, इत्यादी पर्या पर्यटनका आकर्षण हुन् । युद्ध पर्यटनमा समग्र रोल्पा र विशेष गरि थबाङ गाम, जेलबाङ, अरेस( लिस्ने लेक) गुम्चाल, भावाङ (सुकिदह) ओतस्थित जननमुना अस्पताल, होलेरी, लगायतका थुपै्र स्थलहरु हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष हिराबहादुर घर्तीमगरले रोल्पाको पर्यटकीय सम्पदाहरु जोगाउन कर्सैलाई चासो नभएको बताउदै जिम्मेवारहरु सही योजना र कार्यक्रम निर्माणमा चुकेको प्रतिक्रृया दिनु भयो । ठोस योजना बनाएर नीति तथा कार्यक्रम जिल्लास्तरमा बनेको छैनन् अनि कसरी पर्यटन विकासमा प्रगति हुन्छ भन्दै प्रतिप्रश्न गर्नु भयो । जिल्ला विकास समितिको नेतृत्वमा ठोस योजना निर्माण गर्न पहल भएमा सबै साथ रहने भन्दै सम्बिन्धित निकायको ध्यान त्यता पुग्न नसकेको बताउनु भयो । दशक लामो पत्रकारिताका अनुभव भएका घर्तीमगरले दलका नेताहरु दीगो विकास भन्दा बजेट सक्ने, बजेट कार्यक्रम आफ्नै प्रभाव क्षेत्रमा लैजाने होडले समस्या भएको टिप्प्णी गर्नुभयो । समानुपातिक विकासको दृष्टीकोणबाट योजना निर्माण र कार्यान्वयन भए पर्यटन विकासमा प्रगति हुने उहाँले अपेक्षा राख्नु भयो ।
युद्ध पर्यटन सांस्कृतिक धार्मिक पर्यटन र पर्या पर्यटनको गन्तव्य रोल्पाको पर्यटन विकासमा राज्यको लगानी अत्यन्तै न्यून, छ, गत वर्षमा रोल्पाको पर्यटन प्रवद्र्धन गर्न ४७ लाख बजेट खर्च भएको जिल्ला विकास समितिका पर्यटन फोकल पर्सन दीपक डाँगीले जानकारी दिनुभयो । जिल्ला विकास समितिले तोकिएका स्थानमा जिल्ला विकासले पहल गरेपनि स्थानीयबाट अलि दबाव नआउनाले पनि कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जिकिर गर्नुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७१÷७१ मा ६ लाख बजेट दिएको पर्यटन मन्त्रालयले गत आवमा ४७ लाख निकासा भएकोले आगामी दिनमा पनि सरकारको लगानी अभिवृद्धी हुने अपेक्षा गर्दै आगामी दिनमा नयाँ योजना र कार्यक्रम लिएर जिल्ला विकास समिति अघि बढ्ने दावी गर्नु भयो ।
दशक यता भौतिक विकासमा केही सकारात्मक परिवर्तन देखिएपनि कृषी पर्यटनको क्षेत्रमा उद्यमीकरण हुन नसकेकोले जिल्लामा एकिकृत योजना निर्माण गरि जिल्लामा मौज्दात सम्पदाहरुको प्रवद्र्धन गर्दै बजारीकरण गर्न सके रोल्पाको पर्यटनको भविष्य सुनौलो रहेको पर्यटन विज्ञहरु बताँउछन् ।















