ताजा अपडेट

...


मेवाडकी रानी




 गणेश ओली


म उनको राजा बन्छु कि बन्दिन मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन्।

पाठक मित्र, तपाईँलाई लाग्ला उसो भए किन रानी रु

यसमा मेरो तर्क के छ भने विवाह र प्रेम फरक कुरा हो। विवाह भएमा रानी बन्ने र नहुँदैमा रानी नहुने भन्ने तर्कसँग मेरो असहमति छ।
प्रेमको नाममा रासलिलाको मात्र सपना म देख्दिनँ बरु मलाई काखमा लुटपुटिएर मिठा प्रेमवाद गर्न मन लाग्छ। लैलामजुनका कथा सुन्न र सुनाउन मन लाग्छ र कल्पनाको घोडामा लैला मैजुन भएर मन डुलाउन रुचि लाग्छ। मायाको भर्‍याङ चढेर देहमा लुटपुटिने दानव जस्तो लाग्छ मलाई। प्रेममा रतिरागको भुत्ल्याई भन्दा स्पर्सको नरम काउकुति प्यारो लाग्छ मलाई।

अब म उनको र मेरो सम्बन्धको बारेमा चर्चा गर्न गइरहेको छु।

बिहानको कलिलो घाम पोखिएको थियो मेवाड चिया पसलको आँगनभरी। घामभन्दा अझ पोखिएको थियो सडकभरी मस्त जवानी। बगैँचामा एक्लै फूलेको पहेँलो फूल जस्तै। म त्यही फूलको हरहराउँदो बासना र वैँशको न्यानो घाम तापेर आगनको छेउमा बसिरहेको छु। लाग्यो मेरै कमलदह छेउको चौपारी हो। जहाँ प्राकृतिक। यौवन। सूर्य। सबैको तापसँगै पोखिएको हुन्छ।

घोराही बजारको बीचैमा छ मेवाड चिया पसल। साहुसाहुनी लुम्बिनीतिरका रे। असाध्यै भद्र।

बजारभरी छरिएका छन साथीहरु। बिहान सबै त्यहीँ थिग्रिन्छन्।

घरमा काम थियो। मेवाडको तलतल लाग्यो ९मेवाडमा म चियाको तलतलले जान्छु वा अरु रु म आफैलाई थाहा छैन। तर हरेक बिहान निरन्तर पुग्छु०

भित्र खुबै हल्लाखल्ला थियो। यहाँ तरकारीदेखि सरकारी। गाउँदेखि विश्वसम्मका कुरा गर्छन् साथीहरु।

म बाहिरै बसेँ। एक गिलास चिया मागेँ। बिहानी घाम र सडकको न्याने तापेरै बसेँ। एक त मेवाडको चिया नै मिठो। झन् आज उनको मुस्कान झन मिठो। त्यही जवानीको न्यानोसँगै घामको न्यानो तापेर चिया पिउँदा ज्यादै आनन्द लाग्यो। चियाको सुर्कोसँगै उनको जवानीको सुर्को नै निले जस्तो लाग्यो।

सडकमा थिइन् उनै रुकुमकी नानीकला जस्तै एक वैँशालु नारी। हिमालबाट हिउँ पग्लेको पानी जस्तै उनी मेरो अगाडिबाट हिँडिरहेकी थिइन्।
उनलाई देख्नु र मनमा बसन्तको पोथ्रा जस्तो प्रेमको पालुवा सल्बलाउनु संयोग हो या प्राकृतिक नियम म आफै कन्फ्युज छु। खुसीका गुराँसहरु फूल्न थाले। शरीरमा स्फूर्ति बढ्यो। यो किन भयो म आफैलाई थाहा छैन। मन चङ्गा जस्तै भयो।

छिनमै तातो हरायो। घाम छेक्यो। शरीरमा चिसोले छोयो। मेरो मन भने यो चिसोले डगमगाउन सकेन। मतलब मनमा भने गर्मी नै थियो। किनकी यो मनमा उनी थिइन्।

कोमल शरीर। लहराउँदो कपाल। लाग्यो यति सुन्दर मान्छेको मन कति सुन्दर होला रु हातले छुँदा पनि उनको शरीरमा दुख्ला जस्तो। बोल्दा पनि बोलीले उनको मन घोच्ला जस्तो।

उनलाई जुन दिन देखेँ आजकाल म झन नियमित नै मेवाड पुग्छु। बरु सबैभन्दा पहिले नै पुग्छु। हिजोसम्म साथीहरुसँग गफिन मन गर्ने मलाई आजभोलि सडकभरी आँखा बिच्छयाएर एक्लै बस्न मन लाग्छ।

म बसिरहेको हुन्छु। थाहा छैन म कसैको प्रतिक्षामा हुन्छु। हर बिहान मेरा आँखाहरु कसैका स्वागतका लागि बिच्छयाइएका हुन्छन्।
त्यो सडक। पवित्र सडक। मेरो मनको ढोका ढकढक्याउने सडक। सबैभन्दा प्यारो सडक भएको छ। मेरा आँखा सँधै त्यही सडकमा कसैको स्वागतको लागि बिच्छयाइएका हुन्छन्। जब उनी घरबाट निस्केर कलेज लाग्छिन् मेरो मन शान्त हुन्छ। केही पाए जस्तो हुन्छ। अनि शुरु हुन्छ सधै झै गफको रमाइलो माहोल।

सबैभन्दा पहिले मेवाड पुग्नु। कसैको प्रतिक्षा गर्नु। आँखाले धितमरुन्जेल उनलाई हेर्नु। पुलकित हुँदै होटेल भित्र पस्नु। चुरोट। चिया। उनको सौन्दर्यको आनन्द एकै सर्कोमा तान्नु। आज भोलिको मेरो दिनचर्या जस्तै हो। यसको अन्तिम टुगों कहिले हुन्छ थाहा नै छैन तर आजकाल मेरो दैनिकी भन्दा हुन्छ। उनी झुल्केदेखि ५०० किलोमिटर सडक पार नगरुन्जेल उनको सौन्दर्यतामा लिन हुनु मेरो दैनिकी हो।

कहिलेकाहीँ मात्र उनले चिया पसलतिर आँखा दौडाउँछिन्। चिया पसलमा साथीहरु आफ्नै गफमा खित्का छाडेर पनि हाँस्छन्। विशेष दिन बाहेक उनले म बसेतिर हेर्दा पनि हेर्दिनन्। जुन दिन हेर्छिन् त्यस दिन मेरा लागि विशेष दिन हुन्छ।

लाग्छ उनले सँधै मेवाड बाहिरको टेबुल हेरुन्। जुन टेबुलमा ममात्र बसेको हुन्छु। त्यतातिर उनलाई सँधै आँखा डुलाइरहन मन लागोस्। मलाई देख्न मन लागोस्। मलाई जस्तै उनलाई पनि सँधै हेर्न र भेट्न छटपटी होस्। कहिलेकाहीँ मनमनै यस्तै सोच्छु। तर खोई भन्न सक्दिन जीवनमा त्यो दिन आउँछ वा आउँदिन। आशा छ पक्कै त्यो दिन एक दिन आउने छ।

एक दिन म काम विशेषले तुलसीपुर गएको थिएँ। तुलसीपुरबाट घोराही आउने बसमा चढेँ।

प्रायः म झ्यालतिरको सडक रोज्छु। बाहिरी सौन्दर्य। सडकको चहलपहल मलाई असाध्यै मन पर्छ।

बस खाली थियो। आज पनि म झ्यालमै थिएँ। खै थाहा छैन के सोचिरहेको थिएँ। मेरो छेउमा कोही आएर बस्यो ९यात्रा गर्दा कहिले पनि मेरो छेउमा को आएर बस्छ मतलब नै गर्दिन। धेरै बकबक गर्ने मान्छे पर्‍यो भने मन पनि पर्दैन० आज किन मलाई हेर्न मन लाग्यो। सायद अचेतन मनले परिचित ठान्यो किरु चेतन मन हुँदै दिमागसम्म क्लिक गर्‍यो० फर्केर हेरेँ। सायद स्पर्स। सुगन्ध केही न केहीले मेरो अवचेतन मन हल्लायो।

फर्केर हेरेँ। उनी थिइन्। केही अप्ठयारोमा परेँ। कतै खुसी जस्तो पनि लाग्यो। कतै अपराधी जस्तो पनि। उता आँखा र मन थाम्न सकिनँ। फेरि बाहिरै फर्केँ। तर आज मलाई बाहिरभन्दा भित्रै आँखा डुलाउन मन लागेको थियो तर आँट आएन।

बस गुडिरहेको थियो। मेरो चाहना भित्र हेर्ने भए पनि बाहिरै हेरिरहेको थिएँ।

फेरि अवचेतन मनले मेरो छेउमा बसेको मान्छेलाई केहि असजिलो भएको महशुस गरेँ। फर्केर हेरेँ। उनले पनि हेरिन्। यसरी हेर्दा आफैलाई असभ्य जस्तो पनि लाग्यो। मनमा भने केही तरङ्ग आए जस्तो लाग्यो। केही अप्ठ्यारो धेरै खुसी लाग्यो। तर बोल्न आज पनि सकिनँ।
आज मात्र हैन बजारमा अरु दिन पनि उनीसँग भेट हुन्थ्यो। मलाई धित मरुन्जेल हेर्न मन लाग्थ्यो। बोल्न मन लाग्थ्यो सँगसँगै सपिङ गर्न मन लाग्थ्यो।

उनलाई भने बाल मतलब। चिन्नु न जान्नु ढुंगाले हान्नु भनेजस्तो। उनले सायद चिन्दिनन्। उनी आफ्नो काममा लाग्थिन्। म भनेँ कुनै घरको कुनामा वा कुनै अर्को पसलमा समान किन्ने बहाना बनाएर लुकीलुकी उनलाई नै हेर्थेँ। प्रेमको घोडा चढेर आकाशमा कावा खाँदै संसार घुम्ने कल्पिन्थेँ।

एक्सक्युज मी।

मलाई कसैले बोलायो। क्या मिठो स्वर। अरु बोलिदिए हुन्थ्यो जस्तो लाग्यो

मैले उनी भएतिर हेरेँ। केही बोल्न म पनि सकिनँ ९सायद यही मेरो कमजोरी पनि हो० मलाई अलि अप्ठ्यारो भयो। झ्यालतिर बस्छु। तपाईँ यता बस्नुस्। हुन्न रु उनले भनिन्।

मैले हुन्छ भनेँ।

उनलाई सिट छोडिदिएँ।

यस्ता जाबा डिमान्ड त के मलाई उनले जे भने पनि गर्न तयार छु।

उनी झ्यालतिर बसेर बाहिर हेर्न थालिन्। मलाई पनि सजिलो भयो। बाहिर पनि हेर्न पाइने उनलाई पनि हेर्न पाइने। नजिकैबाट धित मरुन्जेल हेरेँ।

यात्रामा योभन्दा अरु केही भएन।

बाँकी रङहरु मेवाडमै फेरिरहन्छन्।

आजकाल पनि म मेवाडमा एक्लै कल्पनामा हराइरहेको हुन्छु। सानोमा त यसरी टोलाउँदा आमाले सातो डाक्ने भन्दै धामीकोमा लैजानु हुन्थ्यो। आज मेरो लागि सातो बोलाउने मान्छे छैन मसँग। आज त उनै बोक्सी उनै धामी हुन्।

आज भोलि उनको प्रेमको सहरमा बास बस्न मूल गेट पुग्ने बाटो नभेटाएको यात्री जस्तो छु म।

रहरहरु भविष्यका लागि थाँति राखेर कहर काटिरहेको छु म आजभोलि। हेरौँ जीवनमा सँधै अन्तिम गन्तब्यमा पुगिन्छ भन्ने नै छैन। मेरो यो यात्रा कहाँ पुग्छ थाहा छैन। तर यो चाँहि कन्फर्म हो उनी मेरी मनकी रानी हुन्।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.