धनगढी, ११ कार्तिक । धनगढी स्थित फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा वुधवार देखि धनगढीमा आफ्नो घर टेम्पल रिर्सोेट फारवेष्ट कप २०७२ फुटवल प्रतियोगिता सुरु भएको छ । धनगढीको क्षेत्रीय रंगशालामा झण्डै दुई लाख नगद धनराशीको प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शसस्त्र प्रहरीका सुदुरपश्चिम क्षेत्रका डिआईजी सुरज श्रेष्ठले उद्घाटन गर्नुभयो ।
वुधवार भएको पहिलो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लवले सानदार जीत सहित विजयी सुरुवात गरेको छ । फारवेष्टले ग्रीन युथ क्लवलाई ६–१ को फराकिलो अन्तरले किनारा लगाएको हो । फारवेष्टका लागि जीवन चौधरीले ह्याट्रिक गरे । उनले पहिलो हाफको १२, १३ र ३२ मिनेटमा गोल गरे ।
त्यस्तै कमल देउवाले दुई गोल थपे । उनले पहिलो हाफको १९ र दोस्रो हाफको २६ मिनेटमा गोल गरे । फारवेष्टकै लागि दोस्रो हाफको १५ मिनेटमा राजेन्द्र ठगुन्नाले एक गोल थप्दै गोल संख्या आर्धा दर्जन पुराए । ग्रीन युवा क्लवका लागि एक मात्रै गोल सुवाश रानाले फर्काए । उनले दोस्रो हाफको ३५ औं मिनेटमा गोल गरेका हुन ।
प्रतियोगिता अन्तर्गत विहीवार दुई वटा खेल हुनेछन । पहिलो खेलमा अरनिको युवा क्लव र न्यु वुद्ध युवा तथा दोस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लव वी र लालझाडी युवा क्लवका वीचमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी पाउनेछ । उपविजेतालाई ५० हजार सहितको ट्रफी, उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजार दिईने आयोजकले जनाएको छ । खेल नक आउटका आधारमा सञ्चालन भईरहेको छ ।
यसअघि प्रतियोगिताको एक समारोहका वीचमा उद्घाटन गरिएको थियो । आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहमा शसस्त्र प्रहरी वलका सुप क्षेत्रका डिआईजी सुरज श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितीकी सदस्य गीता सोडारी र कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले शुभकामना मन्तव्य राख्नुभएको थियो ।




