मध्यपश्चिमकै एक चर्चित धाम रिहार क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य हो, धार्मिक सांस्कृतिक ऐतिहासिक महत्व बोकेको रिहार क्षेत्र निकै पुरानो धामको रुपमा परिचित छ । स्थानीय बुढापाका अनुसार आज भन्दा झण्डै पाँच हजार वर्ष पहिले रिहार धामको उत्पत्ती भएको हो, धार्मिक विश्वास अनुुसार द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको हुुँदा ऋषीविहारबाट अपभ्रम्स भइ रिहार रहन गएको बताइन्छ । वार्षिक २ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य रिहार धाम भएपनि पर्याप्त लगानी नहँुदा रिहारको पर्यटन विकासमा उल्लेख्य प्रगति हुन नसकेको जानकारहरु बताँउछन् ।
स्थानीय पाका लालबहादुर पछाँइले रिहारको धार्मिक महत्वलाई बुझेर नेपालभित्र मात्र होइन भारतको उत्तरप्रदेशबाट भक्तालु वर्षेनी आउने गरेको बताए, ८३ वर्षिय पछाँइले बगारबाबाको पूजापाठ गर्ने र आशिरवाद लिने प्रचलन हजारौ वर्षदेखि रहदै आएको बताए ।, धामभित्र रहेको तप्तकुण्डमा दैवी शक्ति भएकोले कुण्डमा नुहाएर बगारबाबासंग आशिरवाद लिए मनको कामना पुरा हुने धार्मिक विश्वास रहेको उनको तर्क छ । यतिमात्र होइन दाल चामल र नुनलाई टालोमा बाँधेर कुण्डमा राखेपछि पाक्ने गरेको उनको दावी छ, द्वापर युगदेखि रिहारमा पुजापाठ हुदै आएको हो, धेरैले आस्था राखे विश्वास बद्दै गएकोले भक्तालुहरुको आगमन वर्षेनी बद्दै गएको हो उनले बताए ।
यादव र थारु जातिका समुुदायका मानिसहरु पुुजारी रहने रिहारमा बगारबाबा सहित अन्य देव देवीका मन्दिरहरु पनि छन्, भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर,गणेश मन्दिर, शिव मन्दिर आदि रहेका छन्,त्यसैगरि सुूर्य कुुण्ड तप्त कुुण्ड रहेका छन् ।धार्मिक आस्थाको केन्द्र रिहारमा बगरबाबाको पुजा गरिन्छ, बगारबाबा खुशी भएमा निसन्तान र सम्पत्ती लाभ हुुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वर्षमा माघे संक्रान्तिको अघिल्लो दिनदेखि एकसातासम्म मेला लाग्ने गर्दछ, भारतका विभिन्न स्थानहरुबाट बगरबाबासंग आशिरबाद लिन आउछन्, आन्तरिक पर्यटकको पनि रिहारमा निकै घुइँचो लाग्ने गर्दछ ।
रिहारमा सरकारी लगानी
रिहारको पर्यटकीय महत्व निकै रहेको भएपनि सरकारी लगानी पर्याप्त हुन नसकेको धेरैको मत छ यद्यपी आर्थिक वर्ष २०७०÷७१ को तुलनामा आर्थिक वर्ष २०७१÷७२ मा सरकारी लगानी निकै बढी छ, आर्थिक वर्ष २०७०÷७१ मा ७ लाख बजेट खर्च भएकोमा आर्थिक वर्ष २०७१÷७२ मा सरकारले ४६ लाख ७० हजार रुपैया रिहारको पूर्वाधार विकासमा लगानी गरेको तथ्याँक छ । लगानी वृद्धीको हिसाबले करिब ७ गुणा बढी हुन आँउछ । धर्मशाला निर्माण, शौचालय निर्माण, गोही संरक्षण गर्न २३ लाख खर्च गरिएको छ । त्यसैगरि तलाउ उत्खनन् गर्न दश लाख रुपैया र माटो फिलिङ र पार्क निर्माणका लागि १३ लाख सत्तरी हजार खर्च भएको बताइएको छ, यसमा पर्यटन बोर्ड, पर्यटन कार्यालय भैरहवा र सांसद विकास कोषले लगानी गरेका हुन् ।
रिहारको धार्मिक पर्यटनलाई विकास गर्न विसं २०४८ सालमा बगारबाबा धार्मिक क्षेत्र विकास समिति गठन भएको हो । समितिको नेतृत्वमा धामको सांस्कृतिक धार्मिक तथा भौतिक पूर्वाधार विकासमा कार्यहरु भैरहेका छन् । गत आर्थिक वर्षको निकासा बजेटबाट तलाउ उत्खनन् गोही संरक्षण तलाउ निर्माण , माटो फिलिङ, पार्क निर्माण, शौचालय निर्माण इत्यादी काम भएको बगारबाबा धार्मिक क्षेत्र विकास समितिले बताएको छ । तर लामो समयदेखि धामको धार्मिक विकासमा काम कार्यहरु भएपनि समितिको कामप्रति स्थानीयहरुको असन्तुष्टी छ, समितिले आफ्नो मनोमानी गर्ने गरेको आरोप लाग्ने गरेको छ । समितिको नेतृत्वले स्थानीय भावनाविपरित कार्य गर्दै आएकोले धामको भौतिक तथा धार्मिक विकासमा समस्या भएको स्थानीय अगुवा ज्ञानराज नेपालीले बताए, सरकारी तथा मन्दिरको आयश्रोतको सही परिचालन हुदैन अध्यक्ष लगायतको टीमले स्थानीयलाई कुनै जानकारी नदिई भित्र भित्रै काम गर्ने भएकोले आफूहरुलाई कुनै थाहा नहुने बताए । नेतृत्वको मनोमानीले रिहारको अपेक्षाकृत विकास हुन नसकेकोले आगामी दिनमा स्थानीयसंगको सहकार्यबाट काम कार्य अगाडि बढाउन सके रिहारको मुहारमा परिवर्तन गर्न सकिने उनले विचार राखे ।
रिहारको अथाह संभावना भएपनि ओझेलमा परेको बगारबाबा धार्मिक विकास क्षेत्र समिति कोषाध्यक्ष सीता घर्तीले बताईन । यद्यपी गत वर्षदेखि सरकारको लगानी केही बढी भएकोले पर्यटन विकासमा सुधार आउने उनले अपेक्षा राखिन् , पहिलो वर्षमा ७ लाख निकासा भएकोमा आर्थिक वर्ष २०७१÷७२ मा रकम वृद्धी गरि ४६ लाख बढी भएकोले राज्यले यसको बारेमा गम्भीरता देखाउन थालेकोे बताइन् ।
समितिले सरकारी बजेटको सही सदुपयोग गरेको बताउदै स्थानीयलाई जानकारी नदिएको भन्ने कुरा गलत भएको प्रतिक्रृया दिइन् । सरकारी बजेटले तलाउ, पार्क निर्माण, शौचालय निर्माण, गोही संरक्षण तलाउ लगायतका काम भएकोले आरोप लगाउनुको कुनै तुक नभएको प्रतिक्रृया दिइन्् । असन्तुष्टी राख्नेले विगतको रिहार क्षेत्र र वर्तमानको अवस्थाको अनुगमन मूल्याँकन गरे सही जवाफ आउने बताईन् । काम गरेर देखाउन र आलोचना गर्ने कुरा फरक भएकोले आरोप लगाउनेले काम गरेर देखाउन चुनौति दिइन् । रिहारको पूर्वाधारमा हाल सरकारको बजेटले पूर्ण नहुने भएकोले करिब एक करोड बढी बजेट भएमा रिहारलाई धेरै सुधार्न सकिने र पर्यटक आगमनलाई बढाउन सकिने दावी गर्दै सबैको साथ र सहयोग रहे रिहार मध्यपश्चिम कै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हुने घर्तीको दावी छ ।
प्राकृतिक मनोरमले सिंगारिएको रिहार
दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिम दक्षिणमा पर्ने रिहार प्राकृतिक हिसाबले पनि निकै मनमोहक छ । देउखुुरीको सतबरीया ८ मा पर्ने रिहार धाम हजार विगाह क्षेत्रफलमा फैलिएको छ । करिब एक हजार विगाह क्षेत्रफलमा फैलिएको रिहार क्षेत्र धार्मिक हिसाबले मात्र आकर्षक छैन, चुरे पहाडको फेदीमा अवस्थित यस पूण्य भूमि घना जंगलको बीचमा रहेकोले पर्या गन्तव्यको रुपमा पनि निकै महत्व छ । हरिया होचा– होचा चुरेका थुम्काको आसपासमा फैलिएका घनाजंगलको बीचमा रहेकोले यो निकै मनमोहक र आकर्षक देखिएको हो । यसको वरिपरि फैलिएको घना जंगलमा पाइने जैविक विविधता पर्यटकका लागि आकर्षणका विषय हुन् । पर्या पर्यटन विकासका लागि पर्यटन मन्त्रालयले रिहार धाम क्षेत्रमा गोही संरक्षण क्षेत्रका लागि लगानी गरेको छ । गोहीको संरक्षण गरि जैविक विविधतालाई जोगाउन सरकारी नीति छ , गत वर्षको बजेटमा गोही संरक्षण गर्न सिमसार क्षेत्रमा तलाउ निर्माण गरिएका छन् । यद्यपी निर्माण गरिएका तलाउको काम भने पुरा हुन सकेको छैन ।
अथाह संभावनाको भण्डार रिहार क्षेत्र
हुन त रिहारलाई पूूर्वपश्चिम राजमार्गले छोएको छ , सर्वसाधारणदेखि देशको मुल नीति र सोही अनुसारको कार्यक्रम बनाउनेहरुले एक नजर लगाउने गरेका छन् रिहारबाट पूर्व पश्चिम गर्दा, तर रिहारको अवस्था सबैको नजरमा ठोकिने गरे पनि पर्याप्त बजेट तथा कार्यक्रम बन्न नसक्ता रिहार क्षेत्र विकासले गति लिन नसकेको धेरैको मत छ । सिमसार क्षेत्र, जैविक विविधता, वन जंगल र ती जंगलमा पाइने जीव जन्तु पंक्षी प्रकृतिमा रमाउनेहरुको उचित गन्तव्य हुन् ।तर संरक्षण र प्रवद्र्धनको अभावमा रिहार क्षेत्र भित्र या बाहिरका सम्पदाहरु संकटमा छन् । यद्यपी हालसम्म सरकारी बजेटले रिहारमा मुख देखेको त छ तर समग्र रिहारको पर्यटकीय पूर्वाधार विकासका लागि पर्याप्त हुन सकेको छैन । सरकारले यसै क्षेत्रमा गोही संरक्षण क्षेत्र पनि घोषणा गरेको छ, गत वर्षको बजेटले सिमसार क्षेत्रको जल उत्खनन् गरि सदावहार तलाउ बनाइएको छ, तर पूर्ण हुन सकेका छैनन् । रिहारको तप्तकुण्डको निकै धार्मिक महत्व छ, कुण्डको संरक्षण सामान्य सिमेन्टीकरण गरेर जोगाइएपनि दीगो हुने गरि संरक्षणका काम हुन सकेका छैनन् । कुण्डको जलले नुहाए छाला सम्बन्धी रोगहरु निको हुने विश्वास गरिन्छ । यतिमात्र होइन कुुण्डमा नुहाएर बाबासंग आशिरबाद माग्ने चलन छ तर कुुण्ड नै लोप हुुदैछ ।
हालसम्म करिब ६० लाख बराबरको बजेट खर्च गरिएको प्रारम्भिक जानकारी छ, खर्च गरिए अनुसार केही सकारात्मक काम भएपनि पूर्ण हुन सकेका छैनन् समितिको नेतृत्वमा तलाउ निर्माणसंगै माटो फिलिङ गरेपनि रिहार क्षेत्रलाई सुन्दर बनाउन सकेको छैन, माटो उत्खनन् भएपछि रिहार क्षेत्र कुरुप जस्तो देखिएकोले यस्लाई व्यवस्थित गर्न आवस्यक योजना बनाउन सके रिहारको रुप रंगमा परिवर्तन आउन सक्ने विकास सम्वद्धहरुको धारणा छ ।
समग्र रिहारको गुरुयोजना निर्माण गरि हजार विगाहको क्षेत्रफलमा चक्रपथ निर्माण गर्न सकिन्छ, जल विहारदेखि जंगल विहार गर्न चाहाने पाहुनाका लागि चक्रपथ उपयक्त हुनेछ । प्रकृतिसंग रमाउने पर्यटकका लागि चक्रपथमा साइकल राइडिङ जस्ता साहसीक खेलहरु पनि खेलाउन सकिन्छ । तलाउमा सदावहार जल हुने भएकोले डँुगा विहार, गोहीको अवलोकन र अनुसन्धान पनि गर्न सकिने प्रवल संभावना भएपनि रिहार क्षेत्र सधै ओझेलमा परेको छ ।












